गौरीशंकर संरक्षण क्षेत्रले उठीबास लगाएको भन्दै गाउँपालिकाको टीम नै काठमाडौंमा

0Shares

दोलखा, सिन्धुपाल्चोक र रामेछापसम्म फैलिएको गौरीशंकर संरक्षण क्षेत्रका कारण स्थानीयको उठीबास लागेको भन्दै दोलखाको बिगु गाउँपालिकाको सिङ्गो टीम नै काठमाडौं आएको छ ।

पालिका प्रमुख सञ्जिव ओली र उपप्रमुख देविका थामीको नेतृत्वमा गाउँ कार्यपालिकाका सम्पूर्ण सदस्यहरू संरक्षण क्षेत्रको ज्यादतीविरुद्ध समाधान खोज्न हिजो शनिबार काठमाडौं आएका हुन् ।

जनताले हुर्काएको जंगलमा संरक्षण क्षेत्रले मनोमानी गर्दा स्थानीयको रोजगारी गुम्नाका साथै किसानहरूले समेत गाउँ छोड्न थालेपछि जनप्रतिनिधिका हैसियतले समाधान खोज्न आफूहरू काठमाडौं आएको बिगु गाउँपालिकाका प्रमुख सञ्जिव ओलीले जानकारी दिए । उनका अनुसार संरक्षण क्षेत्रसँग पटक–पटक वार्ता तथा छलफल भए पनि उचित निष्कर्ष निस्कन सकेन र उच्च तहका अधिकारीहरूसँग छलफल गरी समाधान खोज्न काठमाडौं आउन परेको हो ।

‘स्थानीय जंगलहरू गौरीशंकर संरक्षण क्षेत्रले आफ्नो अधीनमा लिएको ११/१२ वर्ष भइसकेको छ । तर, यो (संरक्षण क्षेत्र) अझै समुदायमा आधारित हुन सकिरहेको छैन,’ बिगु गाउँपालिका प्रमुख सञ्जिव ओलीले भने, ‘हामी राष्ट्रिय प्रकृति संरक्षण कोष, बन तथा वातावरण मन्त्रालय र आवश्यक पर्‍यो भने प्रधानमन्त्री कार्यालयमै पुगेर सरकारको ध्यानाकर्षण गराउनेगरी काठमाडौं आएका छौँ ।’ संरक्षण क्षेत्रबाट उत्पन्न भएको समस्याका विषयमा छलफल गर्न कार्यपालिकाका टीम सबै काठमाडौं आएको उनको भनाइ छ ।

संरक्षण क्षेत्रसँग पटक–पटक छलफल गर्दा पनि समस्या समाधानमा चासो नदेखाइएको भन्दै अब तत्काल विरोध र संघर्षका कार्यक्रमहरू अगाडि बढाउने योजनामा बिगु गाउँपालिका छ । ‘हामी गौरीशंकर संरक्षण क्षेत्रसँग सांकेतिक रुपमा विरोध सुरू गर्छौँ,’ पालिका प्रमुख ओलीले भने, ‘जबसम्म समस्या समाधान हुँदैन तबसम्म हामी आन्दोलनमै हुनेछौँ ।’

त्यसका लागि गाउँ कार्यपालिकाले गाउँपालिकामै बसोबास गर्ने र गाउँपालिकाबाट काठमाडौं आएर बसोबास गर्ने सरोकारवालाहरूसँग म्यान्डेट पनि लिइसकेको छ । म्यान्डेट अनुसार अब संरक्षण क्षेत्रले किसानको घर–खेत भएको स्थानबाट कम्तिमा पनि एक वा दुई किलोमिटर टाढाको दूरीबाट मात्रै जंगल अधीन गर्न पाउने र बाँकी ठाउँमा खाली गर्नुपर्ने हुन्छ । यदि त्यसो हुँदैन भने स्थानीयले संरक्षण क्षेत्रलाई आफ्नो स्थानीय तहबाट फिर्ता पठाउने मुख्य एजेण्डा तय गरेका छन् ।

संरक्षण क्षेत्रबाट सृजित समस्या समाधान गर्न र आगामी आर्थिक वर्षको नीति, कार्यक्रम र बजेट तर्जुमाका लागि काठमाडौं बस्ने बिगुबासीसँग सुझाव लिन गाउँपालिकाले शनिबार काठमाडौंमा कार्यक्रम पनि आयोजना गरेको थियो । कार्यक्रममा सहभागी अधिकांशले गौरीशंकर संरक्षण क्षेत्रबाट आफू र आफ्नो परिवारले पाएको दु:खबारे चर्चा गर्दै यो समस्या समाधान गरेरै छोड्नुपर्नेमा जोड दिएका छन् । समस्या समाधानका निम्ति पालिकाले आह्वान गरेको अवस्थामा जस्तोसुकै सहयोग गर्न पनि आफूहरू तयार रहेको बताउँदै उनीहरूले आन्दोलन गर्नुपरे पनि पछि नहट्ने प्रतिबद्धता व्यक्त गरेका हुन् ।

कार्यक्रममा सहभागीहरूले बिगुमा रहेका सबै ढुंगाखानी तत्काल सञ्चालनमा आउनुपर्छ र स्थानीयको रोजीरोटी सुचारू हुनुपर्नेमा जोड दिएको बिगु गाउँपालिका वडा नं. ६ का वडाध्यक्ष टहलबहादुर थामीले जानकारी दिए । उनका अनुसार स्थानीयहरू अहिलेको समस्याबाट मुक्ति पाउनका लागि पालिकालाई जस्तोसुकै सहयोग गर्न पनि तयार देखिएका छन् । उनीहरूले परिआए आन्दोलनमा होमिन पनि तयार रहेको र पालिकाको नेतृत्वलाई जसरी पनि यो समस्या समाधान गरिदिन आग्रह गरेको थामीको भनाइ छ ।

अधिकांश मानव बस्तीनजिकैबाट सुरू हुने संरक्षण क्षेत्रका कारण जंगली जनावरहरूले किसानले लगाएका बालीनाली खान र पशुचौपाया मार्न थालेपछि बिगु गाउँपालिकाका किसानहरू वर्षौंदेखि चिन्ताबाट ग्रसित छन् । कतिपय किसानले त गाउँ छोडेर चरीकोट तथा काठमाडौंसम्म बसाइँ सरिसकेका छन् । यो समस्या संरक्षण क्षेत्रले चर्चिने सिन्धुपाल्चोक र रामेछापका कतिपय स्थानीय तहमा पनि छ ।

जंगली जनावरहरू चितुवा, बाँदर, दुम्सी, स्याल र मृगलगायतबाट किसानको बालीनालीमा क्षति भइरहेको छ । कथंकदाचित धपाउने क्रममा यी जनावरहरू मारिन पुगे भने किसान स्वत: कानुनी फन्दामा समेत पर्ने गरेका छन् । मान्छेले मान्छे मार्दा समेत समयमै न्याय नपाउने देशमा आफ्नो बालीनाली जोगाउने क्रममा प्रतिकारबाट जनावर मारिदा तत्काल जेल जानुपर्ने मानसिक चिन्ताबाट पनि बिगुका सर्वसाधारण र किसानहरू धेरै चिन्तित छन् । त्यतिमात्र होइन पालिकाको वडा नं. ५ चिलंखा र वडा नं. ६ आलाम्पुमा रहेको पुरानो ढुंगाखानी समेत संरक्षण क्षेत्रले बन्द गरिदिदा सयौँको रोजीरोटी पनि गुमेको छ ।

विशेष गरी स्थानीय थामी समूदायका मानिसहरू यिनै ढुंगाखानीमा काम गरेर जीवीकोपार्जन गर्दै आएका थिए । तर, जब संरक्षण क्षेत्रले जंगल जिम्मा लियो त्यसपछि अहिले खानी बन्द अवस्थामा छ । स्थानीयहरूको लाख पहलपछि पनि खानी खुलाउन सकिएको छैन र उनीहरू रोजीरोटीकै लागि भौतारिरहेको आलाम्पुका हरि थामीले जानकारी दिए ।

गौरीशंकर संरक्षण क्षेत्रले दोलखा, सिन्धुपाल्चोक र रामेछापका तत्कालीन २२ वटा गाउँ विकास समिति (गाविस)का कुल दुई हजार १७९ वर्ग किलोमिटर क्षेत्रफल चर्चेको छ । दोलखाका तत्कालीन गाविसहरू बिगु, आलाम्पु, चिलंखा, लादुक, बुलुङ, वराङ, लामाबगर, गौरीशंकर, कालिञ्चोक, खारे, मार्बु, सुरी र स्यामा संरक्षण क्षेत्रभित्र छन् ।

यस्तै, सिन्धुपाल्चोकका फुल्पिङकट्टी, घोर्थली, गुम्बा, लिस्टीकोट, मारमिङ र तातोपानी तथा रामेछापका चुचुरे र गुम्देल गाविस पनि गौरीशंकर संरक्षण क्षेत्रभित्र छन् ।

गौरीशंकर संरक्षण क्षेत्रको व्यवस्थापन राष्ट्रिय प्रकृति संरक्षण कोषले गर्दै आएको छ । कोषलाई सरकारले २० वर्षसम्म यो संरक्षण क्षेत्रको व्यवस्थापन गर्ने जिम्मा दिएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *