रविको अर्को ‘अपराध’को खुलासा : अमेरिकी पासपोर्ट हुँदाहुँदै झुक्याएर निकाले नेपाली पासपोर्ट !!!

0Shares

रविको अर्को ‘अपराध’को खुलासा : अमेरिकी पासपोर्ट हुँदाहुँदै झुक्याएर निकाले नेपाली पासपोर्ट

काठमाडौं : रवि लामिछानेले अध्यागमन विभागमा बुझाएको निवेदनमा लेखेका थिए- ‘उपरोक्त सम्बन्धमा म मे १७, २०१८ सम्म अमेरिकी राहदानीवाहक रहेको तर मे १८ शुक्रबारका दिनबाट सम्पूर्ण प्रक्रिया पूरा गरी काठमाडौंस्थित अमेरिकी दूतावासमा रु २ लाख ५८ हजार दस्तुर समेत तिरी मसँग रहेको अमेरिकी पासपोर्ट र अमेरिकी नागरिकता बुझाइसकेको व्यहोरा सगर्व जानकारी गराउँदछु।’

उनले निवेदनमा खुलाएको विवरणले उनीसँग सन् २०१८ मे १७ अर्थात् विक्रम संवत् २०७५ जेठ ३ सम्म अमेरिकी राहदानी नै रहेको पुष्टि हुन्छ। उकेराले प्राप्त गरेको विवरणले पनि त्यही देखाउँछ।

उकेराले प्राप्त गरेको उनको राहदानीको जारी मितिले उनी अमेरिकी नागरिक रहेकै बेलामा नेपाली राहदानी समेत लिएको पुष्टि भएको छ।

उनको नाममा परराष्ट्र मन्त्रालयले जारी गरेको नेपाली राहदानीको जारी मिति रहेको छ २०१५ मे २७ अर्थात् २०७२ जेठ १३। यो मिति उनले अमेरिकी राहदानी र नागरिकता त्याग्ने प्रक्रिया सुरु गरेको मितिभन्दा तीन वर्ष अगाडि हो।

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति समेत रहेका रविले २०१८ मा अमेरिकी नागरिकता र नागरिकको कानूनी हैसियत त्याग्ने प्रक्रिया सुरु गरेको उनले नै स्वीकार गरिसकेको तथ्य हो।

उनले न्युज २४ टेलिभिजनमा सन् २०१८ जुन २१( २०७५ असार ७) मा प्रसारित सिधा कुरा जनतासँग कार्यक्रममा आफ्नो विवादबारे देखाएको प्रमाणमा पनि उनी सन् २०१८ मे १७ अर्थात् २०७५ जेठ ३ सम्म अमेरिकी राहदानी बाहक रहेको स्वीकार गरेका छन्।

उनले कार्यक्रममा अमेरिकी नागरिकता र राहदानी त्याग्नु विश्वमा हुने दुर्लभ घटना हुने व्याख्या गर्दै ‘त्यो दुर्लभ काम आफूले २०१८ मे १८ मा गरेको सगर्व स्वीकार’ गरेका छन्।

उकेराले पाएको दस्ताबेजले पनि मिति त्यही देखाएको छ। नेपालको अध्यागमन र श्रम ऐन उलङ्घन गरेको उजुरीबारे प्रेस काउन्सिल नेपालले गरेको अनुसन्धानमा गृह मन्त्रालयले पठाएको पत्रमा लामिछानेले अध्यागमन विभागमा २०७५ असार ६ मा अमेरिकी नागरिकता त्यागेको बारे निवेदन दिएको उल्लेख छ।

यसले उनले अमेरिकी राहदानी र नागरिकको कानूनी हैसियत त्याग्ने प्रक्रिया सुरु हुनुभन्दा तीन वर्षअगाडि नै निष्क्रिय भइसकेको नागरिकता प्रयोग गरेर नेपाली राहदानी निकालेको पुष्टि हुन्छ। जुन दण्डनीय काम हो।

नेपालको कानूनले द्वैध नागरिकतालाई स्वीकार गर्दैन। नेपालको नागरिकता ऐनअनुसार कुनै नेपाली विदेशी नागरिक भएमा नेपाली नागरिकता स्वतः निष्क्रिय हुने उल्लेख छ। यसका लागि न मन्त्रिपरिषद्ले निर्णय गर्नुपर्छ न गृहले नै।

रविले अमेरिकी नागरिक बने लगत्तै अमेरिकामा रहेको नेपाली दूतावासमा जानकारी गराएर नेपाली नागरिकता निष्क्रिय गराउनुपर्ने कानूनी दायित्व पूरा गरेको देखिएन।

उनले जानकारी नदिए पनि उनी अमेरिकी नागरिक भएको सरकारी निकायले जानकारी पाए लगत्तै उनी अमेरिकी नागरिक बनेको सन् २०१४ बाटै उनको नेपाली नागरिकता भने निष्क्रिय हुन्छ।

तर उनी अमेरिकी नागरिकको हैसियतमा नातेदार भिसामा नेपाल फर्किएपछि निष्क्रिय भएको नेपाली नागरिकता प्रमाण पत्रको निरन्तर दुरुपयोग गरिरहे।

उनले नेपाली कानून उलङ्घन गरेको शृङ्खलाले अनजानमा भएको देखिँदैन। अमेरिकी राहदानी वैध हुँदाहुँदै नेपाली राहदानी निकाल्नुले उनको कानून उलङ्घनका गतिविधि योजनाबद्ध देखिन्छ।

अमेरिकी राहदानी भएकै बेलामा उनले नेपाली राहदानी निकाल्नुमा कुनै बाध्यता देखिदैन, कानूनमाथिको खेलबाड मात्र देखिन्छ।

किनकी त्यो बेला उनी राहदानीविहीन थिएनन्। उकेराले प्राप्त गरेको रविको अमेरिकी राहदानीमा जारी मिति सन् २०१४ मार्च ५ मा छ।

अमेरिकी राहदानीको म्याद २०२४ मार्च ४ सम्मै छ। यसले उनले नेपाली राहदानी निकाल्दा उनले अमेरिकी राहदानी लिएको एक वर्ष मात्रै भएको पुष्टि हुन्छ।

उनकै भाषामा उनीसँग ‘विश्वको शक्तिशाली पासपोर्ट र नागरिकता’ थियो।’ तर विश्वकै शक्तिशाली नागरिक र राहदानीवाहक हुँदाहुँदै उनले कानून मिच्दै विश्वकै कमजोर सूचीमा रहेको नेपाली राहदानी किन लिए कतै खुलाएका छैनन्।

यसबारे उनीसँग प्रतिक्रिया लिने उकेराको प्रयास पनि सफल भएन। शनिबार बिहान उनको एनसेल नम्बरमा पटक-पटक सम्पर्क गर्ने प्रयास गर्दा सफल भएन।

उनलाई सम्पर्क गर्न खोजेको विषय खुलाएर गरेको एसएमएसबारे दिनभर कुर्दा पनि प्रतिक्रिया आएन।

अपराधै अपराध, तर भनिरहन्छन् ‘मलाई फसाइयो’

विवाहेत्तर सम्बन्ध सार्वजनिक भएसँगै परिवारमा बढेको किचलोले दिक्क भएर उनी नेपाल फर्किए। नेपाल आएर उनले सबैभन्दा लामो समयसम्म टक शो चलाएको गिनिस वर्ल्डको रेकर्ड राखे।

आफू अमेरिकी नागरिक रहेको तथ्य लुकाएर सरकारी टेलिभिजन नेपाल टेलिभिजनमा नेपालका प्रधानमन्त्रीलाई राखेर कार्यक्रम चलाए।

केपी ओलीको ठाउँमा पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री भएपछि उनलाई कार्यक्रम सञ्चालकबाट हटाएर बबिन शर्माले चलाए। तर धेरै समय चल्न सकेन कार्यक्रम।

त्यही बेला उनले न्युज २४ टेलिभिजनमा प्रधानमन्त्रीको साटो जनता केन्द्रित ‘सिधा कुरा जनतासँग’ चलाए। कार्यक्रम लोकप्रिय भयो। केही प्रशंसनीय काम पनि गरे। 

तर त्यहीँ लोकप्रियताको आडमा उनको अपराध यात्रा सुरु भएको देखिन्छ।

अध्यागमन कानूनको उल्लङ्घन

अध्यागमन विभागबाट उनी गैरपर्यटक नातेदार भिसामा नेपालमा सन् २०१८ अक्टोबर ४ अर्थात् २०७५ असोज १८ सम्म बस्न पाउने अनुमति लिएर नेपाल आए।

अध्यागमन नियमावली २०५१ अनुसार नेपालीमूलका विदेशी वा नेपाली बाबु वा आमाको विदेशी राहदानीवाहक सन्तान नेपालमा कुनै नातेदार भेट्न आउने भएमा वा नेपाली नागरिकसँग वैवाहिक सम्बन्ध भएका विदेशीका बाबु, आमा, दाजु, भाइ, दिदी वा बहिनी सम्बन्धित दूतावासको नाता खुलेको सिफारिससहित भेट्न आउन नातेदार भिसा पाउन सकिन्छ।

उनले पाएको भिसा यही हो।

अनि नियमावली को नियम २० अनुसार पर्यटक र नातेदारको भिसामा नेपालमा बस्ने व्यक्तिले पारिश्रमिक लिई वा नलिई कुनै उद्योग, व्यापार, व्यवसाय वा संस्थामा काम गर्न पाउने छैन’ उल्लेख छ।

नियमावलीमा ‘यस नियमावलीअनुसार भिसा प्राप्त गर्ने व्यक्तिले जुन उद्देश्यको निमित्त भिसा प्राप्त गरेको हो सोबाहेक अन्य काम गर्न नपाइने’ उल्लेख छ।

उनी नातेदार भिसामा नेपाल आएकोमा कुनै शङ्का रहेन। तर उनले नियमावलीको उलङ्घन गर्दै सरकारी टेलिभिजनदेखि निजी टेलिभिजनसम्ममा काम गरे। यसलाई बाध्यताको लेपन लगाए।

राज्य संयन्त्र उनले उल्लङ्घन गरेको कानूनअनुसारको दण्ड सजायमा जान हच्किए। प्रभावशाली कार्यक्रम र कट्टर समर्थकको आडमा कानूनी कारबाहीबाट जोगिए। 

श्रम स्वीकृतिबिना नै काम

उनले विदेशी नागरिक हुँदा श्रम स्वीकृति लिएर नेपालमा काम गरेको दावी गर्ने गरेका थिए। तर नेपालको श्रम ऐनले नेपालमा उपलब्ध जनशक्ति भएसम्म त्यही कामका लागि विदेशी नागरिकलाई काम गर्ने अनुमति दिने प्रावधानै छैन। यदि पर्याप्त नेपाली जनशक्ति भएकै क्षेत्रमा काम गर्न कुनै विदेशी नागरिकले अनुमति पाए त्यस्तो अनुमति दिने सरकारी अधिकारीमाथि अख्तियारको दुरुपयोगको कसूर आकर्षित हुने कानूनी प्रावधान छ।

नागरिकता ऐनको उल्लङ्घन

उनले अमेरिकी नागरिक बने लगत्तै अमेरिकास्थित नेपाली दूतावासमा आफू अमेरिकी नागरिक बनेकाले नेपालको कानूनअनुसार नेपाली नागरिकता निष्क्रिय गराउन निवेदन दिएनन्।

उनी पारिवारिक भिसामा नेपाल आएर अमेरिकी नागरिकता र अमेरिकी पासपोर्ट नछाडि २०५० सालमा जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट उनको नाममा जारी भएको नेपाली नागरिकताको दुरुपयोग गर्न थाले।

यही नागरिकताको प्रयोग गरेर उनले गरेका आर्थिक गतिविधि सार्वजनिक भएका छैनन्। श्रम स्वीकृति नै नलिई अमेरिकी नागरिकको हैसियतमा नेपालमा काम गरेर श्रम ऐनको उल्लङ्घन गरे र नातेदार भिसाले रोक लगाएको गतिविधि गरेकोमा अध्यागमन कानूनअनुसार कारबाही हुन सक्थ्यो उनीमाथि।

प्रक्रिया अगाडि बढेको पनि थियो। तर बीचैमा रोकियो। कारबाही भएन।

उनले गृह मन्त्रालयको रेकर्डमा दर्ता खारेज भइसकेको नागरिकता प्रयोग गरेर नागरिकता सम्बन्धी ऐन, निर्वाचन आयोगमा दल दर्ता गर्दै निर्वाचन आयोग सम्बन्धी ऐन उल्लङ्घन गरेको पुष्टि भइसकेको छ।

त्यही नागरिकता प्रयोग गरेर उनले राहदानी निकालेर अध्यागमन ऐन समेत उल्लङ्घन गरेको देखिन्छ।

नेपाली नागरिक मात्रै प्रतिनिधि सभाको निर्वाचनमा उम्मेदवार हुन पाउने कानूनी प्रावधान रहे पनि उनी दर्ता खारेज भएको नागरिकता पेस गरेर चितवन-२ बाट उम्मेदवार बने र जिते पनि।

निर्वाचन आयोगमा उजुरी पनि पर्‍यो। आयोगको अनुसन्धानमा उनले दल दर्तादेखि उम्मेदवारी दर्तासम्म प्रयोग गरेको नागरिकता गृह मन्त्रालयले दर्ता खारेज गरिसकेकै नागरिकता भएको खुल्दा पनि ‘निर्वाचन परिणाम आएको’ भन्दै उजुरीमा कुनै निर्णय गरेन।

 के हुनसक्छ कारबाही ?

अधिवक्ता सरोज अधिकारी नेपालको कानूनी प्रावधानअनुसार जसले कानूनी अधिकार लिन प्रमाण पेस गर्छ त्यो प्रमाणको दायित्व उसैमा हुन्छ।

फर्जी प्रमाण पेस गर्दा पनि कुनै सरकारी निकायका जिम्मेवार अधिकारीले स्वीकृत गरेको हकमा उनीमाथि अख्तियार दुरुपयोगमा समेत अनुसन्धान हुनसक्छ। तर जसले प्रमाण पेस गरेको हो ऊमाथि फर्जी प्रमाण पेस गरेकोमा कारबाही प्रक्रिया अगाडि बढ्न सक्छ।

‘दोहोरो नागरिकता लिन हुन्न भन्ने कानूनी प्रावधान रहे पनि लिए के हुन्छ भन्ने प्रष्ट कानूनी व्यवस्था छैन। तर राहदानी, दल दर्ता अनि उम्मेदवारी दर्तासम्म दर्ता खारेज भएको नागरिकता प्रयोग गरेको हकमा सम्बन्धित व्यक्तिमाथि जालसाजीको मुद्दा चल्न सक्छ’, अधिकारीले उकेरासँग भने।

यी पनि,

UKERAA EXCLUSIVE : अवैध भनिएको रवीको नागरिकता यही हो, प्रशासनको कार्यालयमा फायल नै गायब
आरोप असत्य हो भने ब्युँतिएको नागरिकता किन सार्वजनिक गर्दैनन् रवी!, किन फैलाउँदैछन् भ्रम ?
नागरिकता ब्युँताउने प्रक्रिया पुरा नगर्दा रवीको कानुनी हैसियत ‘अनागरिक’
चितवन- २ मा उपनिर्वाचन कि रविलाई सफाई ?
रविको नागरिकता विवादमा प्रवेशै नगरी उजुरी नै निष्क्रिय बनायो आयोगले, अब अदालत जानुपर्ने
रविले प्रमाण पत्र लिँदै भने ‘ देश हितका लागि सरकार बनाउन गठबन्धन गर्न परे भन्नुहोला, तयार छौँ’
रविको नागरिकताबारे छानबिन गर्न गृहमा निवेदन, प्रमाण हेरेर अगाडि बढाउने तयारी
रवि लामिछानेलाई तत्काल पक्राउको माग गर्दै गृहमा उजुरी गर्ने युवराज को हुन् ? 

Leave a Reply

Your email address will not be published. Required fields are marked *