भोट अरूले हाल्छन्, हाम्रो नङमा मसी मात्रै’ !!!

0Shares

प्रतिनिधि / प्रदेशसभा निर्वाचन २०७९
‘भोट अरूले हाल्छन्, हाम्रो नङमा मसी मात्रै’ !!!

अधिकांश महिला निरक्षर हुँदा र साक्षरमा पनि आत्मविश्वास नहुँदा मताधिकारमा पुरुषकै हस्तक्षेप 
बझाङ — जयपृथ्वी नगरपालिका–१ पिमीमा बुधबार दिउँसो निर्वाचनलक्षित घरदैलो चलिरहेको थियो । मूलबाटोसँगै जोडिएको घरको आँगनमा बिस्कुन सुकाइरहेकी अधबैंसे महिलाको नजिक पुगेर उम्मेदवारले आफूलाई मतदान गर्न अनुरोध गरे । हात जोड्दै आफ्ना एजेन्डा सुनाए । उम्मेदवारका कुरा ध्यानपूर्वक सुनिसकेपछि महिलाले भनिन्, ‘कुरा त तपाईंकै मन पर्‍यो, हाम्रो भोट अर्कैले हाल्छ, दिउँला भनेर के गर्नु ?’ 

आफ्नो मत कसले हाल्छ भन्ने पनि थाहा नपाएको बताउँदै उनले थपिन्, ‘चुनावका दिन तपाईंले हाल्दा भोट बिग्रेला भनेर छोरा/भतिजाले मतपत्र खोसेर आफैं भोट हाल्छन् । मैले त अहिलेसम्म भोटै हालेकी छैन ।’ ६ कक्षासम्म पढेकी ४४ वर्षीया सिद्धादेवी सिंह लेखपढ गर्न जान्दछिन्, मोबाइल, फेसबुक चलाउन पनि आउँछ । मतपत्रमा लेखिएका अक्षर र चिह्न मजाले छुट्याउन सक्छिन्, विडम्बना आफ्नै हातले मतपत्रमा छाप लगाउन पाएकी छैनन् ।
हुम्लाबाट ०५३ सालमा विवाह गरेर बझाङ आएपछि उनको गाउँमा आठ पटक चुनाव भइसक्यो । तर, कुनै पनि चुनावमा आफ्नो मत आफैंले हाल्न नपाएको उनले गुनासो गरिन् । ‘भोट हाल्न जानुपर्छ भनेर घरमै बोलाउन आउँछन्, लाइन लगाउँछन् । भोट हाल्ने बेला तपाईं बिगार्नुहुन्छ हामी हाल्दिन्छौं भनेर मतपत्र खोस्छन्,’ सिद्धाले भनिन्, ‘गाउँका जान्नेसुन्नेले त्यसो भनेपछि कसरी नाइँ भन्नु ? भोट अरूले हाल्छन्, हाम्रो नङमा मसी मात्रै लाइदिन्छन् ।’ उनले गाउँका अधिकांश महिलाको मत पनि अरूले नै हालिदिने गरेको बताइन् ।

महिलाहरूको मत स्वयं मतदातालाई हाल्न नदिएर दलका एजेन्ट, कार्यकर्ता, आफन्त र छिमेकीले हालिदिने यस्तो अभ्यास सिद्धाको गाउँको मात्र होइन जिल्लाभरि नै छ । छबिसपाथीभेरा गाउँपालिका–७ खोरीकी ५४ वर्षीया किट्टीदेवी बोहराले जीवनभर एक पटक पनि आफ्नो मत आफूले हाल्न पाएकी छैनन् । ‘तपाईंले हाल्दा बिग्रन्छ भन्छन्, साँच्चै बिग्रने पो हो कि भन्ने लाग्छ,’ उनले सुनाइन्, ‘सधैं अरूले हालिदिन्छन्, मैले त आजसम्म एकचोटि पनि आफैंले भोट हालेकी छैन ।’

आफ्नो मत आफैं हाल्न नपाएकामा अधिकांश महिलाको गुनासो छ । उनीहरू आफन्त र छिमेकीको करकापका अगाडि खुलेर विरोध गर्न सक्दैनन् । मतदान गर्नुअघि मतदाता शिक्षा दिन आएका सहजकर्तासँग छाप लगाउने तरिका सिके पनि गत वैशाखमा भएको स्थानीय तह निर्वाचनमा एक नातेदारले जिद्दी गरेर आफ्नो मत हालिदिएको मस्टा गाउँपालिकाकी सौरीदेवी बोहोराले बताइन् । ‘मतपत्र नदिएसम्म भोट बिगार्छौ भनेर झगडा नै गर्न थाले । खानु न पाउनु भोटका लागि के झगडा गर्नु भनेर चुप लागें,’ उनले भनिन्, ‘दिनभर लाइनमा बसेर पनि भोट हाल्न पाइनँ ।’ मतपत्र नदिँदा नातेदारसँगको सम्बन्ध बिग्रने डरले आफू चुप लाग्नुपरेको उनले बताइन् ।

मतदान गर्ने दिन महिलाको भोट हाल्नका लागि पुरुषहरूबीच बझाङका मतदानस्थलमा मतपत्र खोसाखोस गरिरहेका दृश्य हरेकजसो चुनावमा देखिन्छ । गएको स्थानीय निर्वाचनमा सुर्मा गाउँपालिका–३ कृष्ण प्रावि काटै मतदान केन्द्रमा महिलाको मत हाल्ने विषयमा दुई पार्टीका कार्यकर्ताबीच मतपत्र खोसाखोस भएर विवाद हुँदा मतदान नै स्थगित गर्नुपरेको थियो । यहाँ चार दिनपछि जेठ २ मा पुनः मतदान भएको थियो । ‘हाम्रो गाउँपालिकाका बढीजसो महिलाले आफ्नो मत आफैं हाल्न पाउँदैनन्,’ सुर्माकी पवित्रा बोहोराले भनिन्, ‘मतदान गर्न जान्ने महिला भए पनि आफूले चाहेको भन्दा अर्कै पार्टीलाई भोट दिन्छन् कि भन्ने शंकाले पुरुषले नै मतपत्र कब्जा गर्ने गरेका छन् ।’

कदाचित महिलाले आफैं मत दिएमा, आफूले भनेको भन्दा अर्कैलाई भोट दिएको शंका लागेमा घरमा झगडासमेत हुने गरेको घटना आफूले देखेको उनले बताइन् । सुर्माका कुल ५ हजार ४ सय ४ मतदातामध्ये महिला मतदाता २ हजार ५ सय १३ छन् । पालिकाभर एक हजारभन्दा बढी महिलाको मत अरूले नै हाल्ने गरेको स्थानीय बताउँछन् ।

अधिकांश महिला निरक्षर भएको र साक्षर महिलामा पनि आत्मविश्वासको कमीका कारण मत हाल्दा बिग्रने डरले अरूले नै हस्तक्षेप गर्ने गरेको महिला अधिकारकर्मी बताउँछन् । धेरैजसो पुरुषमा महिलाले आफूले चाहेको भन्दा अर्को उम्मेदवारलाई मत हाल्छन् कि भन्ने शंका हुँदा महिला मत हाल्नबाट वञ्चित हुने गरेको अधिकारकर्मी ममता शाहले बताइन् । ‘कतिपय महिला आफूले हाल्दा बिग्रन्छ कि भन्ठानेर अरूलाई नै मत हाल्न दिन्छन्,’ उनले भनिन्, ‘धेरैजसो महिलालाई पुरुषले विश्वास नगरेका कारण जबर्जस्ती मतपत्र खोसेर भोट हाल्ने गरेको पनि पाइएको छ ।’

बझाङको औसत साक्षरता ५५.५० प्रतिशत छ । जिल्ला समन्वय समितिका अनुसार करिब ७३ प्रतिशत पुरुष साक्षर छन् भने महिला साक्षरता ४० प्रतिशत मात्र छ । ‘मत बिगार्छन् भन्ने निहुँ बनाए पनि सबैको नियत आफ्नो पक्षमा मत बढी खसाल्ने नै हुन्छ,’ एक गैरसरकारी संस्थामा कार्यरत राजेन्द्र सिंहले भने, ‘एक हिसाबले भन्ने हो भने अधिकांश महिलाको मत कब्जा नै गरिन्छ भन्दा पनि हुन्छ ।’ महिला सशक्तीकरणको अभावले यस्तो हुने गरेको उनको बुझाइ छ ।

बझाङमा १ लाख २२ हजार ३ सय ७६ मतदातामध्ये ६० हजार ६ सय ९४ महिला मतदाता छन् भने पुरुष मतदाताको संख्या ६१ हजार ६ सय ८२ छ । संख्याको हिसाबले आधा महिला भए पनि उनीहरूको मतको उचित प्रतिनिधित्व हुने गरेको छैन । मुख्य निर्वाचन अधिकृत नन्दकिशोर प्रसाद यादवले कानुनमा दृष्टिविहीन र अशक्त मतदाताको मत मतदाताले इच्छाएको एकाघरको सदस्यले हाल्न पाउने व्यवस्था गरेको र अरू मतदाताको हकमा आफैंले मत हाल्ने प्रावधान रहेकाले यो व्यवस्था लागू गराउन प्रतिबद्ध भएको बताए ।

‘स्थानीय तहको निर्वाचनमा जस्तो नहोस् भनेर यसपालि कडाइका साथ लागू गर्न मतदान अधिकृतलाई निर्देशन दिएका छौं,’ उनले भने, ‘आफूले मतदान गर्न पाउने अधिकारबाट कोही वञ्चित नहोऊन् भनेर हामी सचेत छौं । यो निर्वाचनमा स्थानीय तहजस्तो खोसाखोस हुँदैन ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *