पैसा बाँडेको आरोपपछि काठमाडौंमा एमालेका प्रदेश उम्मेदवार प्रहरी नियन्त्रणमा

0Shares

प्रतिनिधि / प्रदेशसभा निर्वाचन २०७९
पैसा बाँडेको आरोपपछि काठमाडौंमा एमालेका प्रदेश उम्मेदवार प्रहरी नियन्त्रणमा

काठमाडौँ — मतदातालाई प्रभावित पार्न पैसा बाँडेको आरोप लागेपछि काठमाडौं-५ (२) मा एमाले उम्मेदवार दीपक निरौलालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।बुढानीलकण्ठ नगरपालिका-६ को एक घरमा प्रवेश गरेका निरौलालाई पैसा बाँड्न लागेको भन्दै स्थानीयले घेरा हालेर प्रहरी बोलाई शुक्रबार राति जिम्मा लगाएका हुन् ।

निरौलासहित एमालेका बुढानीलकण्ठ नगर अध्यक्ष प्रदीप डंगोल र ६ नम्बर वडाका अध्यक्ष रवि खड्कालाई समेत प्रहरीले नियन्त्रणमा लिएको छ ।
प्रहरीले भने स्थानीयको भीडले घेरा हालेपछि उद्धार गरी सुरक्षामा राखिएको दाबी गरेको छ । प्रहरी प्रवक्ता डीआईजी टेकप्रसाद राईले भीडले घेरा हालेपछि दुई जनालाई उद्धार गरी प्रहरीको सुरक्षामा राखिएको कान्तिपुरलाई बताए । ‘भीडले दुई जनामाथि पैसा बाँडेको आरोप लगाएको छ । यस विषयमा अनुसन्धान भइरहेको छ,’ डीआईजी राईले भने । अहिलेसम्म पैसा भने बरामद नभएको प्रहरीले जनाएको छ ।

उम्मेदवार निरौलाले आफू क्यान्सरका बिरामीलाई भेट्न गएको बेला पछ्याउँदै आएका केही व्यक्तिले निराधार आरोप लगाएको भन्दै प्रमाण ल्याउन चुनौती दिएका छन् । ‘म क्यान्सर रोगबाट लामो समयदेखि पीडित बिरामी तोक्मान लामासँग कुराकानी गरिररहँदा अनावश्यक कुरा निकाली समाज आतंकित पार्ने कार्य नगरेको राम्रो हुन्छ । म राजनीतिक प्राणी हुँ । गैरराजनीतिक काम मेरो आदर्श हैन । मेरो चुनौती छ, मित्रहरु आरोप पुष्टि गर्नुस् । बरामद केही छ भने सप्रमाण आउनुस्,’ निरौलाले फेसबुकमा लेखेका छन् ।

प्रहरीले निरौलालगायतलाई बुढानीलकण्ठ प्रभागमा राखिएको जनाएको छ । स्थानीयहरूले भने उनको उम्मेदवारी खारेजीको माग गर्दै प्रभाग परिसरमा नाराबाजी गरिरहेका छन् । आइतबार हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि बिहीबार रातिदेखि नै मौन अवधि जारी छ । निर्वाचन आचारसंहिताअनुसार यस अवधिमा कुनै दल र उम्मेदवारको प्रचारप्रसार गर्न पाइँदैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *