दसैंमा दुर्घटना रोक्न निगरानी, अनुगमन तीव्र

0Shares

दसैंमा दुर्घटना रोक्न निगरानी, अनुगमन तीव्र

काठमाडौँ — दसैं–तिहारजस्ता प्रमुख चाडपर्वको समयमा बर्सेनि सयभन्दा बढी सर्वसाधारणले सडक दुर्घटनामा परी ज्यान गुमाउने गरेका छन् । ओभर लोड, सडकको दुरवस्था, चालकको लापबाही, सवारी यान्त्रिक गडबडीलगायत कारणबाट बर्सेनि सर्वसाधारणले अनाहकमा ज्यान गुमाउने गरेका छन् ।

तर त्यसको रोकथाम तथा नियनत्रण गर्न सरकारी तहबाट अनुगमन, नियमन र गल्ती गर्नेमाथि कारबाही हुन नसक्दा चाडपर्वमा सधैं दुर्घटनाको त्रास निम्तिने गरेको छ ।
अरू बेलाभन्दा असोज र कात्तिक अर्थात् दसैं–तिहारको छेकोमा कार्यक्षेत्रबाट घर फर्कनेको चाप बढी हुन्छ । हरेक वर्ष १५ लाखदेखि २० लाख मानिस चाडपर्व मनाउन उपत्यकाबाट स्थायी थातथलो जाने गरेका छन् । पर्व मनाएर त्यति नै संख्यामा उपत्यका भित्रिने गरेका छन् । सडक दुर्घटनाबाट ज्यान गुमाउनेको संख्या अधिक मात्रामा देखिएको छ । विसं २०७१/७२ देखि आव २०७८/७९ को दसैं छेकोमा दुर्घटनामा परी करिब १ हजार जनाले ज्यान गुमाएका छन् । नेपाल प्रहरी प्रधान कार्यालयका अनुसार २०७८ को दसैंमा १ सय ७८ र २०७७ मा १ सय १४ जनाले ज्यान गुमाएका थिए । त्यस्तै दसैंको अवधिमा ज्यान गुमाउनेमा २०७६ मा १ सय ११, २०७५ मा १ सय २९, २०७४ मा १ सय ४, २०७३ मा १ सय १, २०७२ मा ९२ र २०७१ मा १ सय ४१ जनाको ज्यान गएको थियो ।

अकालमा ज्यान गुमाउनुपर्ने विकराल अवस्थालाई रोकथाम तथा नियन्त्रण गर्न सरकारी तहबाट भने त्यसअनुसार प्रभावकारी कार्ययोजना लागू भएको देखिँदैन । गएको असोज ७ मा सरकारले सवारी दुर्घटना रोकथाम तथा न्यूनीकरण गर्न सरकारले गृह मन्त्रालयका सहसचिव फणीन्द्रमणि पोखरेलको संयोजकत्वमा कार्यदल गठन गरेको थियो । त्यसको भोलिपल्ट असोज ८ मा कार्यदलको बैठक बसेर बिमा नगरिएका तथा यान्त्रिक परीक्षण नभएका सवारी सञ्चालनमा रोक लगाउने, क्षमताभन्दा बढी यात्रु बोक्न निषेध, सडकमा टाइम कार्ड लागू, मादक पदार्थ र लागू पदार्थ सेवन गरे/नगरेको परीक्षण, सडक दुर्घटनामा घाइते भएमा हवाई मार्गबाट अस्पताल पुर्‍याउनुपरे व्यवसायीले नै भाडा बेहोर्नुपर्नेलगायत निर्णय गरेर कार्यान्वयनका लागि प्रहरी, जिल्ला प्रशासन, यातायात व्यवस्था विभाग र यातायात सेवा प्रदायक संस्थालाई पठाएकोमा व्यवसायीहरूले कार्यदलको सुझाव अझै अक्षरश: पालना गरेका छैनन् । चर्को भाडा असुलीदेखि क्षमताभन्दा बढी यात्रु राख्नेसम्मका गतिविधि सार्वजनिक सवारीमा भइरहे पनि अनुगमन र नियमनमा अझै कडाइ भएको छैन । यान्त्रिक परीक्षण नगरेका सवारी र बढी भाडा असुल्ने बसका काउन्टरबाट केही मानिस पक्राउ परे पनि कानुन उल्लंघनको क्रम रोकिएको छैन ।

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एसपी अवधेश विष्टले दसैं लक्षित सुरक्षा जाँचका क्रममा यान्त्रिक परीक्षण नगरेका १ सय २१ सवारी र बढी भाडा असुल्ने ५४ तथा लागूऔषध सेवन गरेर सवारी चलाउने ५ जनालाई नियन्त्रणमा लिइएको र यससम्बन्धी चेकजाँचलाई निरन्तरता दिइएको बताए । गृह मन्त्रालयका प्रवक्तासमेत रहेका सडक दुर्घटना न्यूनीकरणसम्बन्धी कार्यदलका संयोजक पोखरेलले कार्यदलबाट गरिएका निर्णय कार्यान्वयन नभए कारबाही गरिने चेतावनी दिए । ‘हामीले सडक दुर्घटना रोकथाम तथा नियन्त्रण गर्न प्रहरी, जिल्ला प्रशासन, यातायात व्यवस्था विभाग, यातायात व्यवसायीलगायतलाई निर्णय गरेर त्यसको कार्यान्वयनका लागि निर्देशन दिइसकेका छौं, सोहीअनुसार प्रशासन र प्रहरीबाट अनुगमन तथा नियमन भइरहेको जानकारी आएको छ,’ पोखरेलले भने, ‘यदि निर्णय कार्यान्वयनमा सरकारी निकाय वा अरू कसैले अटेर गरेको पाइए कारबाहीको दायरामा ल्याइनेछ ।’

कार्यदलल बिमा र यान्त्रिक परीक्षण नगरेका यात्रुवाहक सवारीसाधन गुडाउन रोक लगाउने, दुर्घटना भई घाइतेलाई हवाईमार्गबाट अस्पतालसम्म लैजानुपर्ने भएमा यातायात व्यवसायीले खर्च बेहोर्नुपर्ने, बिमा र यान्त्रिक परीक्षण अनिवार्य, छिटो पुग्न तीव्र गतिमा सवारी चलाउने प्रवृत्तिलाई निरुत्साहन, राजमार्गमा सवारी टाइम कार्ड, सिट क्षमताभन्दा बढी यात्रु बोक्ने र छतमा राखेर यात्रा गराउन रोक लगाउने, लामो दूरीका सवारीसाधनमा प्राथमिक उपचार कीट, प्रहरी हटलाइन नम्बरलगायत व्यवस्था मिलाउनेलगायत १४ बुँदे निर्णय गरेर कार्यान्वयनका लागि पठाएको थियो ।

दसैंमा दुर्घटना : कहिले कतिको मृत्यु ?

२०७८ : १७८ जना

२०७७ : ११४ जना

२०७६ : १११ जना

२०७५ : १२९ जना

२०७४ : १०४ जना

२०७३ : १०१ जना

२०७२ : ९२ जना

२०७१ : १४१ जना

स्रोत : नेपाल प्रहरी

Leave a Reply

Your email address will not be published. Required fields are marked *