नेपाली कांग्रेसले ल्यायो नयाँ चुनावी गीत ‘मंसिर चार’

0Shares

असोज २ अगामी ४ मंसिरमा हुन लागेको प्रतिनिधिसभा र प्रदेश सभाको निर्वाचनका लागि भन्दै नेपाली कांग्रेसले नयाँ चुनाव गीत ‘मंसिर चार’ सार्वजनिक गरेको छ । शनिबार नेपाली कांग्रेस पार्टी कार्यलय सानेपामा एक कार्यक्रमका बीच गीत सार्वजनिक गरिएको हो ।

खानेपानी मन्त्री तथा नेपाली कांग्रेसका सह–महामन्त्री उमाकान्त चौधरी, केन्द्रीय सदस्य रामहरि खतिवडा लगायतले गीत सार्वजनिक गरे । गीत नेपाली कांग्रेस निकट नेपाल सांस्कृतिक संघले निर्माण गरेको हो । कार्यक्रममा मन्त्री चौधरीले ४ मंसिरको निर्वाचनलाई लक्षित गर्दै नेपाली सांस्कृतिक संघले जुन गीत ल्याएको छ त्यसले नेपाली कांग्रेसलाई जिताउन र जनतामा भिजाउन उल्लेखनीय भूमिका खेल्ने बताए । ‘सर्वसाधारणले कांग्रेसको सन्देश बुझ्ने गरेर निर्माण भएको चुनाव गीत मैले विमोचन गर्न पाएँ, मेरो लागि योभन्दा ठुलो खुसीको बिषय अन्य के होला’ मन्त्री चौधरीले थपे ।

त्यस्तै केन्द्रीय सदस्य रामहरि खतिवडाले सांस्कृतिक संघले ४ मंसिरको निर्वाचनका लागि भनेर तयार गरेको गीत आफुलाई मन परेको बताए । सबै नेपालीको भावना र मर्म समेटिएको गीत नेपाली काँग्रेसलाई निर्वाचनमा जिताउन महत्वपूर्ण हुने खतिवडाको धारणा थियो ।

सांस्कृतिक संघका सभापति तीर्थ थापाले नेपाली काँग्रेसलाई स्थानीय निर्वाचनमा जिताउन यस्ता कयौं गीत ल्याएको स्मरण गर्दै ४ मंसिरको निर्वाचनमा काँग्रेसको जित सुनिश्चितताका लागि गीत निर्माण भएको बताए । पार्टीको नेतृत्व तहले सांस्कृतिक संघको भूमिका र योगदान नदेखेको गुनासो गरेका थापाले नेपाली कांग्रेसलाई निर्वाचनमा हर किसिमबाट सघाउन संघ तयार रहेको धारणा राखे ।

सांस्कृतिक संघका महामन्त्री शिवशंकर रिजाल ‘जोगिन्दर’ले निर्वाचनमा पार्टीका नेता तथा कार्यकर्तालाई जनतासमक्ष जान सजिलो होस् भनेर गीत निर्माण गरिएको बताए । रिजालको विशेष पहलमा गीत निर्माण भएको हो । सांस्कृतिक संघका सहमहामन्त्री लेखबहादुर पुन, अभिनेता विक्रान्त बस्नेत लगायत कांग्रेस निकट थुप्रै कलाकारको कार्यक्रममा उपस्थिति रहेको थियो ।

सार्वजनिक गीतमा राधिका हमाल, शशी विक्रम थापा, गोविन्द मधुर आचार्य, स्मृति शाही लगायतको स्वर रहेको छ भने शब्द लोकराज अधिकारीका र संगीत गोविन्द मधुर आचार्यको रहेको छ । 

विक्रान्त बस्नेत, शिवहरि बैरागी, राधिका हमाल, स्वस्तिका लामिछाने, विष्णु रोक्का, श्रृजना घिमिरे, सरु थपा, गान्दिप गिरी, नविन गिरी, शिवशंकर रिजाल ‘जोगिन्दर’, अर्जुन गिरी,राजेन्द्र खत्री, उत्तम थापा लगायतको अभिनय गीतको भिडियोमा देख्न सकिन्छ । तीर्थबहादुर थापाको निर्देशन रहेको गीतको भिडियोमा जीवन पराजुलीको छायांकन तथा उत्तर मगरको सम्पादन छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *