थामी धर्म, संस्कार, संस्कृति तथा कर्मकाण्ड संरक्षणमा महत्वपूर्ण योगदान : दुईदिने ‘थामी मड्धुङ्ग सिलोखे पालोखे’ प्रशिक्षण सम्पन्न !!!
2026-06-14विगु गाउँपालिकाद्वारा थामी र तामाङ मातृभाषाको पाठ्यक्रम तथा पाठ्यपुस्तक तयारी सम्पन्न ।।।
2026-06-14
ओलीको प्रशंसा गर्दै कमल थापाले भने, ‘पुनर्स्थापित संसद् दलको लाचार छायामा सीमित रह्यो’
असोज १ राप्रपा नेपालका अध्यक्ष कमल थापाले अदालतबाट पुनर्स्थापित भएको प्रतिनिधिसभा संसद्ले कुनै ठोस काम गर्न नसकेको बताएका छन् । प्रतिनिधि सभाको कार्यकाल सकिनु अघि शनिबार साँझ सामाजिक सञ्जाल मार्फत् आफ्नो विचार सार्वजनिक गर्दै अध्यक्ष थापाले पुनर्स्थापित संसद्को अधिकांश समय राजनीतिक दलका लाचार छायाको रूपमा सीमित रहन पुगेको उल्लेख गरेका छन् ।

उनले जनप्रतिनिधिहरू भत्ता पचाउने बाहेक देश र जनताको हितमा कुनै ठोस काम गर्न असक्षम रहेको समेत बताए । ‘दुई पटक संसद् विघटन भयो । अदालतले संसद् पुनर्स्थापना गर्यो । अदालतको परमादेशबाट सरकार गठन हुने नौलो परम्परा सुरु भयो । पुनः स्थापित प्रतिनिधिसभाले कुनै ठोस काम गर्न सकेन ।’ उनले भनेका छन्, ‘अधिकांश समय संसद् स्वतन्त्र र सार्वभौम जनताको प्रतिनिधिमूलक संस्था भन्दा पनि राजनीतिक दलका लाचार छायाँकोरुपमा सीमित रह्यो । जनप्रतिनिधिहरू भत्ता पचाउने बाहेक देश र जनताको हितमा कुनै ठोस काम गर्न असक्षम रहे ।’
राजनीतिक अस्थिरताको अन्त्य र निर्वाचन पछि देशमा शान्ति र स्थायित्व कायम तथा देश विकासको नयाँ युगमा प्रवेश गर्नेछ भन्ने आमजनताको आशा र विश्वासका साथ तत्कालीन नेकपालाई दिए पनि काम हुन नसकेको उनको भनाई छ ।
‘लामो समयसम्म कायम रहेको राजनीतिक अस्थिरताको अन्त्य गरी नयाँ निर्वाचन पछि देशमा शान्ति र स्थायित्व कायम हुनेछ तथा देश विकासको नयाँ युगमा प्रवेश गर्नेछ भन्ने आमजनताको आशा र विश्वास थियो । यही आशा र विश्वासको कारण जनताले तत्कालीन नेपाल कम्युनिस्ट पार्टीलाई झन्डै दुई तिहाइ बहुमत प्रदान गरेका थिए । तर, जनताको आशा, विश्वास र भरोसा अनुसार काम हुन सकेन ।’ उनले भने, ‘नेकपा तिन टुक्रामा विभाजित भयो । राजनीतिक अस्थिरताले निरन्तरता पायो ।’
नेपालको संविधान २०७२ जारी भएपछि भएको पहिलो निर्वाचनबाट खडा भएको प्रतिनिधि सभाको कार्यकाल आज मध्यरातबाट समाप्त हुँदैछ ।
अध्यक्ष थापाले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको प्रशंसा गर्दै लिम्पियाधुरा र कालापानी समेत समेटिएको नेपालको ‘चुच्चे नक्सा’लाई संवैधानिक मान्यता दिलाउने कार्य प्रतिनिधिसभाको ऐतिहासिक काम भएको र यसको श्रेय तत्कालीन सरकारलाई नै जाने बताए ।
उनले लेखेका छन्–‘यो प्रतिनिधिसभाले एउटा मात्रै ऐतिहासिक काम गरेको छ । लिम्पियाधुरा र कालापानी समेत समेटिएको नेपालको ’चुच्चे नक्सा’लाई संवैधानिक मान्यता दिलाउने कार्य भएको छ । यहि एउटा कामको निम्ति अहिले कार्यकाल समाप्त हुनलागेको प्रतिनिधिसभा सदा अविस्मरणीय रहनेछ । यो ऐतिहासिक कार्य सम्पन्न गर्ने श्रेय केपी शर्मा ओली नेतृत्वको तत्कालीन सरकारलाई जान्छ । यस कार्यको निम्ति केपी शर्मा ओली र संसद्को सम्झना सदाकाल भइरहने छ ।’
सोही काम गरेका कारण केपी ओली नेतृत्वको सरकार ढल्नु नेपाली राजनीतिको दुर्भाग रहन गएको उनले टिप्पणी गरेका छन् । ‘नेपाली राजनीतिको दुर्भाग्य, यही राष्ट्रवादी कामको कारण केपी ओली नेतृत्वको सरकार पतन भयो ।’ उनले लेखेका छन्, ‘यसैको परिणाम स्वरूप आगामी संसदीय निर्वाचनमा राष्ट्रवादी शक्तिलाई जुनसुकै हालतमा पनि पराजित गर्ने र उठ्न नदिने उद्देश्यका साथ विपरीत राजनीतिक विचारधारा बोकेका विभिन्न दलहरूको गठबन्धन निर्माण भएको छ ।’
उनले विगत ५ वर्षको तिनै घटना क्रमका आधारमा आगामी मङ्सिरमा हुने निर्वाचनबाट जनताले फैसला गर्ने उल्लेख गरेका छन् ।




