मलेसिया जाने नेपाली श्रमिकको स्वास्थ्य परीक्षण अब पनि सीमित स्वास्थ्य संस्थाबाट मात्रै हुने भएको छ ।
2026-05-18उभौली पर्व (भूम्या पूजा) थाङ्मी समुदायको मौलिक संस्कृति, पहिचान र एकताको भव्य उत्सव बिगु–८ थाङ्मीचागु तुन्बोन डन्डीमा आयोजना हुने
2026-05-07लिपुलेक विवादः नेपालको दाबीमा भारतको अस्वीकार, ‘ऐतिहासिक आधारहीन’ जिकिर, संवादका लागि खुला रहेको संकेत
2026-05-04
पोखरामा प्रचण्ड-बाबुराम : हिजो जे भयोभयो, अब मिलेरै जाने हो
२५ भदौ, पोखरा । ‘बाबुराम भट्टराईजीसँग हँसिया हथौडा चुनाव चिहृन लिएर चुनाव लड्ने सहमति भइरहेको छ । चुनावअघि कार्यगत एकता गर्ने र चुनावपछि पार्टी एकता नै गर्ने हो । उहाँलाई माओवादीमा स्वागत नै गरौं, कहीँकतै अपमान हुनेखालका कुरा नगरौं ।’

नेकपा माओवादी केन्द्रमा गण्डकी प्रदेशका केन्द्रीय सदस्य तथा पदाधिकारीहरुलाई प्रशिक्षण दिँदै अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले डा.भट्टराईप्रति सहानुभूति देखाए । चुनावको मुखमा केन्द्रीय सदस्यहरुलाई निर्देशन दिँदै प्रचण्डले बाबुरामलाई चुनावमा जिताउनुपर्ने संकेतसमेत गरे ।
भट्टराई माओवादीसँग मिल्ने र अरु शक्तिसँग पनि मिलन हुन पहल भइरहेको सन्देश जाँदा माओवादीलाई फाइदै पुग्ने प्रचण्डको भनाइ थियो । ‘बाबुरामजी हिजो जसरी बाहिरिए पनि अब माओवादीमै आउने कुराले सकारात्मक सन्देश गएको छ । उहाँलाई स्वागत र सम्मान गर्नुपर्छ । चुनावपछि पार्टी एकता नै गर्ने कुरा छ,’ प्रचण्डको भनाइ उद्धृत गर्दै केन्द्रीय सदस्य आशा कोइरालाले भनिन्, ‘हिजो जेजे भयो भयो, अब मिलेर जानुको विकल्प छैन । माओवादीबिना अरु दलको केही लाग्दैन, हामीले जसरी पनि चुनावमा धेरैभन्दा धेरै सीट ल्याउनै पर्छ ।’
महसुस गरेर माओवादीमा आइसकेपछि भट्टराईलाई सम्मान गर्न प्रचण्डले निर्देशन दिएको केन्द्रीय सदस्य राजकाजी गुरुङले बताए ।
चुनावलगत्तै पार्टी एकता नै हुने भएकाले गोरखामा भट्टराईलाई सघाउने प्रचण्डले संकेत गरेका हुन् । नारायणकाजी श्रेष्ठ अहिले राष्ट्रिय सभामै रहेकाले भट्टराईलाई नै त्यहाँ उम्मेदवार बनाउन प्रचण्डले चाहेको नेताहरुले बताए ।
पोखरामा आयोजित कार्यक्रममा सम्बोधन गर्दै माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड ।
शुक्रबार माओवादी अध्यक्ष प्रचण्ड र नेपाल समाजवादी पार्टीका अध्यक्ष भट्टराई दुवै पोखरामा थिए । पूर्वप्रधानमन्त्रीसमेत रहेका दुवै जनाले पार्टी प्रशिक्षण तथा अभिमुखीकरण कार्यक्रममा एकअर्काप्रति सहानुभूति देखाएका छन् भने दुवै जनाले अब पार्टी एकता नै गरेर जाने बताएका छन् ।
प्रचण्डकाप्रति खरो कटाक्ष गरिरहने भट्टराईले शुक्रबार नरम बन्दै माओवादी आन्दोलनको बखान गाए भने प्रचण्डले पनि बाबुरामलाई अपमान हुने खालका कुरा नगर्न निर्देशन नै दिए । दुवै अध्यक्षले पोखराबाट सन्देश दिए, ‘हिजो जे भए पनि अब मिलेर, सच्चिएर जाने हो ।’
‘हामी बाबुराम भट्टराई पनि छोड्न सक्दैनौं तर माओवादीबाट निस्केयता जिल्लामा सधैं पार्टीको कमिटीमात्रै गठन गरिरहनुपरेको छ । एकपछि अर्को पार्टीको कमिटी । अब फेरि माओवादीसँग मिल्ने भनिएको छ, यो पनि मिल्ने हो कि बिलय हुने हो ?’
पोखरामा शुक्रबार भएको नेपाल समाजवादी पार्टीको गण्डकी प्रदेशस्तरीय अभिमुखीकरण कार्यक्रममा एक जिल्ला अध्यक्षले डा. बाबुराम भट्टराईलाई प्रश्न उठाए । जिल्ला/जिल्लाबाट अध्यक्षहरुले रिपोर्टिङ गर्ने क्रममा अधिकांश जिल्ला अध्यक्षले माओवादी केन्द्रसँग हुने भनिएको एकताबारे प्रश्न राखे ।
चुनावमा फरक फरक पार्टीसँग एकता गर्ने, पार्टी पनि विभिन्न परिस्थितिबाट गुजि्रनुपर्ने अवस्था र अब माओवादीसँग गर्ने भनिएको एकता कस्तो खालको हो ? भन्ने सबैजसोको जिज्ञासा र चासो रहेको नेपाल समाजवादी पार्टीका गण्डकी अध्यक्ष किरण थापाले बताए ।
नेता कार्यकर्ताको जिज्ञासा तथा प्रश्नलाई सम्वोधन गर्दै डा. भट्टराईले माओवादी आन्दोलनलाई आफूले कहिल्यै खराब नभनेको तर माओवादी सच्चिन जरुरी छ र अब राजनीतिलाई फरक ढंगले लैजाऔं भनेको बताए ।
पोखरामा पार्टी नेता-कार्यकर्तालाई सम्बोधन गर्दै बाबुराम भट्टराई ।
कांग्रेस, एमालेको विकल्पमा अर्को बलियो शक्तिको आवश्यकता भएकाले चुनावमा कार्यगत एकता गरेर एउटै चुनाव चिह्न लिएर जाने र चुनावपछि पार्टी एकता नै गर्ने प्रचण्डसँग आˆनो सल्लाह भएको बाबुरामको भनाइ थियो ।
प्रचण्ड पनि समाजवादी केन्द्र निर्माण गर्दै पार्टी र नेतृत्वलाई नयाँ ढंगले लैजान सहमत रहेको बताउँदै भट्टराईले आफूहरु गठबन्धनमै रहेकोसमेत बताए ।
‘माओवादी आन्दोलन एउटा महान आन्दोलन थियो । यो विचारको मुख्य प्रवर्तक म आफैं थिएँ । जनयुद्धमार्फत संघीय लोकतान्त्रिक गणतन्त्रसम्म देशलाई पुर्यायौं, त्यो महान क्रान्ति थियो’ भट्टराईले भने, ‘अब देशमा आर्थिक राजनीतिक रुपान्तरण गरेर राष्ट्रिय औद्योगिक पुँजीको निर्माण गरेनौं भने समाजवाद आउँदैन भन्ने मेरो आग्रह हो ।’
कुनै बेला माओवादी तेस्रो शक्तिको रुपमा आएको भए पनि त्यसलाई समयानुसार रुपान्तरण गर्न नसक्दा त्यो कमजोर बन्दै गएको र अब फेरि देशमा एमाले, कांग्रेसको विकल्पको शक्ति निर्माण गर्न आवश्यक रहेको भट्टराईको भनाइ थियो । माओवादी आन्दोलनको जग र अरु शक्तिहरुको मीलन गर्दै फेरि विकल्पिक शक्ति निर्माण गर्ने भट्टराईले बताए ।
अन्तिम पटक भन्दै भट्टराईले जसरी पनि चुनाव जित्न चाहेको र अब प्रधानमन्त्री हुने योजनासहित शक्ति बढाउन प्रचण्डले दौडधुप गरिरहेको नेताहरु बताउँछन् । त्यसका कारण माओवादी र अध्यक्ष प्रचण्डबाट देशले निकास नपाउने बताउँदै नयाँ शक्ति निर्माण गरेका भट्टराई फेरि सच्याउन सकिने भन्दै माओवादीमै फर्किएका छन् ।
माओवादी शक्तिहरु छिन्नभिन्न हुँदा प्रचण्ड पनि कमजोर बनेको र फेरि एक पटक शक्तिशाली बन्ने अभियानमा लागेकाले दुवै नेताको स्वार्थ मिलेको एक नेताले बताए ।
जनता समाजवादी पार्टी पनि फुटेर बाबुरामले फेरि नयाँ पार्टी खोलेका छन् । अहिले माओवादीमै ओत लाग्न आएका बाबुरामप्रति रुखो नबन्न प्रचण्डले कार्यकर्ताहरुलाई निर्देशन दिएका हुन् ।





