बालुवाटार बैठक :उपेन्द्र फन्किएर शीतल निवास हिँडे, प्रचण्ड ललितपुर पुगेर फर्किँदा माधव थिएनन्

0Shares

२३ भदौ, काठमाडौं । बालुवाटारका बैठकहरु यस्तै हुन्छन् । कहिले को सन्किरहेको हुन्छ, कहिले को गलफत्ती गरिरहेको हुन्छ । बाहिर पत्रकारको माइकमा बोल्न उभिँदा भने औपचारिकताका यसो केही वाक्य बोलेर नेताहरु हिँड्छन् ।

बिहीबारकाे सत्ता गठबन्धन सल्लाह थियो– सिट बाँडफाँट कार्यदलमा सहमति जुटाएर चुनावको सिट संख्या बाँड्ने, शीर्ष तहका नेता बसेर त्यसलाई अन्तिम टुंगो लगाउने । तर भयो उल्टो ।

सत्ता गठबन्धनको सिट बाँडफाटसम्बन्धी कार्यदलले सिट संख्याको पूर्ण किटान नगरी कार्यदलले आफ्नो प्रतिवेदन शीर्ष तहमा बुझाएको छ । बुझाएको प्रतिवेदनमा मुख्य काम नै बाँकी छ ।

बैठकमा सहभागी नेताका अनुसार केही सिटहरुबारे छलफल टुंगोमा पुग्न बाँकी रहे पनि सैद्धान्तिक रुपमा समझदारी भइसकेकाले शीर्ष तहमा नै टुंगिने गरी निर्णय भएको हो ।

तर यो औपचारिक कुरो हो । खासमा शीर्ष तहका नेताहरुबीच बिहीबार मतो मिल्नै सकेन ।

जसपा अध्यक्ष उपेन्द्र यादवले मागेका थिए कम्तिमा ३० सिट । कांग्रेसका नेताहरुले १४ भन्दा बढी दिने कुरै गरेनन् ।

कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलका अनुसार खासमा कांग्रेसले जसपालाई दिन खोजेको १२ सिट हो । तर यादवको जोडका कारण दुई सिट बढाउन खोजिएको हो । ‘उहाँहरुको चित्त बुझाउँदा माधवजीको बुझ्दैन, उपेन्द्रजी र माधवजी दुवैको बुझाउँन खोज्दा प्रचण्डजीको बुझ्दैन, हामीले मात्रै के गर्नु ?’ पौडेलले भने, ‘त्यसैले भोलि टुंगो लगाउने गरी बसौं भनेका छौं । हेरौं कसो पर्छ ।’

बैठकमा सहभागी नेताहरुका अनुसार सुरुमै एकीकृत समाजवादी अध्यक्ष माधव नेपाल आएर प्रधानमन्त्रीको सरकारी निवासमा छिरेका थिए । त्यसपछि सुरु भयो अरु नेताको प्रतीक्षा । माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र जसपा अध्यक्ष यादव सँगसँगै आइपुगे । जनमोर्चाकी दुर्गा पौडेल त्यसपछि पुगिन् ।

कांग्रेसबाट पुगेका पौडेलसहित नेताहरुले सिटको संख्याबारे कुरो झिक्दा सुरुमै यादव बोले । उनले ३२ भन्दा घट्नै नसकिने भन्दै मधेसका जिल्लापिच्छेको मतभार अनुपात सुनाउन थाले । ‘यसभन्दा त घट्नै सकिन्न,’ यति भनेर उनी आफूलाई राष्ट्रपति विद्या भण्डारीबाट भेट्न निम्तो आएको भन्दै उठेर हिँडे ।

प्रचण्डले ‘पख्नुस् न’ भन्दै गर्दा उनी शीतल निवासबाट फर्केर बाँकी कुरा गर्ने भन्दै हिँडे ।

माधव नेपालले आफूलाई कम्तिमा ४० सिट चाहिने दाबी गर्दै आएका छन् । सहभागी नेताहरुको भनाइमा उनी ३५ सिटको आसपास सकार्न तयार हुने विन्दुमा छन् । नेपाललाई मनाउन कठिन नपर्ने कांग्रेस र माओवादी केन्द्र पक्षको बुझाई छ । प्रचण्डले आफ्नो हिमालय होटल ललितपुरमा कार्यक्रम रहेको भन्दै फर्केर आउने सुनाए । त्यसबेला माधव नेपाल चाहिँ बालुवाटारमै रहे ।

‘आजलाई यस्तै भयो, उहाँहरु पछि आउँछौं भन्दै उठेर जानुभयो, फर्किएर आउँदा माधवजी अन्तै हिँडिसक्नुभएछ,’ पौडेलले सुनाए, ‘अब यसबारे जे हुन्छ, भोलि नै हुन्छ ।’
कार्यदलमा संख्याबारे चित्त नबुझाएका जसपा अध्यक्ष उपेन्द्र यादवले शुक्रबारको बैठकबाट मात्रै निर्णायक टुंगो लाग्ने अनलाइनखबरलाई बताए । ‘विगतमा हामीले पाएको भोटलाई विचार गर्नैपर्छ, अनि हामी पहाडतिर पनि छौं,’ उनले अनलाइनखबरसँग भने, ‘यसलाई पनि अरु दलहरुले विचार गर्नुपर्छ ।’

यद्यपि गठबन्धनभित्र सहमति जुट्ने यादवको भनाइ छ । नेताहरुको बीचमा सिट संख्यालाई लिएर केही मनोमालिन्य रहे पनि सहमति भने नभाँडिने उनीहरुको भनाइ छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *