मलेसियामा नेपालीसहित ठुलो मानव तस्करी सञ्जाल पर्दाफास, ‘एम-जे’ मुख्य योजनाकार
2026-04-16सिंगटीमा मध्यराती जेसिभी दुर्घटना
2026-04-12संघीयता, धर्मनिरपेक्षता र लोकतन्त्रमा दायाँबायाँ गरे प्रतिकार गर्ने श्रम संस्कृति पार्टीको चेतावनी
2026-04-10
नेपालका साँस्कृतिक पर्व विदेशी आकर्षण गर्ने माध्यम : पर्यटनमन्त्री श्रेष्ठ
नेपालका साँस्कृतिक पर्व विदेशी आकर्षण गर्ने माध्यम : पर्यटनमन्त्री श्रेष्ठ
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले नेपालका सम्पदा र संस्कृति देशको पहिचान भएकाले यिनको संरक्षण र प्रवद्र्धन गर्नुपर्ने खाँचो औँल्याएका छन् । गाईजात्रा तथा रोपाइँजात्रा मूल समारोह समितिले बौद्ध स्तूप परिसरमा आयोजना गरेको गाईजात्रा तथा रोपाइँ जात्रा समारोह एवं पुरस्कार वितरण कार्यक्रममा मन्त्री श्रेष्ठले नेपालका सांस्कृतिक पर्व र जात्रा विदेशी पर्यटक आकर्षण गर्ने माध्यम भएकाले नेपाललाई अन्तर्राष्ट्रिय जगतमा पहिचान गराउन सहयोग पुग्ने विश्वास व्यक्त गरे ।
उनले नेपाल बहुभाषिक, बहुसांस्कृतिक विविधता युक्त मुलुक भएकाले यहाँको कला र संस्कृतिको संरक्षण र प्रवद्र्धन गर्नसके अन्तर्राष्ट्रिय पहिचान प्रवद्र्धनमा टेवा पुग्ने बताए । पर्यटनमन्त्री श्रेष्ठले पर्यटनको माध्यमबाटै मुलुकमा समृद्धि प्राप्त हुने भन्दै पर्यटन विकासका लागि नेचर, कल्चर र एडभेन्चरलाई संयोजन गरेर प्रवद्र्धन गरिनुपर्नेमा जोड दिए ।
उनले भने, “मुलुकको आर्थिक समृद्धिमा टेवा पुर्याउने क्षेत्र पर्यटन नै हो त्यसैले समृद्धि हासिलका लागि पर्यटनको विकास हुनुपर्छ, पर्यटनको माध्यमबाट नेपाललाई विश्वको आकर्षक गन्तव्यका रूपमा स्थापित गर्न सकिन्छ ।”
मन्त्री श्रेष्ठले मूर्त र अमूर्त सम्पदा र जात्रा एवं पर्वको संरक्षण विकासमा सरकारले उच्च प्राथमिकता दिएको उल्लेख गरे । कार्यक्रममा बागमती प्रदेशका सांसद छिरिङ दोर्जे लामाले सबै धर्मावलम्बीको उपस्थितिमा हुने जात्राले सांस्कृतिक एकता प्रदर्शन गरेको बताए ।
पूर्वराजदूत डा.गणेश योञ्जनले जात्रा देशको सांस्कृतिक पहिचान भएकाले यसको संरक्षणमा विशेष ध्यान दिइनुपर्ने खाँचो औँल्याए । बौद्धनाथ क्षेत्र विकास समितिका कार्यकारी निर्देशक नैनकुमार लामाले वर्षमा एक पटक मनाइने जात्रा वर्ष दिनमा आफन्त गुमाउने परिवारका लागि एक दिन भए पनि दुःख बिर्साउने माध्यम भएको बताए ।
बौद्ध क्षेत्रमा मनाइने प्रसिद्ध जात्रामध्ये गाईजात्रा तथा रोपाइँजात्रा ऐतिहासिक पर्व मानिन्छ । गोपालवंशी राजा हुँदै मल्ला राजा प्रताप मल्लको पालादेखि यो जात्रा प्रारम्भ भएको मानिन्छ । धार्मिक दृष्टिकोणअनुसार तीर्थस्थलमा मृतात्माले शान्ति पाओस् भनी दान, दक्षिणा, सत्बीज रोपण गर्ने चलन पाइन्छ । सोहीअनुरूप यस क्षेत्रमा रोपाइँजात्रा मनाइने गरिएको छ ।
बौद्धनाथ क्षेत्र विकास समिति र बौद्ध तामाङ कल्याण गुठीले संयोजन गरेको उक्त कार्यक्रममा गाईजात्राको प्रतीक प्रदर्शनीका साथै रोपाइँ जात्रामा पुरुषलाई सिङ्गारेर हली, बाउसे, रोपार झाँकीसहितको जात्रा प्रदर्शनी गरिएको थियो । सो अवसरमा लाखेनाच पनि देखाइएको थियो भने प्रतियोगितात्मक जात्रामा उत्कृष्टलाई नगद, मेडल र प्रमाणपत्रबाट पुरस्कृत गरिएको थियो ।






