पक्राउ पुर्जीले एक ठाउँ आइपुगेका विप्लव-धर्मेन्द्र

25Shares

१६ साउन, काठमाडौं । माओवादी, माओवाद हुँदै कम्युनिष्ट विचार समेत त्यागिसकेका बाबुराम भट्टराई एउटा मामिलामा भने आफ्ना पूर्वसहकर्मी पुष्पकमल दाहाल ‘प्रचण्ड’सँगै उभिन्छन् ।

युद्धकालका मुद्दाबारे बेला–बेला गरिने टीका टिप्पणीमा भट्टराईं प्रचण्डसँगै उभिएर प्रतिरक्षामा उत्रिन्छन् । तत्कालीन समयमा जनयुद्ध गलत थिएन भन्ने तर्क अविच्छिन्न गरिरहेका छन् ।

जनयुद्धलाई खराब नभने पनि त्यसको बिसौनी सही थिएन भनिरहने अर्काे समूहको नेतृत्वकर्ता हालसम्म मोहन वैद्यलाई नै मानिएको छ । भलै त्यो समूहमा पनि टुटफुटको श्रृंखला लामै छ ।

२०६९ मंसिरमा तत्कालीन एकीकृत नेकपा माओवादी ‘संसदीय भासमा फसेको’ आरोप लगाउँदै मोहन वैद्य ‘किरण’को नेतृत्वमा नेकपा–माओवादी गठन भएदेखि नेत्रविक्रम चन्द ‘विप्लव’ र धर्मेन्द्र बास्तोला ‘कञ्चन’ एउटै यात्रामा थिए ।

केही राजनीतिक र केही आर्थिक विचलनका आरोप एकअर्कालाई लगाउँदै २१ वैशाखयता उनीहरु अलग–अलग बाटोमा छन् । विप्लवले नेपाल कम्युनिष्ट पार्टीलाई नै चलाइरहेका छन् भने बास्तोलाले नेकपा बहुमत पार्टी गठन गरेको छन् ।

‘सहकार्य नै नगर्ने भन्ने हाम्रो छैन,हामीहरुमा राजनीतिक विषयमा कुरा नमिलेको हो । यो विषयमा संघर्ष गर्न सहकार्य हुन्छ’ नेकपा बहुमतका संयोजक धर्मेन्द्र वास्तोलाले भने ।
उनीहरु विभाजनयता एकअर्काको अस्तित्व नै नकारिरहेका छन् । जस्तो, विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीसहितका साना चार बाम दलले एमसीसी र एसपीपीविरुद्ध साउन १० देखि २१ गतेसम्मका संघर्षका कार्यक्रम सार्वजनिक गरे । उक्त कार्यक्रममा बास्तोला नेतृत्वको पार्टी पनि सहभागी हुन चाहन्थे तर विप्लवले त्यसलाई अस्वीकार गरे । यसमा असन्तुष्टि देखाउँदै वैद्य नेतृत्वको नेकपा क्रान्तिकारी माओवादी पनि कार्यक्रममा सहभागी भएन ।

१३ साउनमा नागरिकता विधेयकविरुद्ध नेकपा बहुमतसहितको सहभागितामा ६ साना बाम पार्टीले साउन २६ गतेसम्मका कार्यक्रम १३ गते सार्वजनिक गरे । तर, त्यहाँ विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी सामेल भएन ।

एक अर्काको अस्तित्व समेत नस्वीकारेका यी दुई पूर्व माओवादी नेताहरुलाई एकै ठाउँमा ल्याइपुर्‍याउन नयाँ घटना आइलागेको छ । खासमा त यो घटना पनि पुरानै हो, जसलाई केपी ओली प्रधानमन्त्री छँदाताका सरकारले बैठान गरिदिएको विप्लव समूहले अनुभूत गरेको थियो । त्यो गलत साबित भएको छ ।

ललितपुर जिल्ला अदालतले सोमबार सार्वजनिक गरेको पक्राउ पुर्जीसम्बन्धी सूचनाले उनीहरुलाई झस्काएको छ । ती नेताहरुका अनुसार यो मुद्दामा उनीहरु हातमा हात मिलाएर राज्यका विरुद्ध उभिनेछन् ।

समान बुझाइ

ललितपुर जिल्ला अदालतले सार्वजनिक गरेको ३५ दिने पक्राउ पुर्जीको सूचनामा विप्लव, खड्गबहादुर विश्वकर्मा, बास्तोलालगायत शीर्ष नेताहरुको समेत नाम राखिएको छ ।
अदालतले जारी गरेको सूचनमा विशेष गरी एकीकृत क्रान्तिको कार्यदिशा पारित गरी भूमिगत गतिविधि सञ्चालन गरेदेखि तीन बुँदे सहमति हुने बेलासम्मका घटनामा संलग्नहरुलाई समेटिएको छ । उनीहरुलाई ३५ दिनभित्र अदालतमा उपस्थित हुन भनिएको छ ।

विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका सचिवालय सदस्य सन्तोष बुढामगरका अनुसार त्यो अवधिमा पक्राउ परेका करिब ४५ अझै जेलमा छन् ।

जिल्ला अदालतको सूचनालाई दुबै समूहले २० फागुन २०७७ मा तत्कालीन केपी ओली नेतृत्वको सरकारसँग गरेको तीन बुँदे सहमति विपरीत भनेका छन् । उक्त सहमतिमा विप्लव समूहले हिंसा छाड्ने तथा सरकारले उसमाथि लगाएको प्रतिबन्ध हटाउने, बन्दीको रिहाइ र मुद्दा खारेज गर्ने लगायतका विषय समावेश थिए ।

‘हाम्रा नामका मुद्दाहरु उहिल्यै खारेज गर्नुपर्ने हो गरेको छैन, उल्टो म्याद दिएर पुर्जीहरु टाँसिरहेका छन्, विप्लव समूहका नेता बुढा भन्छन्, ‘यसले चाहिँ तीन बुँदेलाई सरकारले उल्लंघन गरिरहेको छ भन्ने देखाउँछ । यसबाट सरकारले हामीलाई फेरि द्वन्द्वतिर धकेल्न खोजिरहेको अनुभूति हुन्छ ।’

बास्तोला समूहका नेता हेमन्त प्रकाश वली पनि आफूहरुलाई तर्साउन उक्त सूचना जारि गरिएको बताउँछन् । ‘क्रान्तिकारीहरुलाई अलि तर्साउने खालको हुन सक्छ’, उनको भनाइ छ, ‘जुन तीन बुँदे सहमति भएको छ, त्यस अनुसार हामीमाथि लगाइएका मुद्दा खारेज गरेर छोड्नुपर्छ ।’

सहकार्यका लागि पनि तयार

पक्राउ पुर्जीको विषयलाई अगाडि बढाइए आफूहरु त्यसविरुद्ध संघर्षमा उत्रिने बताउँछन्, नेकपा बहुमतमा संयोजक बास्तोला ।

आफूहरु राजनीतिक कारणले छुट्टिएको भन्दै यस्तो विषयमा भने विप्लवसँग सहकार्य हुन सक्ने बताउँछन् । ‘सहकार्य नै नगर्ने भन्ने हाम्रो छैन’, उनको भनाइ छ, ‘हामीहरुमा राजनीतिक विषयमा कुरा नमिलेको हो । यो विषयमा संघर्ष गर्न सहकार्य हुन्छ ।’

विप्लव नेतृत्वको नेकपाले विज्ञप्ति जारी गर्दै तीन बुँदे सहमति पालना नगरे आफूहरु पनि चुप लागेर नबस्ने चेतावनी दिइएको छ । ‘हाम्रो पार्टी, नेतृत्व, कार्यकर्ता र तीन बुँदे सहमतिका विरुद्ध सरकार र राज्यले आज घटाएको घटनालाई तुरुन्त रोकिएन र तीन बुँदे सहमति तदारुकताका साथ कार्यान्वयन गरिएन भने हाम्रो पार्टी हातमा दही जमाएर नबस्ने चेतावनी शेरबहादुर देउवा नेतृत्वको गठबन्धन सरकार र राज्यका अधिकारीहरूलाई दिन चाहन्छौं,’ विज्ञप्तिमा भनिएको छ।

विप्लव समूहका नेता बुढामगर पनि यस्ता मुद्दाका विषयहरुमा आफूहरु बास्तोलाहरुसँग पनि मिल्ने बताउँछन् । उनी भन्छन्, ‘मुद्दाको बारेमा त हामी एकजुट भएर अगाडि बढ्छौं । राष्ट्रियता, जनतन्त्रको विषय सबैको एउटै भयो । यी विषयमा हामी सबैको राय एउटै हुन्छ ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *