यादव र भट्टराईको अलग बाटो

0Shares

यादव र भट्टराईको अलग बाटो

भट्टराई पक्षले मंगलबार काठमाडौंमा र यादव पक्षले बुधबार र बिहीबार वीरगन्जमा बोलाए कार्यकारिणी समितिको बैठक

काठमाडौँ — पार्टीभित्र विवाद उत्कर्षमा पुगेपछि जसपा अध्यक्ष उपेन्द्र यादव र संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराईले केन्द्रीय कार्यकारिणी समितिको छुट्टाछुट्टै बैठक बोलाएका छन् । भट्टराई पक्षले मंगलबार काठमाडौंमा र यादव पक्षले बुधबार र बिहीबार वीरगन्जमा बैठक बोलाएका छन् ।

यादव र भट्टराईबीच द्वन्द्व बढेपछि पार्टी विभाजनको मुखमा पुगेको छ । दुवै पक्षले आफूले बोलाएको बैठक आधिकारिक भएको दाबी गरेका छन् । वरिष्ठ नेता अशोक राई यादव पक्षको बैठकमा सहभागी हुन वीरगन्ज पुगेका छन् । उनले भट्टराई पक्षको बैठक विधानविपरीत रहेको बताए । ‘भट्टराईजीले पनि बैठक बोलाउनुभएको छ रे, जसलाई विधानले मान्यता दिँदैन,’ उनले भने, ‘यद्यपि उहाँहरूलाई सम्झाइबुझाइ पार्टीमा सरिक बनाउने सोचेका छौं ।’ उनका अनुसार बैठकका लागि स्थानीय तह निर्वाचनको समीक्षा, संसदीय बोर्ड गठन, निर्वाचन तयारी अभियान समिति गठन, केन्द्रीय समिति तथा केन्द्रीय कार्यकारिणी समिति पुनर्गठन, चुनावी तालमेल सम्बन्धमा छलफल, विधान संशोधनलगायतका एजेन्डा तय गरिएको छ ।

यता भट्टराईले भने वैकल्पिक राजनीतिक आधार तत्त्व पहिल्याउन जरुरी रहेको बताएका छन् । सकेसम्म जसपालाई रूपान्तरण गर्ने पक्षमा रहेको उनको भनाइ छ । उनले कान्तिपुरसँग कुरा गर्दै वैकल्पिक राजनीतिक शक्ति निर्माणका लागि आफ्नो पहल जारी रहेको र पार्टीभित्रको बहसलाई फगत व्यक्तित्वको टक्करका रूपमा प्रस्तुत गर्नु ठीक नभएको बताए । ‘जसपा विवादको मुद्दा ‘क्षेत्रीय कि राष्ट्रिय पार्टी ? सनातनी सत्तामुखी राजनीति कि रूपान्तरणकारी राजनीति ? एकल नेतृत्व कि समावेशी सामूहिक नेतृत्व ? विधिसंगत कि स्वेच्छाचारी कार्यशैली ? भन्ने हो, यो नै फुट होइन,’ उनले तर्क गरेका छन् ।

असार २८ र २९ मा बस्ने भट्टराई पक्षको विस्तारित बैठकले पार्टीमा एजेन्डासँगै नेतृत्वका आन्तरिक समस्यामाथि बृहत् छलफल हुने केन्द्रीय कार्यकारिणी सदस्य गंगानारायण श्रेष्ठले बताए । ‘आन्तरिक विवादमा बृहत् छलफलसँगै अरू एजेन्डामा पनि छलफल गर्छौं,’ उनले भने । अर्का केन्द्रीय कार्यकारणी सदस्य मनीष सुमनले काठमाडौंमा बैठक बोलाइएको बारे आफूलाई जानकारी नभएको बताए । केन्द्रीय कार्यकारिणी सदस्य डम्बर खतिवडाले वैकल्पिक राजनीतिक चेत बोकेको जसपाका मुद्दा उत्कृष्ट हुँदाहुँदै पनि नेतृत्वमा विवाद भएकाले फुटको संघारमा पुगेको बताए । उनले कानुनी रूपमा विभाजन नभए पनि मिल्ने सम्भावना क्षीण रहेको जनाए । ‘बैठक भइरहेको छ, तत्काल फुट्छ भन्न सक्दिनँ तर मिल्ने सम्भावना पनि क्षीण देखेको छु,’ उनले भने ।

२०७६ वैशाख २३ मा तत्कालीन संघीय समाजवादी फोरम र नयाँ शक्ति पार्टी नेपालबीच एकता भई समाजवादी पार्टी बनेको थियो । समाजवादी पार्टी २०७७ वैशाख १० मा राष्ट्रिय जनता पार्टीसँग मिलेर जसपा बनेको थियो । नेतृत्व प्रणाली समानुपातिक हुन नसकेको, पार्टी विधानअनुरूप नचलेको, अध्यक्षको एकलौटी कार्यशैली कायम रहेको लगायत विषयमा भट्टराई र यावदबीच बढ्दै गएको मनमुटावले अहिले उत्कर्ष रूप लिएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *