अलग्गै पार्टी बनाउन भट्टराईको तयारी

2Shares

केन्द्रीय समितिको विस्तारित बैठकपछि नयाँ दल दर्ता वा पहिला नै दर्ता दललाई निरन्तरता दिने प्रक्रिया सुरू गर्ने रणनीति
काठमाडौँ — जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराईको समूहले अलग्गै पार्टी निर्माणका लागि तयारी थालेको छ । जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवको सिफारिसमा प्रधानमन्त्री शेरबहादुर देउवाले सोमबार मन्त्री हेरफेर गरेलगत्तै असन्तुष्ट संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराईको समूहले केन्द्रीय समितिको विस्तारित बैठक बोलाएको छ ।

भट्टराईले पार्टी विभाजनको सम्भावना देखेपछि नै विभिन्न राजनीतिक शक्तिसँग संवाद जारी राखेका छन् । एक नेताका अनुसार उनले एमाले अध्यक्ष केपी शर्मा ओली, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरलगायतका नेतासँग सहकार्यबारे छलफल गरिरहेका छन् । दाहालसँगको संवादलाई लिएर भट्टराई पुनः माओवादीमा फर्किने चर्चा पनि चलेको छ । उपराष्ट्रपति निवासमा दाहाल र भट्टराईले पटक–पटक एक्लाएक्लै संवाद गरेको स्रोतले जनाएको छ । ‘समाजवादी केन्द्र बनाउने भनेर भएका संवाद हुन् । तर के गर्ने भन्नेबारे विस्तारित बैठकले तय गर्छ,’ भट्टराईनिकट नेता श्रेष्ठले भने ।

आफ्नो आग्रह बेवास्ता गर्दै प्रधानमन्त्री देउवाले एकलौटी रूपमा जसपाका मन्त्री हेरफेर गरेपछि भट्टराई ओली नेतृत्वको विपक्षी गठबन्धनमा जाने सम्भावना पनि रहेको एक नेताले बताए । भट्टराईनिकट ती नेताका अनुसार उक्त गठबन्धनमा एमाले, लोसपा र भट्टराईको नयाँ दल रहने सम्भावना छ । केही समयअघि एमाले उपमहासचिव पृथ्वीसुब्बा गुरुङले भट्टराईसँग भेट गरेका थिए । त्यसपछि अध्यक्ष ओलीसँग भट्टराईको संवाद भएको थियो । ‘राजनीतिमा नेताहरूबीच संवाद हुनु सामान्य हो । कुनै निष्कर्ष निस्किने गरी संवाद भएको छैन,’ गुरुङले भने । एमाले औपचारिक रूपमा जसपा विभाजनको पर्खाइमा छ ।

अर्कातिर जसपा अध्यक्ष यादवले यसअघि नै असार २७ र २८ गतेका लागि केन्द्रीय समिति बैठक बोलाइसकेका छन् । यादवले भट्टराईले बोलाएको बैठकको अर्थ नभएको दाबी गरे । ‘जसपाबाट केही मान्छे निस्केर जाने तर्खरमा छन् । उनीहरू अर्को पार्टी बनाउने या अरू कुनै पार्टीमा जाने तयारीमा छन्,’ यादवले भने । उनले भट्टराईका पक्षमा कोही सांसद नजाने दाबी पनि गरे । ‘बाबुरामजी एक्लै हो । केन्द्रीय समितिमा दुई तिहाइभन्दा बढी मान्छे जसपामै हुन्छन्,’ यादवले भने, ‘बाबुरामसँग किन जाने ? उहाँले पार्टी बनाएर पार्टी चल्छ ? जहाँ बाबुराम, त्यहाँ बबाल हुन्छ ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *