काठमाडौंमा जनताले नेताको टाउकोमा लौरो बजारियो नेतहरुले गति छाडे पछि : रामचन्द्र पौडेल

0Shares

काठमाडौँ — नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलले जनतालाई हेपेर निर्णय गर्दा कांग्रेस काठमाडौं महानगरपालिकाको मेयरमा पराजित हुनुपरेको बताएका छन् ।

नेता पौडेलले नेपाली कांग्रेस र एमालेले जनताको चाहनाविपरीत उम्मेदवार खडा गरी हेपेका कारण राजनीतिक दलको उम्मेदवार महानगरको प्रमुख बन्न नसकेको बताए । शनिबार उनले काठमाडौं महानगरपालिकाको मेयरका लागि कांग्रेस र एमाले दुवै पार्टीले अघि सारेका उम्मेदवार उपयुक्त नभएको बताएका हुन् ।

प्रमुखका उम्मेदवारहरूको कार्यक्षमताको समय सकिसकेकोले जनताले राजनीतिक दलहरुले गरेको निर्णयलाई लत्याएको उनको भनाइ थियो । ‘राजनीतिक दलहरुले जनतालाई हेपेर निर्णय गर्नुहुँदैन । कांग्रेसका नेताले पनि जनतालाई हेपेर निर्णय गरे, एमालेका नेताले पनि । एमालेका नेताले जुन निर्णय गरे त्यो पनि जनतालाई हेपेकै निर्णय थियो । किनभने जुन उम्मेदवारलाई अघि सार्नुभयो उहाँहरु उपयुक्त थिएनन् । आउटेडेट भइसकेका थिए । अहिले कांग्रेसले जे गरेको थियो त्यो पनि उपयुक्त थिएन । ती भन्दा उपयुक्त धेरै मान्छेहरु थिए,’ उनले भने, ‘मैले त्यही बेला भनेको थिएँ, महिला दिने हो भने हरिप्रभा छँदैछिन्, उपमेयरमा राम्रो काम गरेकी थिइन् । पुरुष दिने हो भने तीर्थ डंगोल छँदैछन् । उम्मेदवारी दिँदा नै वंशवादको आधारमा जो दिइयो त्यो गलत भयो । जनताले त्यसको सजाय लौरो लगाइदिए नेताको टाउकोमा । मैले त्यतिबेला पनि भनेको हो, मेरो केही लागेन । म निर्णायक ठाउँमा होइन ।’

पार्टी सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाको इशारामा पार्टीको मुख्यसचिवले टिकट पठाएको पौडेलको भनाइ थियो । यसअघिका निर्वाचनमा पनि उम्मेदवार चयनमा चुक्दा पार्टी पराजित भएको उनले स्मरण गरे । ‘त्यस्तो अतितमा पनि भएको छ । त्यसको परिणाम गत चुनावमा पनि भोगेकै हो । त्यस्ता कुरा फेरि पनि दोहोर्‍याउने हो भने के हुन्छ भन्न सकिँदैन । यस्ता घटनाबाट नेतृत्वले अब सिकेर सही किसिमको जनताले रुचाउने उम्मेदवार पार्टीले प्रस्तुत गर्नुपर्छ । पार्टी भन्दैमा जनताले मान्छन् भनेर मूर्ख निर्णय गर्नु हुँदैन ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *