टुटेफुटेको’ अङ्ग्रेजीका कारण जोकर बनेका नेताहरु ।

0Shares

टुटेफुटेको’ अङ्ग्रेजीका कारण संसदको राज्यव्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडा सोसल मिडियामा ‘ट्रोल’ बनेका छन् ।

थाङ्मीचागु डटकम सम्बादाता
बिहीबार, साउन १०, २०८१
‘टुटेफुटेको’ अङ्ग्रेजीका कारण संसदको राज्यव्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडा सोसल मिडियामा ‘ट्रोल’ बनेका छन् । बुधबार बिहान त्रिभुवन विमानस्थलमा सौर्य एयरलाइन्सको जहाज दुर्घटनापछि मिडियामाझ जानीनजानी अङ्ग्रेजीमा दिएको प्रतिक्रियाका कारण कांग्रेस सांसद खतिवडा ट्रोलरको निसानामा परेका हुन् ।  

सोसल मिडियामा फैलिरहेको भिडियोमा उनी अङ्ग्रेजीमा कनीकुथी जवाफ दिइरहेका देखिन्छन् । सुरुमा सांसद स्थानीय मिडियासँग नेपाली भाषामै कुरा गर्दै थिए । बीचमा भारतीय मिडियाको बुम देख्नासाथ उनको अङ्ग्रेजी जुरमुरायो । 

वर्ल्ड इज वान (डब्लूआईओएन) की संवाददाता सलाेनी मुखर्जीले अङ्ग्रेजीमा उनलाई सोध्छिन्, ‘तपाईंलाई दुर्घटनाको कारण के होजस्तो लाग्छ ?’

खतिवडाले अड्किँदै जवाफ दिएका छन्, ‘ठ्याक्कै के भएको हामीलाई थाहा छैन तर धेरै इन्जिनियर विमानको सी–चेक गर्न जाँदै थिए, त्यसैले दुर्घटना भयो ।’

फेसबुक, ट्विटरदेखि टिकटकसम्म उनको खिल्ली मात्र उडाइएको छैन, नजानेको भाषा र विषयमा जान्ने पल्टेको भनेर आलोचनासमेत भइरहेको छ । अङ्ग्रेजी राम्रोसँग आउँदैनथ्यो भने विदेशी मिडियाकी स्थानीय प्रतिनिधिसँग बोल्दा उनले नेपालीमै जवाफ दिन सक्थे । तर, ‘इज्जत बढाउने’ दाउ उनका लागि भारी परेको आलोचकरूको भनाइ छ ।

यसरी कनीकुथी अङ्ग्रेजी बोल्ने हुँदा ट्रोलर र आलोचकको सिकार बनेका खतिवडा एक्ला नेता भने होइनन् । यसअघि नेपालको तर्फबाट विदेशी फोरममा प्रतिनिधि बनेर गएका मन्त्रीदेखि सांसदसम्मले अङ्ग्रेजी बोल्ने होडमा इज्जत धरापमा पारेका घटना छन् । नेपालीमै आफ्नो विषय राख्न सकिने विकल्पसहितका फोरममा पनि अङ्ग्रेजी फुराउने हुँदा नेताहरू आलोचित हुनुपरेको विगत छ । तीमध्ये केही घटना यहाँ प्रसङ्गवश चर्चा गरेका छौँ । 

नेपालीमा लेखेको अङ्ग्रेजी भाषण पढ्दा डुबेका गोकर्ण विष्ट 

दुईपल्ट मन्त्री हुँदा कामकै कारण वाहवाही कमाएका एमाले नेता गोकर्ण विष्ट पछिल्लो कार्यकालमा अङ्ग्रेजीकै कारण हियाइमा परे । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्रीका रूपमा २१ जेठ २०७५ (४ जून २०१८) मा अन्तर्राष्ट्रिय श्रम संगठन (आईएलओ) मा विभिन्न देशका प्रतिनिधिमाझ उनले देवनागरी लिपिमा तयार अंग्रेजी भाषण वाचन गरेका थिए । नेपालीमा लेखेको अङ्ग्रेजी भाषण, जस्तै; ‘इन नेपाल, द लेबर एक्ट २०१८ सेट्स द रेगुलेसन्स फर स्ट्यान्डर्ड वर्किङ आवर्स ।’

अङ्ग्रेजीमा कमजोर भएकाले गुल्मीका विष्टले नेपालीमै लेखेका शब्दहरू शुद्धसँग वाचन गर्न सकेनन् । त्यो बेला उनले नेपालमा म्यानपावर कम्पनी र स्वास्थ्य परीक्षणका नाममा भएका ठगीविरुद्ध कडा कदम चालेका थिए । त्यहीबेला अङ्ग्रेजीकाे यो कमजोरीलाई असाध्यै धेरै फैलाइएको थियो ।

मातृका यादवकाे ‘इधर एन्ड उधर’

अमेरिका, बेलायतलगायत देशका लागि ‘साम्राज्यवादी’ शब्द प्रयोग गरिरहने माओवादी केन्द्रका नेता एवं तत्कालीन उद्योगमन्त्री मातृका यादव अङ्ग्रेजी भाषणमा बल गर्ने हुँदा हाँसोका पात्र बने । 

१५ र १६ चैत २०७५ मा काठमाडौंमा भएको लगानी सम्मेलनमा कनेर अङ्ग्रेजीमा लिखित भाषण दिने क्रममा यादवले भनिदिए, ‘इन पास्ट यु गो इधर एन्ड उधर फर वन जब, बट नाउ यु मस्ट नट गो इधर एन्ड उधर ।’ उनले अङ्ग्रेजी शब्द नआउँदा बीचबीचमा हिन्दीसमेत मिसाइदिए ।

एक ठाउँमा उनले अटोमेसनका बारेमा सबैलाई थाहा भएकाले यसको व्याख्या गर्न आवश्यक नरहेको भन्न खोजेका थिए, तर अङ्ग्रेजी नमिल्दा ‘यसको व्याख्या गर्न समय छैन’ भन्ने अर्थ लाग्न गयो । 

अङ्ग्रेजी नजान्दा उनले भाषणमा थुप्रै ठाउँ त्रुटि गरे । मन्त्रीको भाषण सुनिरहेका सहभागीहरू गलल हाँसेका थिए । विदेशी उद्योगीमाझ नेपालको तालुकदार मन्त्रीको हैसियतमा गरेको भाषणका कारण उनी आलोचित बने । उनले आफूसँगै देशकै बेइज्जत गरेको भन्दै सोसल मिडियामार्फत गालीगलौज गरियो । 

सोही कार्यक्रममा तत्कालीन ऊर्जामन्त्री वर्षमान पुन र भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले पनि लिखित अङ्ग्रेजी भाषण निकै असहजताका साथ वाचन गरे । कनीकुथी भनाइ राख्ने क्रममा उनीहरूले पनि कतिपय शब्दको गलत उच्चारण गरेका थिए ।

पेरिसमा विश्वेन्द्र पासवानकाे बेहाल  

सन् २०१५ (मंसिर २०७२) मा फ्रान्सको राजधानी पेरिसमा आयोजित जलवायुसम्बन्धी कार्यक्रममा अमेरिकी राष्ट्रपति बाराक ओबामा, चिनियाँ राष्ट्रपति सी चिनफिङ, भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलगायत विभिन्न देशका शीर्ष नेता सहभागी थिए । नेपालको तर्फबाट प्रधानमन्त्री केपी शर्मा ओली पेरिस जानुपर्नेमा आन्तरिक राजनीतिका कारण गएनन् । 

प्रधानमन्त्रीको ठाउँमा जनसंख्या तथा वातावरणमन्त्री विश्वेन्द्र पासवान पेरिस पुगे । सहभागितासम्म ठीकठाकै थियो तर उनको भाषण ठीकठाक रहेन । कार्यक्रममा उनले नेपालीमा लेखिएको अंग्रेजी भाषण वाचन गरेका थिए । निकै अप्ठेरोसाथ भाषण पढेका उनले धेरै शब्द शुद्धसँग उच्चारण नै गर्न सकेनन् ।

कार्यक्रमको अघिल्लो दिन उनले आफूलाई अङ्ग्रेजी नआउने बताएपछि कर्मचारीहरू बिलखबन्दमा परेका थिए । अरु कुनै उपाय नदेखिएपछि हतारहतार अङ्ग्रेजी भाषणलाई नेपालीमा तयार गरिएको थियो । त्यही पढ्दा पनि मन्त्री पासवानले धेरै ठाउँमा बिगारिदिए । त्यहाँ उनीसित नेपालीमै आफ्ना कुरा राख्न पाउने सुविधा थियो । तर, नजानेको अङ्ग्रेजीमा बल गरेर देशको बेइज्जत गरेको भन्दै उनको आलोचना भएको थियो । 

भाषण सकिएको थाहा नपाएका मन्त्री तातेड

२०६८ सालमा बाबुराम भट्टराई नेतृत्वको सरकारका वातावरणमन्त्री थिए, हेमराज तातेड । त्यो वर्ष भुटानको राजधानी थिम्पुमा जलवायु परिवर्तनसम्बन्धी सम्मेलन थियो । नेपालको प्रतिनिधित्व गर्दै पुगेका मन्त्री तातेडले अङ्ग्रेजीमा लेखिएको भाषण सकिएर धन्यवाद दिएपछि फेरि सुरुबाट त्यही भाषण पढेका थिए । 

भुटानका प्रधानमन्त्री जिग्मे थिन्ले, भारत, बंगलादेशका तालुकदार मन्त्री सहभागी कार्यक्रममा आफ्नो बोल्ने पालो आएपछि मन्त्री तातेड पोडियममा पुगे । त्यसपछि गोजीबाट लिखित भाषण निकालेर पढ्न थाले । पढिसकेर उनले धन्यवाद पनि भने । तर, फेरि उनी त्यही भाषण सुरुदेखि पढ्न थाले । 

कर्मचारीले लेखिदिएको प्रिन्ट भएको दुई प्रति भाषण हतारमा खल्तीमा हालेर उनी कार्यक्रममा पुगेका थिए । त्यसैले पहिलो प्रति पढेर सकिएर धन्यवाद भन्दासमेत उनले थाहा पाएनन् । अर्को प्रति दुई/तीन हरफ पढिसकेपछि उनी रोकिए र कुनै क्षमयाचना नगरी मञ्चबाट ओर्लिए । 

जान्ने छु भन्ने पुष्टि गर्न खोज्दा ज्ञानेन्द्र शाही

एक वर्षअघि राप्रपा सांसद ज्ञानेन्द्र शाहीको अङ्ग्रेजी ‘भाइरल’ बन्यो । आफू अङ्ग्रेजीमा जान्ने छु भन्ने कुरा पुष्टि गर्न खोज्ने हुँदा उनी ट्रोल बनेका थिए । उनी अस्ट्रेलियाको प्रदेश संसदमा एक जना विदेशीसँग दोभासे राखेर नेपालीमा बोलिरहेको भिडियो सोसल मिडियामा आएपछि उनलाई अंग्रेजी नआउने भनेर खिल्ली उडाइयो । 

जवाफमा उनले राष्ट्रियता, भाषा, परम्पराको हवाला दिइहेरे । तैपनि, सोसल मिडिया नरोकिएपछि आफ्नो अङ्ग्रेजी पुष्टि गर्न उनले एक युट्युबमा अन्तर्वार्ता दिए । आफूलाई अङ्ग्रेजी आउँदैन भनेर खिसीटिउरी गर्नेको मुखको बुझो लगाउने उनको प्रयास थियो । तर, त्यही अङ्ग्रेजीले ट्रोलरलाई अर्को मसला दियो । उनी थप हाँसोको पात्र बन्न पुगे । अशुद्ध उच्चारण, व्याकरणसहित उनले कनीकुथी भनेका थिए, ‘आई क्यान टक टु स्पिक इङ्ग्लिस, बट आई डन्ट लाइक अ इङ्लिस ।’ 

निकै लामो समय सोसल मिडियाले उनको यो इङ्लिसमा रमाइलो गर्‍यो । फेरि पनि कतिपयले सांसदको हैसियतमा शाहीको सोचाइ, क्षमता र शैलीप्रति प्रश्न उठाए । उनले अङ्ग्रेजी नआएर इज्जत नघट्ने आफ्नो पूर्ववत् तर्कमै कायम रहनुपर्थ्यो भन्नेहरू धेरै थिए । 

अरु थुप्रै पात्र 

माथि चर्चा गरिएका मन्त्री र सांसद त प्रतिनिधि पात्र मात्र हुन् । नेपालीमै हुने ठाउँमा आफूलाई नआउने अङ्ग्रेजी भाषामा कनीकुथी बोल्न खोज्ने हुँदा हाँसोका पात्र बनेका मन्त्री, सांसदहरू अरु पनि छन् । 

बरु अङ्ग्रेजी आउनेहरू मातृभाषामा बोल्छन् 

राम्रोसँग नआउने अङ्ग्रेजी बोल्न खोजेर बेलाबखत हाँसोको पात्र बन्ने गरेका नेपाली नेताले चीन, जापान, अधिकांश युरोपेली देश, ल्याटिन अमेरिका र एसिया प्यासिफिकका कतिपय नेताबाट सिक्नुपर्ने जानकारहरू बताउँछन् । यी क्षेत्रका अधिकांश नेता अङ्ग्रेजी जानेर पनि मिडियालाई दिने अन्तर्वार्तादेखि ठूला मञ्चहरूमा आफ्नै मातृभाषामा सम्बोधन गर्छन् । 

जस्तो कि, विश्व शक्तिराष्ट्र चीनका राष्ट्रपति सी चिनफिङ अन्तर्राष्ट्रिय फोरममा प्राय: चिनियाँ भाषामै भाषण दिन्छन् । अमेरिकासँग चीर सम्बन्ध भएको इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले अङ्ग्रेजीमा राम्रै दख्खल राखे पनि अन्तर्राष्ट्रिय मञ्चमा हिब्रु (आफ्नो मातृभाषा) मा भाषण गर्छन् । 

हाम्रा मन्त्री र सांसदले कहिलेकाहीँ लेखेकै भाषणसमेत पढ्न नजानेर बिगार्ने गरेका छन् । किनकि, उनीहरू यसका लागि पर्याप्त तयारी नै गर्दैनन् । एकातिर अङ्ग्रेजी राम्रोसँग नजान्नु, अर्कातिर यही भाषामा भाषण दिने भए यसका लागि पर्याप्त तयारी नगर्नु नै उनीहरूको कमजोरी हुने गरेको छ । 

अङ्ग्रेजीमै बोल्न चाहनेले प्रयास गर्दा असम्भव छैन भन्ने उदाहरण हुन् हालका प्रधानमन्त्री केपी ओली । स्वअध्ययन र अभ्यासबाटै उनले विभिन्न विदेशी फोरममा भाषण, मिडियामा अन्तर्वार्ता दिने गरेका छन् । मन्त्री मातृका हाँसोको पात्र बनेको लगानी सम्मेलनमा ओलीले अङ्ग्रेजीमा दिएको भाषणकै कारण तारिफ पाएका थिए ।

अङ्ग्रेजी बोलिने देश अमेरिकाकै तत्कालीन राष्ट्रपति बाराक ओबामाले लेखिएको भाषणमा निकै तयारी गर्ने गरेको लेख प्रकाशित भएको थियो । लिखित भाषण उनी राम्रोसँग हेरेर सच्याउँथे । यसका लागि पर्याप्त रिहर्सल गर्थे । तर, नेपालमा यस्तो मिहिनेत र धैर्यता भएका नेता निकै कम रहेका जानकारहरू बताउँछन् ।  

परराष्ट्र मन्त्रालयमा लामो समयदेखि काम गरिरहेका एक अधिकारी भन्छन्, ‘हामीकहाँ त भोलि कार्यक्रम छ भने मन्त्रीले आज राति अङ्ग्रेजीमा भाषण लेखिदिनुपर्‍यो भन्छन् । लेखेको भाषणलाई राम्रोसँग नपढी मञ्च चढिदिन्छन् । हेमराज तातेड हुन् वा विश्वेन्द्र पासवान, यही कारण समस्यामा परेका हुन् ।’ उनका अनुसार, अरुको मातृभाषा उनीहरूले जस्तै हुबहु बोल्नुपर्छ भन्ने छैन तर अनर्थ नलाग्ने किसिमको हुनुपर्छ । यहाँ अङ्ग्रेजीलाई बौद्धिकता र इज्जतसँग समेत जोडेको पाइन्छ । तर, अंग्रेजी नजानेर इज्जत घट्दैन । 

अन्तर्राष्ट्रिय फोरममा अङ्ग्रेजीमै बोल्नुपर्छ भन्ने बाध्यता पनि हुँदैन । आफूलाई जुन भाषामा सहज हुन्छ, त्यही भाषामा वा प्रविधिको सहयोगमा अनुवादको व्यवस्था गरेर पनि आफ्ना कुरा राख्न पाइने सुविधा छ । ‘नजान्नु अपराध नभए पनि जान्दिनँ भन्दाभन्दै जबर्जस्ती गर्नु मूर्खता हो,’ ती अधिकारीले भने । 

सांसद खतिवडा कुनै दिन देशको मन्त्री हुने लक्ष्यका साथ राजनीतिमा सक्रिय छन् । यसको अर्थ कुनै दिन उनी देशको प्रतिनिधित्व गर्दै अन्तर्राष्ट्रिय फोरममा सहभागी हुन सक्छन् । विगतमा मन्त्री, सांसदको अङ्ग्रेजी होडले निम्त्याएको आपत् र विमानस्थलमा अङ्ग्रेजीमा कनीकुथी मिडियालाई प्रतिक्रिया दिँदा परेको अप्ठेरो उनका लागि पाठ बनोस् । सांसद खतिवडा किन ट्रोल बने भनेर अरु नेताले पनि चिन्तन गरून् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *