न्यूरोडका फुटपाथबाट किन उखेलियो विरूवा?

0Shares

न्यूरोडका फुटपाथबाट किन उखेलियो विरूवा?

थाङमिचागु डटकम संवाददाता

काठमाडौंको न्यूरोड क्षेत्रका फुटपाथमा सारिएका विरूवा उखेलिएको छ।

न्यूरोडका फुटपाथमा रहेका विरूवा तीन दिनअघि उखेलिएको हो।

काठमाडौं महानगरपालिका वडा नम्बर २२ का अध्यक्ष चिनीकाजी महर्जनका अनुसार न्यूरोड फुटपाथका विरूवा अन्यत्रै स्थानान्तरण गरिएको छ।

सहर हरियाली बनाउन भन्दै वडा कार्यालयले दुई महिना पहिले फुटपाथमा विरूवा सारेको थियो।

महर्जनका अनुसार न्यूरोड गेटदेखि जुद्ध सालिकसम्म एक सय वटा विरूवा सारिएको थियो।

‘न्यूरोड क्षेत्र हरियाली बनाउने  उद्देश्यले विरूवा रोपेका थियौं, तर फुटपाथ फराकिलो बनाउनुपर्ने भएकोले ती विरूवा न्यूरोडबाट अन्यत्रै स्थानान्तरण गरिएको छ

मेयर बालेन शाहले न्यूरोड क्षेत्रका फुटपाथ विस्तार गर्नुपर्ने बताइरहेका छन्। यसका लागि महानगरले काम पनि सुरू गरेको थियो। तर सडक विभागसँग टसल देखिएपछि यो काम रोकिएको थियो। महानगरले फुटपाथ विस्तार गर्न भन्दै न्यूरोड क्षेत्रका सडक काटेको थियो। तर सडक विभागले काटिएका सडक कालोपत्र गरिसकेको छ।

‘मेयरले न्यूरोडका फुटपाथ साँघुरो भयो भन्नुभएको छ, त्यसैले विरूवा हटाएका हौं,’ उनले भने, ‘फुटपाथका छेवैका विरूवा हटाएपछि मानिस हिँड्न अलि ठाउँ हुन्छ, फुटपाथ विस्तार गर्न पर्दैन कि भनेर विरूवा हटाएको हो।’

उनकाअनुसार कुमारीको आँखा र काण्ठमण्डपका चित्र कोरिएका न्यूरोड क्षेत्रका रेलिङ पनि हटाउने तयारी छ।

‘फुटपाथमा विरूवा लगाएको र रेलिङ पनि राखेकोले साँघुरो भएको हो कि भन्ने लागेर हटाउन खोजेको हो,’ उनले भने, ‘न्यूरोडबाट ती विरूवा विभिन्न विद्यालय, सुन्धारा, खिचापोखरीलगायत ठाउँमा सारिएको छ, कुनै विरूवा खेर गएको छैन।’ 

Leave a Reply

Your email address will not be published. Required fields are marked *