ब्याजदरविरुद्ध कालो वस्त्र लगाएर सडकमा उत्रिए विराटनगरका व्यवसायी !!!

0Shares

ब्याजदरविरुद्ध कालो वस्त्र लगाएर सडकमा उत्रिए विराटनगरका व्यवसायी !!!
विराटनगर — चर्को बैंक ब्याज घटाउन र कर्जा निक्षेप अनुपातको प्रावधान खारेजीको माग गर्दै पूर्वका उद्योगी व्यवसायी बुधबार सडकमा उत्रिएका छन् । उनीहरुले दुई साताभित्र आफ्ना मागमा सुनुवाइ नभए सशक्त आन्दोलन गर्ने चेतावनी दिएका छन् । आन्दोलनको पहिलो चरणमा बुधबार मोरङ व्यापार संघ, उद्योग संगठन र नेपाल उद्योग परिसंघका पदाधिकारीले संयूक्त रुपमा कालो वस्त्र लगाएर मौन र्‍याली प्रर्दशन गरे ।

साथै राष्ट्र बैंकको विराटनगर शाखा निर्देशक मिना पाण्डे र मोरङका प्रमुख जिल्ला अधिकारी काशीराज दाहालमार्फत् प्रधानमन्त्री शेरबहादुर देउवा र राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई ज्ञापन पत्र पठाएका छन् । आफ्ना मागप्रति प्रधानमन्त्री र राष्ट्र बैंकका गभर्नर १५ दिनसम्म गम्भीर नभए सशक्त सडक आन्दोलन गर्ने मोरङ व्यापार संघका अध्यक्ष नविन रिजाल, उद्योग संगठनका अध्यक्ष सुयस प्याकुरेल र परिसंघका अध्यक्ष भीम घिमिरेले चेतावनी दिए ।
त्यसैगरी नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश १ ले पनि मंगलबार प्रमुख जिल्ला अधिकारीमार्फत् प्रधानमन्त्री र गर्भनरलाई ज्ञापन पत्र पठाएका छन् । बढ्दो उत्पादन लागत, ब्याजदर वृद्धि, तरलताको समस्या, वाह्य कारणबाट भएको मूल्यवृद्धिजस्ता समस्याले औद्योगिक क्षेत्र समस्यामा परेको व्यवसायीको भनाइ छ । चर्को ब्याज वृद्धिका कारण उद्योग र व्यवसाय नै बन्द गर्नुपर्ने बाध्यात्मक अवस्था सिर्जना भएकाले राष्ट्र बैंकलाई दवाव दिन सडकमा उत्रिन बाध्य भएको रिजालले बताए । आर्थिक वर्ष २०७८/७९ को मौद्रिक नीतिबाट निक्षेपमा ९० प्रतिशत रकम मात्र लगानीयोग्य पुँजी (सीडी रेसियो) कायम गरेकाले सोलाई बढाउनुपर्ने व्यवसायीको माग छ ।

नगद मौज्दात अनुपात (सीआरआर)मा यसै वर्षदेखि भएको १.५ प्रतिशत वृद्धिले थप लगानीयोग्य रकम राष्ट्र बैंकमा थन्किएकाले तत्काल यसलाई घटाएर लगानीयोग्य रकम वृद्धि गर्न व्यवसायीले माग गरेका छन् । निक्षेप सुरक्षण सीमामा भएको वृद्धिका कारण बैंंक तथा वित्तीय संस्थाको लागत खर्च बढेकाले त्यसलाई न्यूनीकरण गरी आधार दर कम गराउन राष्ट्र बैंकले भूमिका निर्वाह गर्नुपर्ने, आधार दर र ब्याजदर वृद्धि समान रुपमा हुनुपर्ने सैद्धान्तिक नीतिको पालना नभएकाले तत्काल सुधार गर्नुपर्ने, आधार दर बढ्दैमा प्रिमियम बढाउन नपाउने व्यवस्थालाई कडाइका साथ लागू गरिनुपर्ने माग व्यवसायीको छ । र्‍याली पछि राष्ट्र बैंकको गेटमा आयोजित कोणसभामा उद्योग संगठनका अध्यक्ष सुयस प्याकुरेलले उद्योग क्षेत्रमा छाएको मन्दीका बाबजुद बैंकको एकतर्फी नाफा बढ्नु राम्रो संकेत नभएको उल्लेख गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *