पपुलर भोटको संकेत : समानुपातिकमा ६ दललाई मात्र सिट

2Shares

यसरी हेर्दा अहिलेको पपुलर मतमा उल्लेख्य वृद्धि गर्न नसक्ने हो भने आगामी निर्वाचनमा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) र जनमत पार्टी, नेपाल मजदुर किसान पार्टी (नेमकिपा), राष्ट्रिय जनमोर्चा, नागरिक उन्मुक्ति पार्टी, जनता प्रगतिशील पार्टी, विवेकशील साझा पार्टी लगायतले समानुपातिकमा सिट पाउने छैनन् ।

१० साउन, काठमाडौं । निर्वाचन आयोगले स्थानीय तह निर्वाचनमा दलहरुले पाएको पपुलर मत सार्वजनिक गरेको छ, जसमा नेपाली कांग्रेसले सबैभन्दा धेरै मत पाएको छ ।

३० वैशाखमा भएको स्थानीय चुनावमा देशभरका स्थानीय तहमा प्रमुख (मेयर/अध्यक्ष), उपप्रमुख (उपमेयर÷उपाध्यक्ष), वडाध्यक्ष, खुला सदस्य, महिला सदस्य र दलित महिला सदस्य गरी सात (७) पदका लागि मतदान भएको थियो ।

आयोगले दलीय रुपमा प्रमुख, उपप्रमुख र वडाध्यक्ष पदका उम्मेदवारहरुले पाएको मत सार्वजनिक गरेको छ । एक आयुक्तका अनुसार तुलनात्मक रुपमा वडाध्यक्षका उम्मेदवारहरुले पाएको मतलाई पपुलर मत मान्न सकिने देखिन्छ ।

‘प्रमुख उपप्रमुखमा प्रमुख दलहरुले धेरथोर सिटमा तालमेल गरेका छन्, एउटाको भोट अर्कोलाई गएको छ’, ती आयुक्त भन्छन्, ‘वडाध्यक्षमा कम तालमेल भएकाले तुलनात्मक रुपमा यसलाई पपुलर भोट मान्न सकिन्छ ।’

उनका अनुुसार सबै पदमा पाएको मत विश्लेषण गर्दा कांग्रेस र एमाले हारहारीका शक्ति हुन् । उनीहरुबीच २०७४ को चुनावमा झैं थोरै मतको मात्र अन्तर भएकाले को ठूलो भन्ने बहसतिर आफूहरुको रुची नभएको ती आयुक्त बताउँछन् । तर पपुलर भोटले आसन्न प्रतिनिधिसभा निर्वाचनको समानुपातिक प्रणालीतर्फ कुन दलको अवस्था के हुन्छ भन्ने प्रष्ट संकेत गरेको उनी बताउँछन् ।

कुन दलको कति मत ?

निर्वाचन आयोगका अनुसार वडाध्यक्ष पदमा एक करोड १५ लाख ४० हजार ३८ मत सदर भएको छ । कांग्रेसले ३९ लाख ५६ हजार १९३ मत पाएको छ, जुन सदर मतको ३४.२८ प्रतिशत हो ।

नेकपा एमालेले ३८ लाख ११ हजार ६०२ अर्थात ३३.०३ प्रतिशत मत पाएको छ भने माओवादी केन्द्रले १५ लाख तीन हजार २४७ अर्थात १३.०३, जनता समाजवादी पार्टी (जसपा) ले पाँच लाख ७७ हजार ३८० अर्थात पाँच प्रतिशत मत पाएको छ । एकीकृत समाजवादीले चार लाख २२ हजार ७३७ अर्थात ३.६६ र राप्रपाले तीन लाख ६४ हजार १६० अर्थात ३.१६ प्रतिशत मत पाएको छ ।

अन्य कुनै पनि दलले तीन प्रतिशत मत कटाएका छैनन् । अर्थात पपुलर मतको ट्रेण्डमा ठूलो हेरफेर नआए आगामी प्रतिनिधिसभा निर्वाचनमा ६ दलले मात्र समानुपातिकतर्फ सिट प्राप्त गर्ने छन् ।

किनकी प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन २०७४ को दफा ६० ले समानुपातिकतर्फ तीन प्रतिशतको थ्रेस होल्ड कायम गरेको छ । दफा ६० को उपदफा ११ मा भनिएको छ, ‘समानुपातिक निर्वाचनतर्फको कुल सदर मतको तीन प्रतिशत वा सो भन्दा बढी मत प्राप्त गर्ने दलको तर्फबाट मात्र उम्मेदवार निर्वाचित हुनेछ ।’

यसरी हेर्दा अहिलेको पपुलर मतमा उल्लेख्य वृद्धि गर्न नसक्ने हो भने आगामी निर्वाचनमा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) र जनमत पार्टी, नेपाल मजदुर किसान पार्टी (नेमकिपा), राष्ट्रिय जनमोर्चा, नागरिक उन्मुक्ति पार्टी, जनता प्रगतिशील पार्टी, विवेकशील साझा पार्टी लगायतले समानुपातिकमा सिट पाउने छैनन् ।

यसमध्ये पनि लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)ले थोरै मत बढाउने हो समानुपातिकमा सिट पाउने सम्भावना छ । लोसपाले वडाध्यक्ष पदमा दुई लाख ४४ हजार ८८२ मत पाएको छ, जुन कुल मतको २.२१ प्रतिशत हो । जनमत पार्टीले एक लाख १५ हजार ३५ मत पाएको छ, यो एक प्रतिशत मात्र हो ।

अन्य दलले एक प्रतिशत पनि मत नपाएकाले समानुपातिकको थ्रेसहोल्ड कटाउन निकै मिहिनेत गर्नुपर्ने देखिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *