गोरखामा राष्ट्रिय परिचयपत्रको विवरण दर्ता अब वडाबाटै

24Shares

९ साउन, गोरखा । गोरखामा राष्ट्रिय परिचयपत्र बनाउनका लागि अब जिल्ला प्रशासन कार्यालय धाउनु नपर्ने भएको छ । राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले पालिकाको प्रत्येक वडामा परिचयपत्रको लागि विवरण दर्ता अभियान सञ्चालन गर्ने भएको छ ।

विभागको आयोजनामा सोमबार जिल्ला प्रशासन कार्यालयमा अभियान सम्बन्धी अभिमुखीकरण कार्यक्रम समेत भएको छ । कार्यक्रममा प्रत्येक स्थानीय तहका प्रमुख एवं उपप्रमुख, प्रमुख प्रशासकीय अधिकृत, राजनीतिक दलका प्रतिनिधि सहभागी थिए ।

प्रमुख जिल्ला अधिकारी शंकरहरि आचार्यले छिट्टै राष्ट्रिय परिचयपत्रका लागि विवरण दर्ता अभियान सञ्चालन गर्ने बताए । ‘सम्भवतः यो हप्ताभित्रै अभियान सुरु गर्छाै’ उनले भने, ‘प्रत्येक पालिकाको वडा–वडामा स्टेशन राखेर विवरण दर्ताको काम हुन्छ ।’ एउटा वडामा दुई वटा स्टेशन राखिने जानकारी दिदै उनले थपे, ‘एउटा वडाको काम दश दिनमा सक्ने लक्ष्य लिएका छौं ।’

उनका अनुसार एक पटकमा दुई पालिकामा अभियान सञ्चालन हुनेछ । अभियानका लागि आवश्यक कम्प्यूटर अपरेटर विभागले पठाउने छ भने रुजुका लागी सम्बन्धित वडाको सचिव खटिने छन् ।

विवरण दर्ताका लागि आवश्यक जनशक्ति सम्बन्धित स्थानीय तहले गर्नेछन् । ‘पालिकामा सञ्चालन हुने अभियानमा विवरण दर्ता मात्र हुन्छ, ती विवरण यहाँ ल्याएर परिचयपत्र नम्बर हामी यही प्रशासन कार्यालयमा जेनेरेट गर्छौं’ उनले भने ।

तत्काल परिचयपत्र आवश्यक पर्नेहरुले भने प्रशासन कार्यालयमा आएर बनाउन सक्ने उनले जानकारी दिए । पालिकाहरुमा अभियान सञ्चालनको क्रममा पनि प्रशासन कार्यालयमा राष्ट्रिय परिचयपत्रको काम नियमित भइरहने कार्यालयले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *