संघीयता बलियो बनाउने बाटो

0Shares

संघीयता बलियो बनाउने बाटो

अन्तरिम संविधान, २०६३ मै व्यवस्था गरेर मुलुक संघीय प्रणालीमा गएको हो, तर त्यसको कार्यान्वयन भने नेपालको संविधान, २०७२ आएको दुई वर्षपछि भएको निर्वाचनमार्फत मात्र भयो । २०७४ मा भएका तीन तहका निर्वाचनले मुलुकमा एउटा संघीय सरकार, सातवटा प्रादेशिक सरकार र ७५३ वटा स्थानीय सरकार चुनेपछि संघीयताको व्यावहारिक अभ्यास सुरु भएको हो । त्यसको पनि पाँच वर्ष बितिसकेको छ, बित्दै छ । राष्ट्रको जीवनमा पाँच वर्ष कुनै ठूलो कालखण्ड नभए पनि संघीयता कसरी अभ्यास गरियो र यसमा के–के बाधा/अप्ठ्यारा देखिए भन्ने समीक्षा गर्दै आगामी दिनमा गर्नुपर्ने सुधारको खाका कोर्ने समय भने अब आइसकेको छ ।

गत शनिबार कान्तिपुर मिडिया ग्रुपले मधेश प्रदेशको राजधानी जनकपुरमा ‘मधेस मन्थन’ कार्यक्रम आयोजना गर्‍यो, त्यसमा विभिन्न समसामयिक विषयमा विमर्श भए पनि छलफलको केन्द्रमा भने संघीयता, यसको अनुभव र आगामी दिनमा गर्नुपर्ने सुधारजस्ता विषय थिए । मधेश आन्दोलनको बलमा संघीयता स्थापना भएको सन्दर्भमा यसको संस्थागत कसरी भइरहेको छ भन्नेबारे त्यही प्रदेशको अनुभव विशेष चाखलाग्दो हुने नै भयो । मधेशका मुख्यमन्त्री लालबाबु राउतले सटीक टिप्पणी गरे, ‘संघीयता अनिच्छित शिशुजस्तो भएको छ, मार्न/फाल्न पनि नसक्ने र हुर्काउन पनि नचाहने ।’ संघीय सरकारले विगत पाँच वर्षमा संघीयताप्रति गरेको बेवास्तालाई राउतको यो एक वाक्यले राम्रोसँग अभिव्यक्त गर्छ  ।

हुन पनि पाँच वर्षको अभ्यास हेर्दा संघीय सरकारले प्रदेशको क्षेत्राधिकारमा निरन्तर हस्तक्षेप गरिरहेको देखिन्छ । संघले कानुन र संरचना केही नबनाइदिएका कारणले प्रदेशको काम रोकियो, कर्मचारीको भर्ना र सरुवामा समेत संघको नियन्त्रण रहँदा यो पाँच वर्षमा सातैवटा प्रदेशले असहयोग भोगे । संघीयता कार्यान्वयनका लागि संघले करिब ६ दर्जन, प्रदेशले करिब पाँच दर्जन र स्थानीय तहले करिब तीन दर्जन जति कानुन बनाउनुपर्छ । तर, संघीय कानुनसँग बाझिने गरी प्रदेश कानुन बनाउन नपाइने कारणले प्रदेशहरूले आफ्ना लागि कानुन बनाउन पनि संघको कानुन पर्खिनुपर्ने अवस्था आयो । अर्कोतर्फ संघले बनाएका कानुन संघीयता अनुकूल छैनन् । प्रदेशको अधिकार कटौती गर्ने तर संविधानले चिन्दै नचिन्ने प्रमुख जिल्ला अधिकारी (सीडीओ) लाई बलियो भूमिका दिनेगरी कतिपय कानुन बनाइएका छन् । संघको यस्तो नीतिले जिल्ला प्रशासन कार्यालयहरूलाई प्रदेशमा समानान्तार शक्ति अभ्यास गर्ने केन्द्र बनाएको छ । यसले काठमाडौंको राजनीतिक–प्रशासनिक नेतृत्वले प्रदेशहरूलाई हिजोका विकास क्षेत्रभन्दा बढ्ता बनाउन नचाहेको भनी लाग्दै आएको आरोपमा बल दिन्छ । संघीयता कार्यान्वयन गर्न संघीय सरकारले प्रदेशका अप्ठ्यारा फुकाउन सहयोग गर्नुपर्नेमा संघीय सरकार नै मुख्य अवरोधकको रूपमा देखा परेको छ ।

अर्कोतर्फ संघीय सरकारले प्रदेशका अधिकारमाथि हस्तक्षेप गर्ने प्रयास गरिरहँदा प्रादेशिक सरकारहरूले त्यसविरुद्ध सशक्त प्रतिवाद गरेको पनि देखिँदैन । मधेश प्रदेशले संघीय हस्तक्षेपविरुद्ध सर्वोच्च अदालतको संवैधानिक इजलासमा ६ वटा मुद्दा हालेको छ तर बाँकी प्रदेशहरूले केही नगरेबाट उनीहरूले संघको हस्तक्षेपलाई स्वीकार गरेको जस्तो पनि देखिन्छ । कानुनतः विवादको निरूपण गर्ने संवैधानिक इजलास वा संघ र प्रदेशबीच तथा प्रदेश–प्रदेशबीच उत्पन्न राजनीतिक विवाद समाधान गर्न भनी संविधानले कल्पना गरेको अन्तरप्रदेश परिषद्जस्ता निकायहरू सक्रिय भएका छैनन् । परिषद्को अध्यक्षता गर्ने प्रधानमन्त्रीले त्यसको बैठक बोलाउन आवश्यक सम्झेका छैनन् भने प्रदेश सरकारले पनि परिषद्को बैठक माग गर्न सकेको देखिँदैन । यसरी संघ, प्रदेश र स्थानीय तहबीच संविधानले चिन्ने संयन्त्रमार्फत हुनुपर्ने संवाद टुटेको देखिन्छ ।

साथै, प्रदेशहरूले पनि संघीय सरकारका बेथितिलाई स्थानीयकरण गरेको जस्तो देखिन्छ । केन्द्रीकृत व्यवस्थामा राजकीय शक्ति र राज्य संयन्त्रमा निश्चित क्षेत्र, धर्म, जात र लिंगका मानिसको मात्र वर्चस्व रहेकोजस्ता समस्याबाट अहिलेका प्रदेशहरू पनि मुक्त छैनन् । जति नै समानुपातिक समावेशी सिद्धान्त लागू गरिएको भनिए पनि प्रदेशको राजनीति निश्चित शक्ति समूहका व्यक्तिको नियन्त्रणमा छ । प्रदेशभित्रका विविधताको प्रतिविम्ब त्यहाँको राजनीतिमा देखिँदैन । संघीयतापछि मधेश वा अन्य प्रदेशको शक्ति संरचनामा कुनै परिवर्तन आएको छैन । त्यहाँको समाजमा स्थापित शक्ति समीकरण बदलिएको छैन । जसका कारण हिजो सिंहदरबारलाई सोधिने प्रश्न अब बिस्तारै प्रदेशतिरै फर्कने अवस्था पनि आएको छ ।

प्रशासनिक रूपमा मात्र नभएर दलहरूको सांगठनिक संरचना पनि संघीयता अनुकूल देखिँदैन । स्थानीय तहका मेयर/उपमेयरदेखि प्रदेश सभा सदस्य, प्रदेशका मुख्यमन्त्री/मन्त्री पनि पार्टीका केन्द्रीय कमिटी वा त्यो तहका नेताहरूले निर्णय गर्ने अभ्यास देखिएको छ । यस्तो अभ्यासले काठमाडौंको मुख ताक्नुलाई स्थानीय/प्रदेशस्तरमा समेत अनिवार्य बाध्यता बनाइदिएको छ । अर्कोतर्फ, प्रदेशहरूले गरिरहेको शासन पनि सिंहदरबारको भन्दा फरक छैन । मन्त्रालय, विभाग तथा कार्यालयहरू संघीय सरकारकै विस्तारित रूपजस्ता देखिन्छन् । संघकै नाम र कार्यक्षेत्र भएका बाहेक प्रादेशिक आवश्यकतामा मन्त्रालय स्थापना गर्ने तर काठमाडौंमा स्थापित मन्त्रालय नबनाउने सोच कोही मुख्यमन्त्रीमा देखिएको छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *