बंगलादेशमा आन्दोलन चर्कियो हिंसा र आगजनीका घटनाले जनजीवन प्रभावित
2026-11-20विद्या भण्डारीको सन्देश : प्रतिशोधको राजनीति त्यागेर सहकार्यको बाटो रोजौँ ।।।
2026-11-19
बंगलादेशमा आन्दोलन चर्कियो हिंसा र आगजनीका घटनाले जनजीवन प्रभावित
थाङमिचागु डटकम संवाददाता
चरिकोट दोलखा

ढाका, २० नोभेम्बर २०२६। बंगलादेशमा पूर्वप्रधानमन्त्री शेख हसिनाको अवामी लिग पार्टीका समर्थकहरूले गरेको प्रदर्शन र देशव्यापी बन्द आह्वानपछि राजनीतिक तनाव चुलिएको छ। आन्दोलनका क्रममा विभिन्न स्थानमा झडप, आगजनी र तोडफोडका घटना भएका छन्।
पूर्वप्रधानमन्त्री शेख हसिनाले आगामी डिसेम्बरमा भारतबाट स्वदेश फर्किने इच्छा व्यक्त गरेपछि उनको पार्टीले सरकारविरुद्ध प्रदर्शन तथा बन्द कार्यक्रम सञ्चालन गरेको हो। सरकारले हसिनाको पासपोर्ट तथा परिचयपत्रसम्बन्धी माग अस्वीकार गरेपछि विवाद थप चर्किएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्।
प्रदर्शनका क्रममा गोपालगञ्जमा प्रहरी कार्यालयमा आगजनी भएको छ भने चट्टोग्रामस्थित नोबेल शान्ति पुरस्कार विजेता मोहम्मद युनुसको पैतृक घरमा समेत आगलागी भएको छ। घटनामा परिवारका सदस्यहरू सुरक्षित रहेको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार आन्दोलन र झडपका घटनामा सत्तारूढ दलका दुई कार्यकर्ताको मृत्यु भएको छ भने नोभेम्बर १८ देखि १०७ जनालाई पक्राउ गरिएको छ। सम्भावित हिंसा नियन्त्रण गर्न सात जिल्लामा बंगलादेश सीमा सुरक्षा बलका ९७ प्लाटुन परिचालन गरिएको छ।
यसैबीच, तलब वृद्धि माग गर्दै गार्मेन्ट उद्योगका मजदुरहरूले पनि विभिन्न औद्योगिक क्षेत्रमा प्रदर्शन गरिरहेका छन्। मजदुरहरूको प्रदर्शनका कारण राजमार्ग अवरुद्ध हुनुका साथै केही उद्योग बन्द भएका छन्।
बंगलादेशमा बढ्दो राजनीतिक तनावले सर्वसाधारणको जनजीवन, यातायात र उद्योग व्यवसायमा समेत असर पारेको छ। सरकारले शान्ति सुरक्षा कायम गर्न सुरक्षा व्यवस्था कडा बनाएको छ।




