यलुङ री हिमालबाट एक वर्षपछि पाँच शव निकालिए चार शव काठमाडौं ल्याइयो

0Shares

थाङमिचागु चरिकोट दोलखा
थाङमिचागु डटकम संवाददाता

दोलखाको गौरीशङ्कर गाउँपालिका–९ स्थित रोल्वालिङ हिमशृंखलाअन्तर्गत यलुङ री हिमालको आधार शिविरबाट एक वर्षअघि हिमपहिरोमा परी बेपत्ता भएका पाँच जनाको शव फेला पारेर निकालिएको छ।

स्थानीयले गत साउन २१ गते हिउँ पग्लिएको स्थानमा शव देखेपछि प्रहरीलाई खबर गरेका थिए। त्यसपछि सुरक्षाकर्मीले प्रतिकूल मौसम र कठिन भौगोलिक अवस्थाका बीच लगातार खोज तथा उद्धार प्रयास गरेका थिए। सातौँ प्रयासमा पाँचवटै शव निकाल्न सफल भएको जनाइएको छ।

दोलखाका प्रहरी नायब उपरीक्षक मनोज लामाका अनुसार पाँचमध्ये चार शव हेलिकप्टरमार्फत काठमाडौं ल्याएर त्रिवि शिक्षण अस्पतालमा पोस्टमार्टमका लागि पठाइएको छ। दोलखा निवासी एक स्थानीय पथप्रदर्शकको शव भने दोलामै पोस्टमार्टम गर्ने तयारी गरिएको छ।

प्रहरीका अनुसार मृतकमध्ये दोलखाको गौरीशङ्कर गाउँपालिका–९ का नेपाली पथप्रदर्शक पदम तामाङ, सोलुखुम्बुका मेर कार्की तथा क्यानडा, इटली र जर्मनीका तीन विदेशी नागरिक रहेका छन्। उनीहरू गत वर्ष कात्तिक १७ गते यलुङ री हिमाल आरोहणका क्रममा आएको हिमपहिरोमा परी बेपत्ता भएका थिए।

लामो समय हिउँमुनि पुरिएका शव हिउँ पग्लिएपछि मात्र देखिन थालेका थिए। कठिन भौगोलिक अवस्था र प्रतिकूल मौसमका कारण उद्धारमा चुनौती देखिए पनि सुरक्षाकर्मी तथा स्थानीयको निरन्तर प्रयासपछि शव निकालिएको हो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *