थामी सभ्यता, संस्कृति र मुन्धुम संरक्षणको ऐतिहासिक उपलब्धि : ‘सिलोके पालाखे’ विमोचन

0Shares

थामी सभ्यता, संस्कृति र मुन्धुम संरक्षणको ऐतिहासिक उपलब्धि : ‘सिलोके पालाखे’ विमोचन

०९-मङ्गलबार-असार-२०८३

इलाम । थामी समुदायको धार्मिक, सांस्कृतिक तथा मौलिक ज्ञानलाई संरक्षण र पुस्तान्तरण गर्ने उद्देश्यले तयार पारिएको ‘सिलोके पालाखे (मुन्धुम)’ पुस्तकको औपचारिक विमोचन गरिएको छ।

कोशी प्रदेश सरकारको आर्थिक सहयोग तथा नेपाल थामी समाज इलामको आयोजनामा माइजोगमाई गाउँपालिका–नयाँबजारमा सम्पन्न कार्यक्रममा नेपाल थामी समाज इलामका अध्यक्ष चित्र थामीको अध्यक्षता तथा माइजोगमाई गाउँपालिकाका अध्यक्ष कुशबहादुर थेवेको प्रमुख आतिथ्यता रहेको थियो।

कार्यक्रममा गाउँपालिका उपाध्यक्ष प्रविना राई, प्रमुख प्रशासकीय अधिकृत केशवप्रसाद आचार्य, नेपाल पत्रकार महासंघ इलामका उपाध्यक्ष सुनिता राई, नेपाल आदिवासी जनजाति महासंघ माइजोगमाईका अध्यक्ष लापासाङ एल्मो, नेपाल आदिवासी जनजाति समन्वय समितिका अध्यक्ष कामी शेर्पा, किराँत याक्थुङ चुम्लुङका अध्यक्ष रविन चेम्जोङ, किराँत राई यायोक्खाका अध्यक्ष रोशन राई, किराँत सेवा सुनुवार समाज तथा किराँत याक्खा छुम्माका प्रतिनिधिहरू, सुरक्षा निकायका प्रतिनिधि, समाजसेवी, थामी समुदायका गुरुहरू, कलाकार तथा समुदायका अग्रजहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

कार्यक्रममा नेपाल थामी समाज माइजोगमाई गाउँ कार्यसमितिका अध्यक्ष ताराबीर थामीले स्वागत मन्तव्य व्यक्त गर्दै समुदायको मौलिक धर्म, संस्कृति र परम्पराको संरक्षणमा पुस्तकले महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरेका थिए। पुस्तक प्रकाशन समितिका संयोजक भक्तबहादुर थामीले पुस्तक प्रकाशनको उद्देश्य र प्रक्रियाबारे जानकारी गराएका थिए भने पुस्तकका सम्पादक सुखबीर थामीले पुस्तकको विषयवस्तु, ऐतिहासिक महत्व तथा यसको संरक्षणात्मक भूमिकामाथि प्रकाश पारेका थिए।

कार्यक्रमका प्रमुख अतिथि, विशेष अतिथि तथा अन्य वक्ताहरूले थामी समुदायको भाषा, संस्कार, संस्कृति, परम्परा तथा मुन्धुम संरक्षणका लागि ‘सिलोके पालाखे (मुन्धुम)’ पुस्तक कोशेढुङ्गा सावित हुने विश्वास व्यक्त गरेका थिए। उनीहरूले यस्ता सांस्कृतिक तथा साहित्यिक अभियानलाई आगामी दिनमा समेत निरन्तरता दिन आवश्यक रहेको धारणा राख्दै सहयोग र सहकार्यको प्रतिबद्धता जनाएका थिए।

सो अवसरमा ‘सिलोके पालाखे (मुन्धुम)’ पुस्तकको औपचारिक विमोचन गरिएको थियो। साथै पुस्तक प्रकाशनमा प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा योगदान पुर्‍याउने विभिन्न व्यक्तित्वहरूलाई सम्मानपत्र, कदरपत्र तथा प्रशंसापत्र प्रदान गरिएको थियो।

रञ्जु थामी र एन्जिला थामीले संयुक्त रूपमा सञ्चालन गरेको कार्यक्रममा थामी समुदायका धर्मगुरु, बुद्धिजीवी, सामाजिक अगुवा, कलाकार तथा सर्वसाधारणको उत्साहजनक सहभागिता रहेको थियो।

आयोजकका अनुसार ‘सिलोके पालाखे (मुन्धुम)’ पुस्तकले थामी समुदायको मौलिक मुन्धुम, संस्कार, परम्परा, धार्मिक दर्शन तथा सांस्कृतिक ज्ञानलाई संरक्षण गर्दै भावी पुस्तासम्म हस्तान्तरण गर्न महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ।

थाङ्मीचागु डटकम

Leave a Reply

Your email address will not be published. Required fields are marked *