थामी धर्म, संस्कार, संस्कृति तथा कर्मकाण्ड संरक्षणमा महत्वपूर्ण योगदान : दुईदिने ‘थामी मड्धुङ्ग सिलोखे पालोखे’ प्रशिक्षण सम्पन्न !!!
2026-06-14विगु गाउँपालिकाद्वारा थामी र तामाङ मातृभाषाको पाठ्यक्रम तथा पाठ्यपुस्तक तयारी सम्पन्न ।।।
2026-06-14
थामी धर्म, संस्कार, संस्कृति तथा कर्मकाण्ड संरक्षणमा महत्वपूर्ण योगदान : दुईदिने ‘थामी मड्धुङ्ग सिलोखे पालोखे’ प्रशिक्षण सम्पन्न !!!
थामी धर्म, संस्कार, संस्कृति तथा कर्मकाण्ड संरक्षणमा महत्वपूर्ण योगदान : दुईदिने ‘थामी मड्धुङ्ग सिलोखे पालोखे’ प्रशिक्षण सम्पन्न !!!
३१ जेठ आइतबार २०८३
दोलखा, जेठ ३१ । कालिञ्चोक गाउँपालिका–१ को आयोजनामा थामी समुदायको धर्म, संस्कार, संस्कृति तथा कर्मकाण्डको संरक्षण, संवर्द्धन तथा पुस्तान्तरण गर्ने उद्देश्यले सञ्चालन गरिएको दुईदिने “थामी मड्धुङ्ग सिलोखे पालोखे प्रशिक्षण कार्यक्रम” सफलतापूर्वक सम्पन्न भएको छ।

जेठ ३० र ३१ गते कालिञ्चोक गाउँपालिका–१ स्थित क्याङपोलमा आयोजित कार्यक्रममा थामी समुदायका गुरुआपा, अगुवा, युवा, विद्यार्थी, बुद्धिजीवी तथा स्थानीय सरोकारवालाहरूको उल्लेखनीय सहभागिता रहेको थियो। कार्यक्रमको प्रशिक्षण सहजीकरण प्रशिक्षक देवा थामी ले गर्नुभएको थियो।

कार्यक्रमको पहिलो दिन वडा कार्यालयका सचिव नरेश कुमार खड्का ले सञ्चालन गर्नुभएको औपचारिक उद्घाटन सत्र वडा अध्यक्ष पदम थामी को अध्यक्षतामा सम्पन्न भएको थियो। राष्ट्रिय गान तथा स्वागत मन्तव्यसँगै कार्यक्रमको शुभारम्भ गरिएको थियो। कार्यक्रममा सहभागीहरूलाई कार्यक्रमको उद्देश्य, आवश्यकता तथा अपेक्षित उपलब्धिबारे जानकारी गराइएको थियो।
पहिलो दिन थामी समुदायको धार्मिक दर्शन, विश्वास प्रणाली, प्रकृतिपूजक परम्परा, पुर्खा तथा प्राकृतिक शक्तिप्रतिको आस्था, धार्मिक मूल्य–मान्यता र आधुनिक समाजमा धर्म संरक्षणका चुनौतीहरूबारे विस्तृत प्रशिक्षण प्रदान गरिएको थियो। साथै जन्मदेखि मृत्युसम्मका परम्परागत संस्कार, नामकरण, विवाह तथा मृत्युसंस्कार लगायतका विषयमा समेत छलफल गरिएको थियो।

सहभागीहरूलाई समूहमा विभाजन गरी अनुभव आदानप्रदान तथा अन्तरक्रियात्मक छलफल गराइएको थियो। पुराना र वर्तमान संस्कारबीच देखिएका परिवर्तन तथा युवा पुस्ताको सहभागिता बढाउने उपायबारे विशेष बहस भएको थियो। पहिलो दिनको निष्कर्षमा सहभागीहरूले थामी धर्म र संस्कारको ऐतिहासिक तथा सामाजिक महत्वबारे महत्वपूर्ण ज्ञान हासिल गरेको जनाइएको छ। साथै समुदायका मौलिक मूल्यहरूको संरक्षण र दस्तावेजीकरणको आवश्यकता औँल्याइएको थियो।

त्यसैगरी दोस्रो दिन थामी समुदायको मौलिक संस्कृति, भाषा, भेषभूषा, परम्परागत जीवनशैली, गीत, संगीत, नृत्य तथा सांस्कृतिक सम्पदाबारे प्रशिक्षण प्रदान गरिएको थियो। संस्कृति संरक्षणमा परिवार, विद्यालय तथा समुदायको भूमिकाबारे समेत विस्तृत चर्चा गरिएको थियो।

कार्यक्रममा थामी समुदायमा प्रचलित पूजा, अनुष्ठान तथा विभिन्न धार्मिक कर्मकाण्डका विषयमा जानकारी दिइएको थियो। कर्मकाण्ड सञ्चालन गर्ने व्यक्तिहरूको भूमिका तथा धार्मिक गतिविधिहरूको सामाजिक महत्वबारे समेत प्रशिक्षण प्रदान गरिएको थियो। व्यवहारिक अभ्यास अन्तर्गत परम्परागत पूजा तथा कर्मकाण्डका नमुना प्रदर्शन गरिनुका साथै सहभागीहरूलाई प्रत्यक्ष अभ्यास गराइएको थियो।

प्रश्नोत्तर तथा अन्तरक्रिया सत्रमार्फत सहभागीहरूले थामी भाषा, धर्म, संस्कार र संस्कृतिको संरक्षणका लागि विद्यालय तहमा स्थानीय पाठ्यसामग्री समावेश गर्नुपर्ने, लिखित तथा श्रव्यदृश्य अभिलेखीकरण गर्नुपर्ने, युवाहरूलाई लक्षित थप प्रशिक्षण सञ्चालन गर्नुपर्ने तथा स्थानीय तहबाट विशेष संरक्षण कार्यक्रम ल्याउनुपर्ने सुझाव प्रस्तुत गरेका थिए।

प्रशिक्षक देवा थामी का अनुसार दुईदिने प्रशिक्षण कार्यक्रमले थामी समुदायको धर्म, संस्कार, संस्कृति तथा कर्मकाण्ड सम्बन्धी ज्ञान, सीप र चेतना अभिवृद्धिमा महत्वपूर्ण योगदान पुर्याएको छ। कार्यक्रममा सहभागीहरूले आफ्नो मौलिक पहिचान संरक्षण गर्दै भावी पुस्तामा हस्तान्तरण गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए।

प्रशिक्षक देवा थामीले थामी समुदायका धार्मिक तथा सांस्कृतिक अभ्यासहरूको व्यवस्थित अभिलेखीकरण, विद्यालय तहमा स्थानीय पाठ्यसामग्री विकास, युवा तथा विद्यार्थीलाई नियमित प्रशिक्षण तथा स्थानीय सरकार, समुदाय र सरोकारवालाबीच समन्वय अभिवृद्धि गर्नुपर्ने सुझाव दिनुभएको छ। साथै थामी समुदायको मौलिक भाषा, संस्कृति र कर्मकाण्ड संरक्षणका लागि दीर्घकालीन योजना निर्माण गर्नुपर्ने आवश्यकता औँल्याउनुभएको छ।
थाङ्मीचागु डटकम



