मलेसियामा ‘आरटी गोल्ड कप २०२६’ को तयारी पूरा, १८ टोली उपाधिका लागि भिड्दै

0Shares

मलेसियामा ‘आरटी गोल्ड कप २०२६’ को तयारी पूरा, १८ टोली उपाधिका लागि भिड्दै

मलेसिया । मलेसियाको शाह आलमस्थित पानासोनिक स्टेडियममा आयोजना हुन गइरहेको ‘दोस्रो आरटी गोल्ड कप २०२६’ फुटबल प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको छ । आयोजक आरटी एफसी मलेसियाले द ग्रान्ड केलाना दमनसारा सुइटमा विशेष कार्यक्रम आयोजना गर्दै प्रतियोगिताको अन्तिम खेल तालिका सार्वजनिक गरेको हो ।

आरटी एफसीका अध्यक्ष राजु तामाङको सभाध्यक्षतामा सम्पन्न कार्यक्रममा नेपाली फुटबल एसोसिएसन (एनएफए) मलेसियाका कार्यवाहक अध्यक्ष विष्णु चौधरी प्रमुख अतिथिको रूपमा सहभागी हुनुहुन्थ्यो । कार्यक्रममा एनएफएका पदाधिकारी, विभिन्न व्यवसायी, खेलप्रेमी तथा सहभागी क्लबका प्रतिनिधिहरूको उल्लेखनीय उपस्थिति रहेको थियो ।

मलेसियामा रहेका नेपाली समुदायबीच लोकप्रिय बन्दै गएको उक्त प्रतियोगिता आगामी मे ३१ र जुन १ (जेठ १७ र १८ गते) सम्म सञ्चालन हुनेछ । दुई दिने नकआउट प्रतियोगितामा कुल १८ टोली सहभागी हुनेछन् । प्रतियोगितालाई ग्रुप ‘ए’ र ग्रुप ‘बी’ गरी दुई समूहमा विभाजन गरिएको आयोजकले जनाएको छ ।

प्रतियोगिताको विजेता टोलीले आकर्षक ट्रफीसहित २२ हजार मलेसियन रिंगेट प्राप्त गर्नेछ भने उपविजेता टोलीले ११ हजार मलेसियन रिंगेट पुरस्कार पाउनेछ । त्यसैगरी उत्कृष्ट गोलकिपर, उत्कृष्ट मिडफिल्डर, उत्कृष्ट डिफेन्डर, उत्कृष्ट प्रशिक्षक तथा सर्वोत्कृष्ट खेलाडीलाई जनही ३ सय मलेसियन रिंगेटसहित सम्मान गरिने आयोजकले जानकारी दिएको छ ।

ग्रुप ‘ए’ अन्तर्गत आरटी एफसी विरुद्ध मकालु एफसी जोहोर, काठमाडौँ एफसी विरुद्ध बीजेवाई एफसी निलाई, न्यू ब्वाइज एफसी जोहोर विरुद्ध मुआर एफसी तथा बीआरएस एफसी विरुद्ध बालेन सिटी एफसीबीच प्रतिस्पर्धा हुनेछ । मनकामना एफसीले पहिलो चरणमा ‘बाइ’ पाएको छ ।

त्यसैगरी ग्रुप ‘बी’ मा एनएफसी केएल विरुद्ध सर्लाही एफसी, माईक्रोन एफसी विरुद्ध ब्रदर एफसी केएल, हिमालयन एफसी विरुद्ध युनाइटेड एफसी, चर्च एफसी केएल विरुद्ध न्यू ब्वाइज एफसी केएल तथा एन पेनाङ एफसी विरुद्ध युनाइटेड एफसीबीच खेल हुने तालिका सार्वजनिक गरिएको छ ।

प्रतियोगिताको पहिलो सेमिफाइनल खेल जुन १ तारिख दिउँसो ३ बजे, दोस्रो सेमिफाइनल बेलुका ५ बजे तथा उपाधिका लागि फाइनल खेल सोही दिन राति ८ बजे पानासोनिक स्टेडियममा सञ्चालन हुने आयोजकले जनाएको छ ।

यस प्रतियोगितालाई आईएमई रिया मनी ट्रान्सफर, एक्रोस ट्राभल एण्ड टुर तथा हाम्रो खाजा घरलगायत विभिन्न नेपाली ब्रान्डहरूले प्रायोजन तथा सहयोग गरेका छन् । मलेसियामा रहेका नेपाली फुटबल प्रेमीहरूका लागि प्रतियोगिता थप रोमाञ्चक र भव्य हुने अपेक्षा गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *