निको थाङ्मीचागु बहुउद्देश्यीय सहकारी संस्थाको आधुनिक कार्यालय उद्घाटन भव्य रूपमा सम्पन्न, थाङ्मी खाममा छापिएको ऐतिहासिक क्यालेन्डर सार्वजनिक ।।।
2026-04-28थामी भाषा, संस्कार र पहिचान संरक्षणमा जोड भोजपुरमा सिल्लोके पालाखे तथा गुरुबोन प्रशिक्षण सम्पन्न ।।।
2026-04-27
निको थाङ्मीचागु बहुउद्देश्यीय सहकारी संस्थाको आधुनिक कार्यालय उद्घाटन भव्य रूपमा सम्पन्न, थाङ्मी खाममा छापिएको ऐतिहासिक क्यालेन्डर सार्वजनिक ।।।
निको थाङ्मीचागु बहुउद्देश्यीय सहकारी संस्थाको आधुनिक कार्यालय उद्घाटन भव्य रूपमा सम्पन्न, थाङ्मी खाममा छापिएको ऐतिहासिक क्यालेन्डर सार्वजनिक
| २०८३ वैशाख १५ (मङ्गलबार)
निको थाङ्मीचागु बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको आधुनिक तथा प्रविधिमैत्री कार्यालय उद्घाटन कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ। २०७७ सालमा स्थापना भएको उक्त सहकारी संस्थाले छोटो समयमै उल्लेखनीय प्रगति गर्दै डिजिटल तथा इलेक्ट्रोनिक प्रणालीसहितको आधुनिक कार्यालय सञ्चालनमा ल्याएको हो।
कार्यक्रमको अध्यक्षता संस्थाको सञ्चालक समितिकी अध्यक्ष सरिता थामीज्यूले गर्नुभएको थियो भने प्रमुख अतिथिका रूपमा प्रमुख सल्लाहकार भाजू थामीज्यूको उपस्थिति रहेको थियो। त्यसैगरी विशिष्ट अतिथिका रूपमा नन्जिते थामी तथा विशेष अतिथिहरूमा बोक्लथाली बाखोर सामुदायिक वनका अध्यक्ष बुद्धिमान थामी र सहकारी संस्थाका कोषाध्यक्ष खम्बा बहादुर थामीज्यू रहनुभएको थियो।
कार्यक्रममा विभिन्न संघसंस्थाका प्रतिनिधिहरू, कालिञ्चोक माविका शिक्षक–शिक्षिकाहरू, बुद्धिजीवी, युवा तथा सेवाग्राहीहरूको उल्लेखनीय उपस्थितिले कार्यक्रमलाई अझ भव्य बनाएको थियो।
उद्घाटन समारोहलाई सम्बोधन गर्दै प्रमुख अतिथि भाजू थामीज्यूले सहकारीको यो उपलब्धिलाई समुदायको समग्र विकाससँग जोडिएको महत्वपूर्ण कदमको रूपमा व्याख्या गर्नुभयो।
उहाँले भन्नुभयो,
“सहकारी केवल आर्थिक संस्था मात्र होइन, यो समुदायको एकता, आत्मनिर्भरता र पहिचानको आधार हो। आधुनिक कार्यालय सञ्चालनले सेवा प्रवाहलाई छिटो, पारदर्शी र प्रभावकारी बनाउनेछ।”
त्यसैगरी अध्यक्ष सरिता थामीज्यूले संस्थाको स्थापना कालदेखि हालसम्मको यात्रा, चुनौती र उपलब्धिहरूको समीक्षा गर्दै आगामी दिनमा अझ सशक्त र समावेशी कार्यक्रमहरू सञ्चालन गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो। उहाँले सहकारीमार्फत थाङ्मी समुदायको आर्थिक सशक्तीकरणसँगै भाषा, संस्कार र सांस्कृतिक पहिचान संरक्षणमा विशेष ध्यान दिइने बताउनुभयो।
विशिष्ट अतिथि नन्जिते थामीले सहकारीलाई सबै सदस्यहरूको अपनत्व र सहभागिताबाट मात्र सफल बनाउन सकिने धारणा राख्दै सामूहिक प्रयासको आवश्यकता औंल्याउनुभयो।
त्यस्तै विशेष अतिथि बुद्धिमान थामीले स्थानीय स्रोत र साधनको सदुपयोगमार्फत सहकारीले समुदायमा सकारात्मक परिवर्तन ल्याउन सक्ने विश्वास व्यक्त गर्नुभयो भने खम्बा बहादुर थामीज्यूले आर्थिक पारदर्शिता, अनुशासन र विश्वसनीयता नै सहकारीको दीर्घकालीन सफलताको आधार हुने उल्लेख गर्नुभयो।
यसै कार्यक्रममा निको थाङ्मीचागु बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले तीनवटा भाषा र तीनवटा लिपिमा, विशेषगरी थाङ्मी खामबाट छापिएको क्यालेन्डर सार्वजनिक तथा वितरण गरेको छ।
उक्त क्यालेन्डर इतिहासमै पहिलो पटक थाङ्मी खाम मा छापिएको भन्दै विशेष महत्वका साथ हेरिएको छ। यस पहलले थाङ्मी भाषा, लिपि र सांस्कृतिक पहिचानको संरक्षण तथा प्रवर्द्धनमा महत्वपूर्ण योगदान पुर्याउने अपेक्षा गरिएको छ।
कार्यक्रममा निको युगन्तकारी थाङ्मीचागु युवा मञ्चको समेत सक्रिय सहभागिता रहेको थियो, जसले युवा पुस्तालाई सहकारी तथा सामाजिक अभियानसँग जोड्ने सन्देश प्रवाह गरेको छ।
कार्यक्रमको समापनमा सहकारी संस्थाले सम्पूर्ण समुदाय, सेवाग्राही तथा इच्छुक व्यक्तिहरूलाई सहकारीमा आबद्ध भई बचत, लगानी र सामूहिक विकासको अभियानमा सहभागी हुन हार्दिक आह्वान गरेको छ।
“सहकारीमा आबद्ध बनौं, आत्मनिर्भर बनौं र आफ्नै पहिचान जोगाउँदै समृद्धिको यात्रामा अघि बढौं” भन्ने सन्देशसहित कार्यक्रम सम्पन्न भएको थियो।




