विशिष्ट पदाधिकारी र शीर्ष नेताहरू आज आ–आफ्नो मतदान केन्द्रमा मतदान गर्दै

0Shares

21 फाल्गुन २०८२, बिहीबार

विशिष्ट पदाधिकारी र शीर्ष नेताहरू आज आ–आफ्नो मतदान केन्द्रमा मतदान गर्दै

भक्तपुर। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत आज मुलुकका विशिष्ट पदाधिकारीदेखि प्रमुख राजनीतिक दलका शीर्ष नेतासम्म मतदानमा सहभागी हुँदैछन्। लोकतान्त्रिक प्रक्रियालाई बलियो बनाउने उद्देश्यसहित उनीहरू तोकिएका मतदान केन्द्रमा पुग्ने कार्यक्रम रहेको छ।

प्रधानमन्त्री सुशीला कार्की ले काठमाडौँको टोखा नगरपालिका–धापासीस्थित मतदान केन्द्रबाट मतदान गर्ने जानकारी प्रेस सल्लाहकारले दिएका छन्। राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहाल चितवनको भरतपुर महानगरपालिका–१४ स्थित नेपाल प्रहरी स्कुल शान्तिपुर केन्द्रमा मतदान गर्दैछन्।

पूर्वराष्ट्रपति रामवरण यादव धनुषाको लक्ष्मीनियाँ गाउँपालिका–४ सपहीस्थित विपी कोइराला मावि केन्द्रमा मतदान गर्नेछन् भने पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी काठमाडौँको बूढानीलकण्ठ नगरपालिका–२ भंगालस्थित साविक गाविस भवनमा मतदान गर्ने कार्यक्रम छ।

नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा को मतदान केन्द्र डडेल्धुराको गन्यापधुरा गाउँपालिका–१ स्थित असिग्राम मावि रुवाखोला भए पनि यसपटक उनी विदेशमा रहेकाले मतदान नगर्ने जनाइएको छ।

एमाले अध्यक्ष केपी शर्मा ओली भक्तपुरको सूर्यविनायक नगरपालिका–२ बालकोटस्थित महेन्द्र शान्ति माध्यमिक विद्यालयमा मतदान गर्नेछन्। नेकपा संयोजक पुष्पकमल दाहाल ले चितवनको भरतपुर–१४ स्थित नेपाल प्रहरी स्कुल शान्तिपुर केन्द्र रोजेका छन् भने सहसंयोजक माधवकुमार नेपाल रौतहटको रामजानकी कन्या आधारभूत विद्यालय केन्द्रमा मतदान गर्दैछन्।

कांग्रेस सभापति गगनकुमार थापा काठमाडौँको मैतीदेवी मयुर कुण्ड केन्द्रमा मतदान गर्नेछन्। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने चुच्चेपाटीस्थित उपत्यका खानेपानी लिमिटेड, महाँकाल केन्द्रमा मतदान गर्दैछन्। सोही पार्टीका वरिष्ठ नेता तथा काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाह तीनकुने गैरीगाउँस्थित अन्नपूर्ण विद्यालय केन्द्रमा मतदान गर्ने कार्यक्रम छ।

नेता झलनाथ खनाल इलामको सूर्योदय नगरपालिका–९ रम्फोकस्थित राष्ट्रिय आधारभूत विद्यालयमा मतदान गर्दैछन्। पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई गोरखा क्षेत्र नं. २ अन्तर्गत पालुङटार नगरपालिका खोप्लाङस्थित अन्नपूर्ण माध्यमिक विद्यालयमा मतदान गर्नेछन्। मन्त्रिपरिषद्का पूर्वअध्यक्ष खिलराज रेग्मी काठमाडौँको पुरानो बानेश्वरस्थित सानो गौचरण पार्क केन्द्रमा मतदान गर्दैछन्।

निर्वाचन सुरक्षालाई उच्च प्राथमिकतामा राख्दै सुरक्षा निकायले संवेदनशील क्षेत्रमा विशेष निगरानी बढाएको जनाएको छ। शीर्ष नेताहरूको सहभागितासँगै देशभर मतदान उत्साहपूर्वक जारी रहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *