मलेसियामा नेपालीसहित ठुलो मानव तस्करी सञ्जाल पर्दाफास, ‘एम-जे’ मुख्य योजनाकार
2026-04-16सिंगटीमा मध्यराती जेसिभी दुर्घटना
2026-04-12संघीयता, धर्मनिरपेक्षता र लोकतन्त्रमा दायाँबायाँ गरे प्रतिकार गर्ने श्रम संस्कृति पार्टीको चेतावनी
2026-04-10
थम्बु समुदायको ऐतिहासिक पृष्ठभूमि : किरात सभ्यताको गौरवशाली विरासत
थम्बु समुदायको ऐतिहासिक पृष्ठभूमि : किरात सभ्यताको गौरवशाली विरासत
प्रकाशित मिति : २३ फेब्रुअरी २०२६
www.thangmichagu.com
नेपालका मूलबासी समुदायहरूमध्ये एक महत्वपूर्ण समुदायका रूपमा चिनिने थम्बु (थाङ्मी/थामी/थानमी) समुदायको इतिहास किरात सभ्यतासँग गहिरो रूपमा गाँसिएको छ। विशेषगरी दोलखा, रामेछाप, सिन्धुपाल्चोक, सिन्धुली तथा काठमाडौं उपत्यका आसपासका क्षेत्रमा बसोबास गर्दै आएको यो समुदाय वल्लो किरात अन्तर्गतको शासक वंशका सन्तानका रूपमा परिचित छ।
इतिहास र मुन्धुम परम्पराअनुसार थम्बु समुदाय किराती नागवंशी वंशसँग सम्बन्धित रहेको उल्लेख पाइन्छ। प्राचीन कालमा काठमाडौं उपत्यकामा बसोबास गर्ने किराती शासकहरूलाई नाग जातिका रूपमा चिनिन्थ्यो। यही नागवंशी किराती वंशभित्र थम्बुहरूको उल्लेख भेटिन्छ।
किराती परम्परागत इतिहासमा करिब ३००० वर्षअघि गोपाल तथा महेशपाल वंशका शासकहरू बागमती किनार हुँदै काठमाडौं उपत्यकामा प्रवेश गरी त्यहाँका मूलबासी किराती नागवंशी थम्बुहरूलाई विस्थापित गरेको कथन पाइन्छ। त्यसक्रममा किरात राजा का पुर्खाहरू उपत्यकाबाट बारा जिल्लाको सिमङ्गघाटसम्म पुगेका र पछि तामाकोशी नदी पछ्याउँदै दोलखाको किरातीछाप क्षेत्रमा पुनः बसोबास गरेको विश्वास गरिन्छ।
किरातीछाप र शैलुङ : ऐतिहासिक केन्द्र
दोलखाको चरिकोट नजिकै अवस्थित किरातीछापलाई किराती थम्बुहरूको राजधानीका रूपमा लिइन्छ। यहाँ आजसम्म पनि पञ्च भलादमी बसेर हाई–हाई राजा, पतरङ्गी राजा, स्युस्यु राजा आदिको नाम उच्चारण गर्दै संकल्प गर्ने परम्परा जीवित छ।
हालको दोलखा–रामेछाप सिमानामा रहेको (करिब ३,४०० मिटर उचाइ) धार्मिक तथा ऐतिहासिक दृष्टिले अत्यन्त महत्वपूर्ण स्थल हो। किंवदन्तीअनुसार यलम्बर राजाको न्वारान नाम ‘यलुङ्ग’ थियो र त्यसैबाट शैलुङ नामकरण भएको भनाइ पाइन्छ।
आज शैलुङ क्षेत्रमा हिन्दु तथा बौद्ध धर्मावलम्बीहरू जनैपूर्णिमा, बालाचतुर्दशी र बाह्रवर्षे मेलाका अवसरमा दर्शनार्थीका रूपमा पुग्ने गर्दछन्। तर किराती परम्पराअनुसार यस क्षेत्रको मूल सम्बन्ध थम्बु किरात सभ्यतासँग जोडिएको मानिन्छ।
धार्मिक परम्परा र सांस्कृतिक निरन्तरता
दोलखास्थित मा गरिने बलिपूजाको प्रारम्भ थम्बु (थामी) पुजारीबाट गर्ने परम्परा ऐतिहासिक रूपमा रहँदै आएको छ। त्यसपछि मात्र अन्य समुदायले पूजा गर्ने चलन रहेको पाइन्छ।
त्यसैगरी मा पगरी लगाइ पूजा सम्पन्न गर्ने परम्पराले पनि थम्बु समुदायको ऐतिहासिक भूमिकालाई उजागर गर्दछ।
भाषा, संस्कृति र पहिचान
थम्बु समुदायको आफ्नै भाषा ‘थाङ्मी खाम’ रहेको छ। प्रकृतिपूजा, भूमे पूजा, उधौली–उभौली, छिम्या पूजा, माघे तथा साउने संक्रान्ति जस्ता चाडपर्व समुदायको सांस्कृतिक मेरुदण्ड हुन्। जन्म, विवाह र मृत्युसंस्कार आफ्नै गुरु–झाँक्री तथा मुन्धुम परम्पराअनुसार सम्पन्न गरिन्छ।
इतिहासविद्हरूका अनुसार पल्लो किरात (लिम्बु), माझ किरात (खम्बु) र वल्लो किरात (थम्बु) का पुर्खा एउटै वंशसँग सम्बन्धित रहेको निष्कर्ष भेटिन्छ। वल्लो किरात अन्तर्गत थम्बु (थाङ्मी/थामी), जिरेल, सुरेल, सुनुवार र चेपाङ समुदायबीच दाजुभाइको सम्बन्ध रहेको ऐतिहासिक अध्ययनहरूले संकेत गरेका छन्।
निष्कर्ष
काठमाडौं उपत्यकाको प्राचीन राज्य व्यवस्था, भाषा, संस्कृति, मुन्धुम र किरात सभ्यताको आधारस्तम्भका रूपमा थम्बु समुदायको योगदान उल्लेखनीय देखिन्छ। आज थामी, थाङ्मी र थानमी नामले परिचित यो समुदाय आफ्नो मौलिक भाषा, संस्कृति र ऐतिहासिक पहिचान जोगाउँदै अघि बढिरहेको छ।
लेखक : मदन थम्बु (थोरो रिश्मी)





