निको मिजार टोल समाज सुधार समूहको मानवीय पहल: जीवन थामीको हातबाट बिरामीलाई सहयोग रकम हस्तान्तरण

0Shares

निको मिजार टोल समाज सुधार समूहको मानवीय पहल: जीवन थामीको हातबाट बिरामीलाई सहयोग रकम हस्तान्तरण


दोलखा | थाङ्मीचागु डटकम | मिति: २०८२ माघ ११ गते

निको मिजार टोल समाज सुधार समूह, बिगु–८ थाङ्मीचागु दोलखाको पहलमा संकलन गरिएको रु ३८,९८६.५० (अक्षरूपी अठतीस हजार नौ सय छयासी रुपैयाँ पचास पैसा) सहयोग रकम सामाजिक अभियान्ता जीवन थामीको हातबाट बिरामी अर्जुन थामीलाई औपचारिक रूपमा हस्तान्तरण गरिएको छ।


आर्थिक अभावका कारण उपचारमा कठिनाइ भोगिरहेका अर्जुन थामीको अवस्थालाई मध्यनजर गर्दै “सेवा नै धर्म हो” भन्ने मूल भावसहित समाज सुधार समूहले सहयोग अभियान सञ्चालन गरेको थियो। उक्त अभियानअन्तर्गत संकलित रकम निर्मल थामी, एके थामी र प्रेम थामीज्यूहरूको पहल तथा संयोजकत्वमा सङ्कलन गरिएको हो।


अभियानमा टोलवासी, विभिन्न स्थानमा रहेका समुदायका सदस्यहरू तथा देश–विदेशबाट सहयोगी मनहरूले उल्लेख्य साथ र सहयोग प्रदान गरेका थिए।
सहयोग रकम हस्तान्तरण कार्यक्रम सामाजिक अभियान्ता जीवन थामी तथा थाङ्मीचागु डटकमका संवाददाता गौरव थामीको उपस्थितिमा सम्पन्न भएको थियो। सो अवसरमा जीवन थामीले दुःख, पीडा र संकटको समयमा समुदाय एकजुट भएर अघि बढ्नु नै सामाजिक उत्तरदायित्व र मानवीयताको सशक्त उदाहरण भएको बताउनुभयो। उहाँले सहयोग अभियानमा प्रत्यक्ष–अप्रत्यक्ष रूपमा योगदान दिने सम्पूर्ण सहयोगी मनहरूप्रति हार्दिक आभार व्यक्त गर्नुभयो।


बिरामी अर्जुन थामी तथा उहाँका परिवारजनले उपचारका लागि प्राप्त सहयोगले ठूलो राहत मिलेको उल्लेख गर्दै निको मिजार टोल समाज सुधार समूह, सामाजिक अभियान्ता जीवन थामी तथा सहयोग सङ्कलनमा भूमिका निर्वाह गर्ने सम्पूर्ण व्यक्ति र दाताप्रति धन्यवाद ज्ञापन गरेका छन्।


उक्त अभियानबाट संकलित सम्पूर्ण रकम रु ३८,९८६.५० बिरामीको उपचार प्रयोजनमै खर्च गरिने समाज सुधार समूहले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *