डुम खोलामा बहुप्रतीक्षित पुल निर्माणको शिलान्यास, मेयर महतोको नेतृत्वमा स्थानीयको सपना साकार ।।।

0Shares

डुम खोलामा बहुप्रतीक्षित पुल निर्माणको शिलान्यास, मेयर महतोको नेतृत्वमा स्थानीयको सपना साकार ।।।

थाङमिचागु डटकम संवाददाता

विनोद मण्डल, वैशाख २८ । सिराहा जिल्लाको धनगढीमाई नगरपालिका–११ र लाहान नगरपालिका–१३ लाई सिधा जोड्ने रणनीतिक महत्वको डुम खोलामा पुल निर्माणको शिलान्यास गरिएको छ । धनगढीमाई नगरपालिकाका मेयर शिवशंकर महतोले एक औपचारिक समारोहका बीच विधिपूर्वक भूमि पूजा गर्दै पुल निर्माण कार्यको शुभारम्भ गरेका हुन् ।

डुम खोलामा पुल नहुँदा वर्षाको समयमा स्थानीयवासी तथा यात्रुहरूलाई आवतजावतमा अत्यन्त कठिनाइ हुँदै आएको थियो । व्यापारिक दृष्टिकोणले अत्यन्तै महत्वपूर्ण मानिने यस सडक खण्डमा पुल निर्माण भएपछि स्थानीय जनजीवनमा सहजता आउने अपेक्षा गरिएको छ ।

शिलान्यास कार्यक्रममा वडा नं ११ का अध्यक्ष अशोक श्रेष्ठको समेत सक्रिय सहभागिता रह्यो । अध्यक्ष श्रेष्ठ र मेयर महतोको समन्वय, दूरदर्शिता र दृढ इच्छाशक्तिका कारण यो परियोजनाले मूर्तरूप लिने भएको हो । स्थानीयबासीले लामो समयदेखि माग गर्दै आएको पुल निर्माण कार्य प्रारम्भ भएपछि गाउँघरमा खुशीको लहर छाएको छ ।

धनगढीमाई नगरपालिकाका मेयर शिवशंकर महतो यसअघि पनि विभिन्न पूर्वाधार निर्माणमा सक्रिय रहँदै आएका छन् । हालै मात्र उनले बेल्दरही क्षेत्रमा पुल निर्माण कार्य सफलतापूर्वक सम्पन्न गराएका थिए, जसको स्थानीयले प्रसंशा गरेका छन् ।

स्थानीय विकासमा निरन्तरता दिने मेयर महतोको यो कदमलाई ऐतिहासिक मानिएको छ । डुम खोलामा बन्न लागेको यो पुलले अब दुई नगरपालिका बासिन्दाबीचको सम्बन्धलाई अझ मजबुत बनाउने विश्वास गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *