मलेसिया जाने नेपाली श्रमिकको स्वास्थ्य परीक्षण अब पनि सीमित स्वास्थ्य संस्थाबाट मात्रै हुने भएको छ ।
2026-05-18उभौली पर्व (भूम्या पूजा) थाङ्मी समुदायको मौलिक संस्कृति, पहिचान र एकताको भव्य उत्सव बिगु–८ थाङ्मीचागु तुन्बोन डन्डीमा आयोजना हुने
2026-05-07लिपुलेक विवादः नेपालको दाबीमा भारतको अस्वीकार, ‘ऐतिहासिक आधारहीन’ जिकिर, संवादका लागि खुला रहेको संकेत
2026-05-04
विद्यालय कर्मचारीमाथि अन्याय भयो ,हामी विद्यालय फर्किँदैनौ- अध्यक्ष तिवारी

काठमाडौं । सरकारसँग गरेको सहमतिलाई लिएर विद्यालय कर्मचारीहरु र शिक्षक नेताहरुबीच आज लफडा भयो । रत्नराज्य स्कुलमा सहमतिबारे समिक्षा गर्न बोलाइएको बैठकमा कोलाहलपूर्ण बनेको थियो ।
शिक्षक महासंघका तर्फबाट सरकारसँग गरिएको सहमति नमान्ने घोषणा विद्यालय कर्मचारी परिषद्ले गरेको छ । आजको समिक्षा बैठकमा परिषद्का अध्यक्ष गंगाराम तिवारी महासंघका अध्यक्ष लक्ष्मीकिशाेर सुबेदीविरुद्ध खनिएका थिए । सुबेदीले बोल्दै गर्दा उनले अवरोध गरेपछि दुई पक्षबीच तनावको स्थिति उत्पन्न भयो । झन्डै हात हालहाल समेत भएको थियो ।त्यसपछि प्रहरी नै बोलाएर तिवारीलाई बैठकबाट बाहिर निकालियो ।
बाहिर आएर पत्रकारसँग कुरा गर्दै तिवारी फेरि महासंघ नेतृत्वमाथि खनिए । स्थाइ शिक्षकहरुको मात्रै सेवा सुविधा सुनिश्चित गरेर कर्मचारीहरुलाई वेवास्ता गरेको उनको आरोप छ ।
तिवारीको आक्रोशित अभिव्यक्ति उनकै शब्दमाः
यो परिषद् २०४७ सालमा स्थापित भएको हो र अहिले म राष्ट्रिय अध्यक्ष छु । हामी ३९ दिनदेखि शिक्षकसँगै आन्दोलनमा छौं । तह सहमति गर्दा कर्मचारीहरुलाई पूर्णरुपमा वेवास्ता गरियो । कर्मचारीको काँधमा टेकेर शिक्षक नेताहरुले आफ्नो स्वार्थ सिद्दी गरे । हाम्रो माग सम्वोधन भएन ।
केही दिनअगाडि महासंघका अध्यक्ष र महासचिवसहित बसेर जुन निर्णय गरिएका थियो, त्यही नै हाम्रो संस्थागत धारणा हो । लेखापाललाई खरदारसरह ३२ हजार ९०२ रुपैयाँ र श्रेणीविहिन सहयोगी भनेर २६ हजार ८२ रुपैयाँ तलव दिने भनेर अध्यक्षले नै ल्यापटपमा टाइप गर्नुभएको हो । अनि विदा सुरक्षित गर्ने कुरा पनि थियो । २०८२/८३ बाट तलवमान बढ्ने कुरामा हामी ढुक्क थियौं ।
अस्ति साँझ वैठक बस्दै गर्दासम्म पनि नौ बुँदाको कुरा मलाई थाहा थिएन । हिजो अबेरसम्म पनि थाहा भएन । एकैचोटि राति ८ बजे थाहा भयो । यो कुरा नेपाल शिक्षक संघको अध्यक्षलाई पनि थाहा रैनछ, जबकि संघबाटै लक्ष्मीप्रसाद सुबेदी महासंघको अध्यक्ष बन्नुभएको हो । भनेपछि कत्तिको गोप्य राख्न खोजेका रहेछन् भन्ने यत्तिकै प्रष्ट हुन्छ ।
हिजो राति ८ बजे नौ बुँदा मेरो हातमा पर्यो । मैले चित्त नबुझेर मन्त्रीहरुकै अगाडि पछारेको हुँ । तर महासंघको अध्यक्ष मौन बस्नुभयो । सहअध्यक्ष, महासचिव र उपमहासचिव पनि बोल्नुभएन । मलाई एक्लो पारियो । हामीलाई किन धोका दिइयो भनेर आज समिक्षा वैठकमा काठमाडौंमा उपलब्ध साथीहरुलाई उपस्थित बनाएको थिएँ । समिक्षा वैठकमा महासंघका महासचिवले खरर बोल्ने र अध्यक्षले समापन गरे हिँड्ने योजना रहेछ । मैले ठाडो अब्जेक्सन गरेँ । हिजोका दिनमा गरेको सहमति प्रष्ट पार्नुस भनेपछि विवाद भएको हो ।
यो सबैको जिम्मेवार महासंघका पदाधिकारी हुन् । म बदमास कि तिनीहरु बदमास । हो म वार्तामा अन्तिमसम्म बसेको थिएँ । बुझ्छन् कि, बुझ्छन् कि भनेर अन्तिमसम्म बस्दै गर्दा पनि उहाँहरुको त्यहाँनिर ध्यान केन्द्रित भएन । अध्यक्ष र महासचिवलाई कतिबेला सही गरौं भन्ने मात्रै छटपटी थियो । अनि अहिले आएर झूटको खेति गरेर हुन्छ ? असारको १५ गते ऐन ल्याउँछु भनेर हुन्छ ? हिजो अध्यक्षले नै जितिन्छ कि बितिन्छ भनेर नारा ल्याएको होइन ? अहिले दुनियालाई छल्ने ? ठूला कुरा गरेर हुन्छ ?
हामी भर्याङ मात्रै भयौं । परिषदमा पछिल्लो समयमा अलिकति प्रतिवाद गर्न सक्ने नेतृत्वहरु छौं । प्रतिवाद गर्न सक्ने नेतृत्व उहाँहरुलाई अपाच्य भएको हो । दोषजति परिषदलाई लगाएर उम्किन खोजे । अघिल्लो राति चार जनाले सहमति गरेको हिजो प्रष्ट भयो ।
ऐन आएपछि पाउने कुराहरु सुनिश्चित छ, तर त्यो भन्दा अगाडि के पाउने हामीले ? ८ हजार, १३ हजार ५ सयमा कर्मचारीले जागीर गर्नुपरेको छ । सँगसँगै काम गर्ने गुरुहरुले ३४ हजारदेखि ७२ हजारसम्म तलव खाएका छन् । मैले पटक–पटक भन्या छु, यो कुरा नछुटाउँ है । यत्रो आन्दोलनबाट उपलब्धी हासिल गर्ने हो भने अघिल्लो नेतृत्वले गरेका गल्तिहरुलाई सच्याउनुपर्छ भनेको हो ।
आदरणीय अध्यक्ष लक्ष्मीप्रसाद सुबेदीसँग महासचिव भएको बेलादेखि नै सँगसँगै हिँड्या छु । उहाँको घरमा खाना पनि खान्छु । लामो यात्रा सँगै गरेको छु । उहाँले यसरी कर्मचारीको विषयमा जानकारी नै नगराइ एकाएक सहमति गर्नु हुन्छ भन्ने मलाई लागेको थिएन । सहयोगीको २६ हजार ८२ र लेखापालको ३२ हजार ९ सय २ प्लस महंगी भत्ता लेखेर प्रष्ट पारेर लिएर गएको छ । यो भयो, यो भएन भन्ने पनि उहाँहरुबाट आएन । कर्मचारीको विषयमा अलिकति गाह्रो भो भन्नुभयो ।
अहिले हाम्रो काँधमा टेकेर शिक्षकले सेवा–सुविधा लिन सुहाउँछ ? बरु शिक्षकका नेताले हामी लिन हुन्न, कर्मचारीलाई दिउँ भन्न सक्नुहुन्न ? उहाँहरुलाई ग्रेड चाहिएको थियो । माध्यमिक तहको समायोजन चाहिएको थियो । ८ हजारमा २४ घन्टा काम गर्ने कर्मचारीको विषयमा उहाँहरुको ध्यान केन्द्रित कहाँ भयो ? अहिले हामीलाई दोष लगाउने ? हाम्रा साथीहरुले प्रश्न गर्न नपाउने ? मलाई साथीहरुले सोध्नुहुन्न ?
उहाँहरुले नेताको तलुवा चाट्नुभयो । शिक्षकका नाममा राजनीतिक दलका नेता हुन् । म बुझ्दिनु ? हिजो सँगसँगै हिँडेको हो ।
शिक्षकको ‘तोकिए बमोजिम’ तलव लेख्या छ ऐनमा ? कर्मचारीलाई ‘तोकिए बमोजिम’ किन ? कति तोक्ने पाँच हजार ? १० हजार ? शुद्ध स्थायी शिक्षकको विषयमा मात्रै सुेवा सुविधा सुनिश्चित गर्नुभयो । निजामति कर्मचारी सरह ग्रेड समायोजन, दोस्रो मर्यादाक्रम र निमावी द्वीतीयलाई माध्यमिक तृतीयसरह दिने भनेर सुनिश्चित गर्नुभयो । हामीलाई केही पनि भएन ।
यी कुराहरुमा केन्द्रत गरेर भर्खरै छलफल गर्या छौं । साँझ ७ बजे आन्दोलनको मोडालिटी बनाइन्छ । हामी अहिले घर फर्किँदैनौं । महासंघले आन्दोलन टुंग्याए पनि हामी टुंग्याउँदैनौं ।





