घर फर्किन लाग्दा मलेसियाको एयरपोर्टमै ढले रुपलाल

0Shares

घर फर्किन लाग्दा मलेसियाको एयरपोर्टमै ढले रुपलाल

थाङमिचागु डटकम संवाददाता

२३ भदौ, काठामाडौं। दाङ तुल्सीपुर उपमहानगरपालिका–११ का ४३ वर्षका रुपलाल चौधरी शनिबार दिउँसो नेपाल फर्किने तयारीमा थिए ।

साढे चार वर्षपछि घर फर्कन लागेका उनी परिवारसँग भेट्न पाउने कुराले उत्साहित थिए । दिउँसो करिब २ बजे क्वालालाम्पुरको एयरपोर्ट पुगेपछि घरमा पत्नीलाई भिडियो कल गरे । आफू फर्कन लागेको भन्दै एयरपोर्टका दृश्यहरु देखाए ।

उनले दिदी, भिनाजु र आफन्तलाई पनि फोन गरे । मलेसियामै रहेका भाइ लोकमणिसँग पनि भिडियो कुराकानी गरे । मलेसियाबाट नेपाल फर्किने जहाजको त्यस दिन नेपाली समय अनुसार ३ बजेको फ्लाइट थियो । उनी बोर्डिङ पास लिएर र लगेजहरु पठाएर फ्लाइटको प्रतीक्षामा थिए ।

‘फ्ल्याइटको केहीबेर अघिसम्म छोरा र भाइसँग कुरा भइरहेको रहेछ’ रुपलालका भतिज घनश्याम थारुले भने, ‘कुराकानी हुँदा हुँदै काका (रुपालाल) को म्यासेज आउन छोड्यो ।’ .

सुरुमा परिवारले फ्लाइटको समय भएकाले रिप्लाई नआएको होला भन्ने अनुमान गरे । तर त्यसपछि केही खबर आएन । नेपाल फर्किने बेलासम्म पनि खबर नआएपछि परिवारका सदस्य आत्तिए । उनको मोबाइलमा फोन गरिरहे, तर उठेन ।

लामो समयसम्म फोन गरिरहेपछि मलेसियाली नागरिकले फोन उठाएर केही भने, तर कसैले बुझेन । रुपलालका छोरा विपिनले मलेसियामा नै रहेका काका लोकमणिलाई बुझ्न लगाए। लोकमणिले बुझ्दा रुपलालको एयरपोर्टमै मृत्यु भएको खुल्यो ।

भाइ लोकमणिले घरमा पठाएको खबर अनुसार जहाज पर्खिरहेका बेला रुपलाल अचानक ढलेका थिए । उनको एयरपोर्टमै मृत्यु भइसकेको थियो । उनको पोर्टमार्टम हुन भने बाँकी छ ।

शोकमा परिवार

भजित घनश्याम थारुका अनुसार साढे चार वर्षपछि घर फर्कन लागेका रुपलाल अब मलेसिया नफर्किने तयारीमा थिए । घर फर्केर उनले परिवारसँग समय बिताउन चाहेका थिए । पहिलो पटक मलेसिया गएका उनी परिवारसँग छुट्टिएर बस्दाको नियास्रो मेटाउन चाहन्थे ।

चाडबाडको मुखमा घर फर्कन लागेका रुपलालको मृत्युको खबरले परिवार शोकमा छ । आइतबारमात्र मृत्युको खबर पाएकी उनकी पत्नी मनबुझौनी चौधरी विक्षिप्त छिन् । ‘चाडबाडकै मुखमा, त्यो पनि घर फर्कने बेला यस्तो खबर आयो’, भतिज घनश्याम भन्छन्, ‘मृत्युको खबरले परिवार आँशुमा डुबेको छ । गाउँ नै शोकमा छ ।’

सरकारी तथ्याङ्क अनुसार प्रत्येक वर्ष वैदेशिक रोजगारीमा पुगेका झण्डै एक हजार नेपालीले ज्यान गुमाउने गर्छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *