प्रधानमन्त्री ओलीले बाल मन्दिरका सम्पत्तिको संरक्षण र उचित उपयोगका लागि निर्देशन दिए

0Shares

प्रधानमन्त्री ओलीले बाल मन्दिरका सम्पत्तिको संरक्षण र उचित उपयोगका लागि निर्देशन दिए

थाङ्मीचागु डटकम संवाददाता
आइतबार, १६ भदौ २०८१

काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल बाल सङ्गठन (बाल मन्दिर) का सम्पत्तिको पूर्ण संरक्षण र उचित उपयोग सुनिश्चित गर्न निर्देशन दिएका छन्। उनले आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा भएको छलफलमा संगठनका पदाधिकारीसँग भने, “बाल मन्दिरका सम्पत्तिमा अरूले अतिक्रमण गरेको वा नियमविपरीत भाडा सम्झौता नगरी बसिरहेको छ भने ती सम्पत्तिहरूको नियन्त्रण र प्रयोगमा कडाइ गर्नुपर्छ। धनी पुर्जाबिना लामो समयदेखि संगठनले भोगाधिकार लिँदै आएको भए पनि ती सम्पत्तिहरूलाई संगठनकै नाममा ल्याइनुपर्छ।”

प्रधानमन्त्री ओलीले बाल मन्दिरको नयाँ विधान स्वीकृतिका लागि मन्त्रिपरिषद्मा प्रस्ताव ल्याउन र बालबालिकालाई सन्तुलित आहार, उचित लत्ताकपडा र गुणस्तरीय शिक्षा प्रदान गर्न सरकारको सक्दो सहयोग गर्न पनि आग्रह गरे। उनले भने, “बाल मन्दिरका बालबालिकाले सम्पन्न परिवारका बालबालिकाहरूलाई मिल्ने सुविधाहरू पाउनुपर्छ। उनीहरू स्वस्थ र शिक्षित हुनु आवश्यक छ। यसको लागि सरकारले पूर्ण सहयोग गर्नेछ।”

सङ्गठनका अध्यक्ष विद्या न्यौपानेले संगठनको स्पष्ट पहिचानसहित परिमार्जित र आधिकारिक विधान स्वीकृत गर्न, बजेटको व्यवस्था गर्न, सम्पत्तिको संरक्षण गर्न र जन्मदर्ता र नागरिकता पाउन समस्या हुने बालबालिकाका लागि आवश्यक सहजीकरण गर्न सरकारसँग आग्रह गरेकी थिइन्। वर्तमानमा सो संगठनको आश्रयमा करिब तीन सय बालबालिका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *