सिन्धुपाल्चोकको जुगल गाउँपालिकामा उत्पादन भएको आलुले काठमाडौँमा बजार पाउन थालेपछि किसान उत्साहित

0Shares

आलुले बजार पाउन थालेपछि उत्साहित छन् जुगलका किसान

थाङमिचागु डटकम संवाददाता

चौतारा– सिन्धुपाल्चोकको जुगल गाउँपालिकामा उत्पादन भएको आलुले काठमाडौँमा बजार पाउन थालेपछि किसान उत्साहित भएका छन् । हिमाली क्षेत्र भएका कारण अन्य बालीको उब्जनी राम्रो नहुने र आलु खेतीको सम्भावना प्रचुर रहेका कारण गत वर्षबाट किसान आलु खेतीतर्फ आकर्षित भएका थिए ।

जुगल गाउँपालिका–६, स्याउजेका देवीबहादुर श्रेष्ठले झण्डै यहाँबाट तीन टन आलु बिक्री वितरणका लागि काठमाडौँ पुर्‍याइएको बताए । उनले स्थानीय जनप्रतिनिधिले सहजीकरण गरेपछि यसअघि घरायसी प्रयोगका लागि मात्र उत्पादन गर्दै आएका किसानले आलुको व्यावसायिक खेती गर्न थालेका बताए ।

आलु उत्पादक किसान वसन्त श्रेष्ठले पालिकाको वडा नं ६ कार्यालयले व्यावसायिक आलुखेती गर्न हौसला दिँदै बजार व्यवस्थापनमा सहजीकरण गरेपछि आफूहरू यसतर्फ आकर्षित भएको बताए । यसअघि यहाँका किसानले निर्वाहका लागि मात्र आलुखेती गर्दै आएकामा पछिल्लो समय धेरैले व्यावसायिक रूपमा खेती गर्न थालेका वडाध्यक्ष टङ्क तामाङले बताए । उनले वडा कार्यालयले यहाँ उत्पादित आलु काठमाडौँ उपत्यकासम्म निःशुल्क ढुवानीको व्यवस्था मिलाएको जानकारी दिए ।

वडाध्यक्ष तामाङकानुसार चालु आर्थिक वडा न ६ मा मात्र करिब १२ टन आलु उत्पादन भएको छ । बर्खा मासमा गाउँसम्म गाडी नजाने हुँदा बर्खाअघि नै आलु ढुवानीलाई लक्षित गरी बाटो सोलिङ र स्तरोन्नति गरेको उनले जानकारी दिए ।

वडालाई कृषि पकेट क्षेत्रका रूपमा विकास गर्दै विषादीरहित अर्ग्यानिक उत्पादनमा स्थानीयलाई जोडने र आर्थिक उपार्जनमा टेवा पुर्‍याउने कार्यालयको योजना रहेको अध्यक्ष तामाङ बताउँछन् । ‘आलु मात्र होइन विषादीरहित, प्राङ्गारिक मलको प्रयोग गरेर रैथाने बाली र तरकारी उत्पादनका लागि किसानलाई प्रोत्साहित गरिरहेका छौँ’, उनले भने ।

गाउँपालिका अध्यक्ष रेशमा स्याङ्वोका अनुसार आलु उत्पादनले स्थानीयको आयआर्जनमा महत्त्वपूर्ण भूमिका खेलेको छ । उनका अनुसार जुगलको मुख्य बजार ढाडेमा कृषिउपज सङ्कलन केन्द्र निर्माण भइरहेको जानकारी दिँदै उनले केन्द्र निर्माणपछि किसानलाई थप राहत पुग्ने छ ।

मुडेको आलु जेठलको सिलढुङ्गामा सङ्कलन गरेर प्याकिङ र ट्यागिङ सकेर मात्रै राजधानी ढुवानी गर्ने गरिएको छ ।  लामोसाँघु जिरी सडकखण्ड निर्माणका क्रममा स्वीस सरकारले दुर्लभ मानिने रोजिटा जातको आलुको बीउ बाँडेपछि खेती सुरु भएको स्थानीय बताउँछन् ।

जिल्लाका विभिन्न स्थानमा पनि मुडेको आलुको माग उच्च हुँदै गएको छ । राजधानीबाहेक बाह्रबिसे, लामोसाँघु, खाडीचौरदेखि दोलालघाटमा राम्रो मूल्यमा यो आलु बिक्ने गरिएको स्थानीय किसान खडगबहादुर श्रेष्ठले बताए । ‘आलु बेचेरै वर्षको रु दुई लाखसम्म आम्दानी गर्ने गरेको छु’, उनले  उत्साहित हुँदै भने, ‘पाँच हजार धार्नी आलु यस वर्ष फल्यो, अघिल्लो वर्षको तुलनामा अहिले राम्रै कमाइयो । आलु बेचेरै घरबार चलाइरहेको छु ।’

मुडे र निगालेको एक टोलमा नै तीन हजार धार्नी आलु उत्पादन हुने गरेको छ । यी दुई गाउँबाट मात्रै झन्डै १० लाख किलो आलु उत्पादन भएको श्रेष्ठको भनाइ छ । ‘यस क्षेत्रका आठ सय परिवार आलु खेतीबाट परिवार धानिरहेका छन् । एक परिवारले आलुबाटै वार्षिक ५० हजार रुपैयाँ देखि दुई लाख रुपैयाँसम्म आम्दानी गर्छन्’, उनले भने ।

आलुका लागि उर्वर भूमि मानिएको जेठलका झन्डै ९५ प्रतिशत घरधुरी आलुको व्यावसायिक खेतीमा होमिएका छन् । सहकारी र स्थानीय ठेकेदारमार्फत यस क्षेत्रको आलु निर्यात हुने गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *