माओवादी केन्द्रको हातमा छ नेपालको भबिस्य :- प्रचण्ड

2Shares

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले जनताले मुलुकको राजनीतिको चाबी आफ्नो पार्टीको हातमा राखिदिएको बताएका छन् । उनले स्थानीय तह निर्वाचनमा तेस्रो राजनीतिक शक्ति बनाएर जनताले शंका पनि व्यक्त गरेको र आशा पनि राखेको बताए ।

माओवादी केन्द्रबाट स्थानीय तहमा निर्वाचित मेयर/अध्यक्ष र उपमेयर/उपाध्यक्षलाई अभिमुखीकरण प्रशिक्षण दिने क्रममा बुधबार दाहालले जनताका काम गर्नुपर्ने बताए । उनले भने, ‘हाम्रो पार्टीप्रति जनताको मोहभंग भइसकेको स्थिति छैन । तर यिनीहरू पनि विचलित हुने हुन् कि भन्ने चिन्ता जनतामा छ । जनताले मुलुकको राजनीतिको चाबी माओवादीको हातमा राखिदिएको जस्तो छ । माओवादी सच्चिएर अगाडि आओस् भन्ने जनताको चाहना छ,’ उनले भने ।

जनप्रतिनिधिलाई जनताको बीचमा पठाउनका लागि पार्टीले निर्देशिका नै जारी गर्ने अध्यक्ष दाहालको भनाइ थियो । उनले पार्टी महाधिवेशनको मर्म र भावनाअनुसार निर्देशन दिइएको निर्देशिका तयार हुने र त्यसैअनुसार स्थानीय तहमा जनप्रतिनिधिले काम गर्नुपर्ने निर्देशन दिएका छन् ।

उपदेश दिनका लागि यो आयोजना गरिएको होइन । उपदेश धेरै भइसकेको छ । कामकाजी कुरा चाहिएको छ । हाम्रा प्रतिनिधिलाई हेर्दा जनताले माओवादी सच्चिन लागेको रहेछ भन्ने हुनुपर्‍यो,’ उनले भने ।

कार्यक्रममा जनप्रतिनिधिलाई अध्यक्ष पुष्पकमल दाहाल, नेता नारायणकाजी श्रेष्ठ, वर्षमान पुन, जनार्दन शर्मा, पूर्वमुख्यसचिव लिलामणि पोखरेल, गिरिरराजमणि पोखरेल, मुक्ति प्रधान, खिमलाल देवकोटा, उर्मिला अर्याल, राष्ट्रिय योजना आयोगका सदस्य रामकुमार फुयाल, चन्द्रकान्त भण्डारी, मीनबहादुर श्रेष्ठलगायतले प्रशिक्षण दिने कार्यक्रम छ । माओवादी केन्द्रले देशभर १ सय २१ स्थानीय तहका मेयर/अध्यक्ष जितेको छ भने १ सय २६ स्थानीय तहमा उपमेयर/उपाध्यक्ष विजयी भएको थियो ।

यो पनि हेर्नुहोस,लोसपा र जनमत पार्टी ‘रेड जोन’मा
स्थानीय तहको निर्वाचन परिणाम हेर्दा महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी नेपाल र सीके राउत नेतृत्वको जनमत पार्टी प्रतिनिधिसभा तथा प्रदेशसभा चुनावपछि राष्ट्रिय पार्टी बन्नेमै आशंका देखिएको छ ।

निर्वाचन आयोगको तथ्याङ्क अनुसार हालै सम्पन्न स्थानीय तह चुनावमा लोकतान्त्रिक समाजवादी पार्टीले पालिका प्रमुख र उपप्रमुखका लागि कुल दुई लाख ४३ हजार ८३१ मत प्राप्त गरेको छ । अर्थात् यो पार्टीले कुल मतको २.१ प्रतिशत मात्र मत पाएको छ ।

२०७४ को निर्वाचनमा राजपा नेपालको नामबाट सहभागी यो पार्टीले त्यतिबेला ३.३ प्रतिशत मत प्राप्त गरेको थियो ।लोसपाले २०७४ को स्थानीय चुनावमा २५ वटा पालिका जितेको थियो भने अहिलेको चुनावमा १६ मा खुम्चिएको छ । संघ तथा प्रदेशको चुनावमा यही अनुपातमा मत आएमा यो पार्टी राष्ट्रिय दल बन्न वञ्चित हुन सक्ने देखिन्छ ।

राष्ट्रिय पार्टीका लागि मतसीमा (थ्रेसहोल्ड) ३ प्रतिशत छ । यसअघिको स्थानीय तहको चुनावमा यो पार्टीले थ्रेसहोल्ड कटाए पनि अहिले २.१ प्रतिशत मात्र मत आएका कारण अगामी चुनावलाई लिएर सो पार्टीका नेताहरु चिन्तित बनेका छन् ।

लोसपाका कार्यकारिणी सदस्य एवं प्रतिनिधिसभा सदस्य लक्ष्मणलाल कर्णले स्थानीय तहको चुनाव र प्रतिनिधिसभाको चुनाव फरक हुने भन्दै विगतमा पनि स्थानीय तहको चुनावको तुलनामा प्रतिनिधिसभाको चुनावमा बढी मत आएका कारण यसपटक पनि त्यस्तै हुन सक्ने बताए ।

लोसपाले प्रतिनिधिसभा चुनावमा पाँच प्रतिशतभन्दा बढी मत ल्याउने उनको दाबी छ । ‘यो स्थानीय तहको चुनावका लागि लोसपा नयाँ पार्टी थियो, संगठन पनि पूर्ण रुपमा बनेको थिएन,’ उनले भने, ‘नेता तथा कार्यकर्ता पनि पूर्ण रुपमा संगठित भइसकेका थिएनन्, अब आउने चुनावसम्म यी सबै काम लोसपाले गरेर अगाडि बढ्छ ।

लोसपा राष्ट्रिय पार्टी हो र आगामी दिनमा पनि एउटा शक्तिशाली राष्ट्रिय पार्टीको रुपमा रहन्छ ।’प्रतिनिधिसभाको निर्वाचनमा समानुपातिक निर्वाचन प्रणालीतर्फ कम्तीमा ३ प्रतिशत मत र पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणाली (प्रत्यक्षतर्फ) कम्तीमा एक सीट प्राप्त गर्ने दलले मात्र राष्ट्रिय दलको मान्यता पाउने व्यवस्था राजनीतिक दलसम्बन्धी ऐन, २०७३ को दफा ५२ मा गरिएको छ । राष्ट्रिय दल बन्न ३ प्रतिशत मतसहित प्रत्यक्षबाट एक सीट भए पनि जित्नुपर्ने हुन्छ ।

प्रतिनिधिसभामा लोसपाले प्रत्यक्षमा जित्ने सम्भावना छ तर स्थानीय तहको मत परिणाम हेर्दा यही अनुपातमा मत ल्याएको अवस्थामा लोसपालाई राष्ट्रिय पार्टी बन्न कठिन देखिन्छ ।

त्यस्तै, सीके राउत नेतृत्वको जनमत पार्टीले स्थानीय तह निर्वाचनमा जम्मा १ प्रतिशतमात्र मत पाएको छ ।सो पार्टीले स्थानीय तहको चुनावमा एकलाख १५ हजार ४६५ मत प्राप्त गरेको छ । जनमत पार्टीले सम्पूर्ण मतको एक प्रतिशत मतमात्र प्राप्त गरेको छ ।

उसले मधेस प्रदेशको सप्तरीमा दुई वटा पालिका जितेको छ । त्यसबाहेक केही वडा र सदस्यहरु जितेको छ ।स्थानीय तहमा जनमतलाई प्राप्त मतको आधारमा प्रतिनिधिसभा चुनावमा प्रत्यक्षतर्फ सीट आउने सम्भावना निकै कम देखिन्छ ।

प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ६० को उपदफा (११) ले ‘समानुपातिक निर्वाचन प्रणालीतर्फको कुल सदर मतको तीन प्रतिशत वा सोभन्दा बढी मत प्राप्त गर्ने दलको तर्फबाट मात्र उम्मेदवार निर्वाचित हुनेछ’ भन्ने प्रावधान छ भने सोही दफाको उपदफा (१२) मा ‘दलहरूले प्राप्त गरेको कुल सदर मत गणना गर्दा तीन प्रतिशतभन्दा कम मत प्राप्त गर्ने दलले प्राप्त गरेको मत दलले प्राप्त गरेको कुल मतमा गणना गरिने छैन’ भन्ने उल्लेख छ ।

जनमत पार्टीका उपाध्यक्ष अब्दुल खानले प्रतिनिधिसभाको चुनावमा पाँच लाख मत ल्याउने लक्ष्य लिएको बताए । ‘स्थानीय तहको चुनावजस्तो अवस्था अब रहने छैन, हामी राष्ट्रिय पार्टी बनाउँछौं,’ उनले भने, ‘यो स्थानीय चुनाव हाम्रो पहिलो चुनाव थियो, यसमा हामीले धेरै कुरा सिक्यौँ, आगामी चुनावमा ती कमी कमजोरीलाई सुधार गर्दै अगाडि बढ्छौँ ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *