देशभर बाढी–पहिरोको कहर : १२ जनाको मृत्यु, ७ जना बेपत्ता, नवलपरासीमा १,१०० भन्दा बढीको उद्धार

0Shares

थाङमिचागु डटकम संवाददाता
चरिकोट दोलखा

असोज ११ । अविरल वर्षाका कारण देशका विभिन्न क्षेत्रमा आएको बाढी र पहिरोले जनजीवन प्रभावित बनेको छ। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार पछिल्लो बाढी–पहिरोका घटनामा परी देशभर १२ जनाको मृत्यु भएको छ भने ७ जना अझै बेपत्ता छन्।

विशेषगरी नवलपुर, चितवन, पाल्पा र पर्वत लगायतका जिल्लामा बाढी तथा पहिरोको जोखिम बढेको छ। प्रभावित क्षेत्रमा सुरक्षा निकाय तथा उद्धार टोलीले खोज तथा उद्धार कार्यलाई तीव्रता दिएका छन्।

नवलपरासी क्षेत्रमा नारायणी नदी तथा आसपासका खोलामा पानीको सतह बढेपछि १,१०० भन्दा बढी नागरिकलाई सुरक्षित स्थानमा स्थानान्तरण गरिएको छ।

यस्तै, दुर्गम तथा पहिरो प्रभावित म्याग्दीका विभिन्न स्थानमा फसेका नागरिकलाई नेपाली सेना तथा उद्धार टोलीले हेलिकप्टरमार्फत उद्धार गरिरहेको छ।

प्राधिकरणका अनुसार आइतबार रातिसम्म देशका केही क्षेत्रमा भारी वर्षा जारी रहने तथा नदीहरूमा जलसतह थप बढ्न सक्ने सम्भावना छ। त्यसैले नदी तथा खोलाको तटीय क्षेत्र, डुबान सम्भावित स्थान र पहिरोको जोखिम भएका क्षेत्रमा बसोबास गर्ने नागरिकलाई उच्च सतर्कता अपनाउन तथा जोखिम देखिए तत्काल सुरक्षित स्थानमा जान आग्रह गरिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *