वडा सदस्यको उदाहरणीय पहल: कानुनी पहिचानसँगै सम्मिरे दमाईले पाए नागरिकता ।।।
2026-07-17भाजु ठान्टी थाङ्मी गोडाइचा: गाउँ विकास र थामी समुदायको उत्थानमा समर्पित नेतृत्व ।।।
2026-07-16
वडा सदस्यको उदाहरणीय पहल: कानुनी पहिचानसँगै सम्मिरे दमाईले पाए नागरिकता ।।।
वडा सदस्यको उदाहरणीय पहल: कानुनी पहिचानसँगै सम्मिरे दमाईले पाए नागरिकता ।।।
हेम प्रसाद पासवान,साउन १, सिराहा ।
“सेवा नै धर्म हो” भन्ने मान्यतालाई आत्मसाथ गर्दै सिराहा जिल्लाको धनगढीमाई नगरपालिका वडा नं. १३ का वडा सदस्य सन्तोष पूर्वछाने मगरले एउटा प्रशंसनीय र उदाहरणीय कार्य गरेका छन् ।
स्थानीय गाउँघरमा मागेर आफ्नो जीविकोपार्जन गर्दै आएका र बोल्न समेत नसक्ने अवस्थाका असहाय नागरिक सम्मिरे दमाईको हातमा नागरिकता थमाएर वडा सदस्य मगरले असल जनप्रतिनिधिको पहिचान प्रस्तुत गरेका हुन् ।
नेपालको संविधान र नागरिकता ऐन, २०७२ बमोजिम प्रत्येक नेपाली नागरिकलाई पहिचान र नागरिकताको हक सुनिश्चित गरिएको भए तापनि संरक्षणको अभावमा दमाई लामो समयदेखि यो कानुनी अधिकारबाट वञ्चित थिए । नागरिकता प्रमाणपत्र नहुँदा उनी सामाजिक सुरक्षा ऐन, २०७५ अन्तर्गत राज्यले अपाङ्गता भएका तथा विपन्न नागरिकलाई प्रदान गर्ने सामाजिक सुरक्षा भत्ता लगायतका सेवा सुविधा लिनबाट समेत रोकिएका थिए ।
सोही अवस्थालाई मध्यनजर गर्दै वडा सदस्य सन्तोष पूर्वछाने मगर आफैँले अभिभावकको भूमिका निर्वाह गरेर आवश्यक कानुनी तथा प्रशासनिक प्रक्रिया अगाडि बढाएका थिए । उनको निरन्तरको सक्रियता र पहलमा ईलाका प्रशासन कार्यालय लहानबाट सम्मिरे दमाईको नेपाली नागरिकताको प्रमाणपत्र जारी गराई पिडितको हातमा थमाइएको छ ।
”नागरिकता पाउनु हरेक नेपालीको कानुनी अधिकार हो । बोल्न नसक्ने र असहाय नागरिकलाई कानुनी पहिचान दिलाएर राज्यको मूल प्रवाहमा जोड्न पाउनु नै वास्तविक जनसेवा हो ।”
— सन्तोष पूर्वछाने मगर, वडा सदस्य
वर्षौँदेखि राज्यको सेवा सुविधा र मौलिक हकबाट वञ्चित रहेका एक विपन्न नागरिकले जनप्रतिनिधिको पहलमा नागरिकता पाएपछि यतिबेला स्थानीय स्तरमा वडा सदस्य मगरको चौतर्फी प्रशंसा र चर्चा भइरहेको छ ।




