रिखुवा खोलामा पक्की पुल निर्माण सम्पन्न, माई–लारुम्बा यात्रा अब सहज ।।।

0Shares

रिखुवा खोलामा पक्की पुल निर्माण सम्पन्न, माई–लारुम्बा यात्रा अब सहज

इलाम | असार ३२, २०८३

इलामको माई नगरपालिका–६ स्थित रिखुवा खोलामा निर्माणाधीन पक्की पुलको निर्माण सम्पन्न भएको छ। आत्मानन्द मार्गअन्तर्गत निर्माण गरिएको यो पुल सञ्चालनमा आएसँगै माई नगरपालिका र माङसेबुङ गाउँपालिकाबीचको आवतजावत सुरक्षित, सहज र भरपर्दो बनेको छ।

सङ्घीय सरकारअन्तर्गत पुल सेक्टर धरानको समन्वयमा निर्माण सम्पन्न भएको पुलमा करिब रु ३० करोड ६४ लाख ८४ हजार खर्च भएको आयोजना प्रमुख इन्जिनियर आशिष थापा मगरले जानकारी दिएका छन्। प्रारम्भिक ठेक्का रु ३३ करोड ९८ लाख २२ हजार ५८९ मा आह्वान गरिएको भए पनि प्रतिस्पर्धात्मक प्रक्रियामार्फत कम लागतमा सम्झौता भई तोकिएको समयभन्दा अगावै निर्माण सम्पन्न भएको हो।

यसअघि वर्षायाममा रिखुवा खोलामा पानीको बहाव बढ्दा स्थानीयवासी, विद्यार्थी, बिरामी तथा तीर्थयात्रीले जोखिमपूर्ण यात्रा गर्नुपर्ने बाध्यता थियो। अब पुल सञ्चालनमा आएपछि उक्त समस्या हट्ने विश्वास गरिएको छ।

स्थानीयका अनुसार पुल निर्माणसँगै धार्मिक तथा पर्यटकीय गन्तव्य लारुम्बासम्म पुग्ने यात्रा थप सहज बनेको छ। साथै माई नगरपालिका र माङसेबुङ गाउँपालिकाबीचको सडक सञ्जाल मजबुत हुँदै क्षेत्रीय विकास, व्यापारिक गतिविधि र पर्यटन प्रवर्द्धनमा समेत सकारात्मक टेवा पुग्ने अपेक्षा गरिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *