श्री कालिञ्चोक माध्यमिक विद्यालय थाङ्मीचागुमा पुस्तकालय उद्घाटन तथा विद्यालय व्यवस्थापन समिति (विव्यस) गठन
2026-01-11नेपाली राजदूतावास मलेसिया, नेपाल थामी समाज मलेसिया र नेपाल आदिवासी जनजाति महासंघको समन्वयमा मनबहादुर थामी स्वदेश फिर्ता
2026-01-11नेपाली दूतावास र एनआरएनए मलेसिया उपाध्यक्ष बालध्वज लिम्बूको सहयोगमा नासिर मियाको सफल उद्धार
2026-01-09
नेपाली राजदूतावास मलेसिया, नेपाल थामी समाज मलेसिया र नेपाल आदिवासी जनजाति महासंघको समन्वयमा मनबहादुर थामी स्वदेश फिर्ता
नेपाली राजदूतावास मलेसिया, नेपाल थामी समाज मलेसिया र नेपाल आदिवासी जनजाति महासंघको समन्वयमा मनबहादुर थामी स्वदेश फिर्ता
क्वालालम्पुर — ११ जनवरी २०२६
नेपाली राजदूतावास मलेसिया, नेपाल थामी समाज मलेसिया र नेपाल आदिवासी जनजाति महासंघ मलेसियाको समन्वय तथा सहजीकरणमा बागमती प्रदेश, दोलखा जिल्ला, बिगु गाउँपालिका वडा नं. ८ थाङ्मिचागु निवासी मनबहादुर थामीलाई स्वदेश नेपाल फर्काउन सफल भएको छ।
मनबहादुर थामी विगत ६–७ वर्षदेखि मलेसियामा अवैधानिक रूपमा श्रम गर्दै आइरहनुभएको थियो। कानुनी हैसियत नहुँदा उहाँ अत्यन्तै कठिन, जोखिमपूर्ण र असुरक्षित अवस्थामा जीवन बिताउन बाध्य हुनुहुन्थ्यो। न रोजगारीको सुरक्षा, न स्वास्थ्य सेवाको पहुँच, न त स्वदेश फर्कने सहज वातावरण — यस्तो पीडादायी अवस्थालाई ध्यानमा राख्दै सम्बन्धित संघसंस्था र दूतावासले मानवीय दायित्वका साथ संयुक्त पहल थालेका हुन्।
यस अभियानमा नेपाली राजदूतावास मलेसियाको सक्रिय, संवेदनशील र निर्णायक भूमिका अत्यन्तै महत्वपूर्ण रहेको जनाइएको छ। आवश्यक कागजी प्रक्रिया, यात्रा स्वीकृति, समन्वय तथा कानुनी व्यवस्थापनमा दूतावासले देखाएको तत्परताले प्रक्रिया सहज र छिटो अघि बढ्न सकेको बताइएको छ।
त्यसैगरी, यस सम्पूर्ण अभियानमा नेपाल थामी समाज मलेसियाका अध्यक्षको विशेष भूमिका र नेतृत्वदायी योगदान उल्लेखनीय रहेको छ। अध्यक्षज्यूको प्रत्यक्ष चासो, निरन्तर पहल, संगठनात्मक निर्णय तथा सम्बन्धित निकायसँगको समन्वयकै कारण अभियानले ठोस रूप लिएको संस्थागत स्रोतले जनाएको छ।
नेपाल थामी समाज मलेसियाका समाजसेवी संयोजक तथा क्वालालम्पुर इन्चार्ज श्री पल ठान्टी थाङ्मीको विशेष पहलमा डिसेम्बर २६, २०२५ देखि जनवरी ११, २०२६ सम्म १७ दिनको अवधिमा मनबहादुर थामीका लागि सम्पूर्ण खाना र बसोबासको व्यवस्था गरिएको थियो। यही अवधिमा आवश्यक व्यवस्थापन, सहजीकरण तथा समन्वय पूरा गरी उहाँलाई सुरक्षित रूपमा स्वदेश पठाउने वातावरण निर्माण गरिएको हो।
नेपाली राजदूतावास मलेसिया, नेपाल थामी समाज मलेसिया र नेपाल आदिवासी जनजाति महासंघ मलेसियाको संयुक्त प्रयास, सहकार्य र एकताबाट उहाँलाई सुरक्षित रूपमा नेपाल पठाउन सफल भएको जनाइएको छ।
मनबहादुर थामी आज (११ जनवरी २०२६) मलेसियाको समयअनुसार बेलुका ७:०० बजे एयर मलेसिया विमानमार्फत नेपाल प्रस्थान गर्दै हुनुहुन्छ।
यस मानवीय कार्यमा प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा सहयोग गर्ने सम्पूर्ण संघसंस्था, अभियन्ता, समाजसेवी, दाताहरू तथा सहयोगी हातहरूप्रति नेपाल थामी समाज मलेसियाले हार्दिक धन्यवाद तथा आभार व्यक्त गरेको छ। संस्थाले आगामी दिनमा पनि संकटमा परेका, अलपत्र परेका तथा कानुनी समस्या भोगिरहेका थामी तथा अन्य नेपाली नागरिकहरूलाई निरन्तर सहयोग गर्ने प्रतिबद्धता जनाएको छ।




