माथिल्लो तामाकोसी आयोजनामा क्षति पुगेसँगै आउँदो हिउँदयाममा लोडसेडिङ हुने त होइन भन्ने चिन्ता

0Shares

अपर तामाकोशीमा कति भयो क्षति, कहिले हुन्छ संचालन ? 

थाङमिचागु डटकम संवाददाता

काठमाडौं । माथिल्लो तामाकोसी जलविद्यूत आयोजनामा बाढीपहिरोले पु¥याएको क्षतिको एकिन बिवरण आउन सकेको छैन । आयोजना अधिकारीहरुका अनुसार क्षति मूल्यांकनको काम भैरहेको छ । अविरल वर्षासँगै गत असोज १२ गते आएको पहिरोले आयोजनाको बाँधस्थलको कन्ट्रोल रुममा पूर्ण रुपमा क्षति पुगेको छ ।

हेडवर्क्स, सेटलिङ बेसिन र कल्भर्टमा पनि फेहोरहरु थुप्रिएको छ । यस आयोजनामा काम गर्ने २ जना कर्मचारी र २ जना सुरक्षाकर्मीको मृत्यु भएको थियो । यद्यपी ती संरचनामा के कति क्षति पुगेको हो भन्ने बारे आयोजनाले एकिन बिवरण सार्वजनिक गरेको छैन । आयोजनामा दुई अर्ब बराबरको क्षति पुगेको आयोजना अधिकारीहरुको प्रारम्भिक अनुमान छ । 

“आयोजनामा के कति क्षति भएको छ भन्ने अझै यकिन भएको छैन । यसको पूर्ण जानकारी आएपछि मात्रै थाहा हुन्छ । आयोजनाका कार्यकारी अधिकृत मोहन गौतमले भने ।”

प्रारम्भिक रूपमा हेर्दा क्षतिको यकिन गर्न सकिने अवस्था नरहेको गौतमको भनाई छ । “कति क्षति भएको भनेर हेर्न काम हुँदै छ,” उनी भन्छन्, “हालसम्म हेर्दा करिब दुई अर्बको हाराहारीमा पुग्ने देखिएको छ ।”

कहिले हुन्छ सचालन ? 

विद्यूत प्राधिकरणका अनुसार आयोजनाबाट तत्काल विद्युत् उत्पादन हुने सम्भावना न्यून छ । अविरल वर्षापछिको बाढीपहिरोका कारण क्षति पुगेपछि यही असोज ११ गतेदेखि आयोजनाबाट विद्युत उत्पादन बन्द छ । तिहारसम्म एउटा डिस्यान्डरबाट न्यूनतम क्षमतामा चलाउने योजना छ, कार्यकारी अधिकृत गौतमले भने ।” आयोजना पूर्ण रूपमा सञ्चालनमा आउन करिब ६/७ महिना लाग्ने प्राधिकरणको अनुमान छ ।

लोडसेडिङ हुने चिन्ता
माथिल्लो तामाकोसी आयोजनामा क्षति पुगेसँगै आउँदो हिउँदयाममा लोडसेडिङ हुने त होइन भन्ने चिन्ता छ । सुक्खायामका निम्ति नेपाल विद्युत् प्राधिकरणको ‘ब्याकअप’का रूपमा रहेको यो आयोजनामा क्षति पुगेपछि हिउँदमा कसरी प्रणाली सन्तुलनमा ल्याउने भन्ने चिन्ता थपिएको छ ।

प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ प्रत्येक वर्ष सुक्खायाम लम्बिँदै गएको अवस्थामा तामाकोसी आयोजना सञ्चालन हुन नसक्दा हिउँदमा प्राधिकरणले कसरी बिजुली सन्तुलन मिलाउने भन्ने चिन्ता थपिएको बताउँछन् ।

प्राधिकरणले यसअघि हिउँदमा दिउँसो पानी जम्मा गर्ने र उच्च माग हुने समयमा सञ्चालन गरी माग पूर्ति गर्दै आएको थियो । माथिल्लो तामाकोसी चारदेखि ६ घण्टालाई पुग्ने ‘पिकिङ’ जलाशय आयोजना समेत हो ।

यहाँ पानी जम्मा गरेर उच्च मागको समयमा ४५६ मेगावाट विद्युत् उत्पादन गर्ने गरिएको छ । बाढीले आयोजना बन्न लामो समय लागेको खण्डमा गत वर्ष जगेडा उत्पादनमा रहेको नेपालको ऊर्जा क्षेत्र यसपालि धेरै घाटामा जानेछ ।

बाढीपहिरोका कारण दोलखाको बिगु गाउँपालिका–१, लामाबगरस्थित आयोजनाको बाँध क्षेत्रका संरचनामा क्षति पुगेको हो ।  
तामाकोसी आयोजनाको डिजाइन डिस्चार्ज (पानीको बहाव) ६६ क्युमेक हो । उक्त दिन तामाकोसी नदीको बहाव बाँधस्थलमा ४६१ क्युमेक पुगेको थियो ।

प्राधिकरणसँग भएको विद्युत् खरिद–बिक्री सम्झौताबमोजिम नदीमा पानीको बहाव २५० क्युमेक हुनासाथ विद्युत्गृह बन्द गर्नुपर्ने प्रावधान छ । सोहीअनुसार असोज ११ गते बेलुका ७ बजेदेखि आयोजना बन्द गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *