रुवान्डामा मारबर्ग भाइरसको प्रकोप, ६ जनाको मृत्यु र २० जना गम्भीर संक्रमित

0Shares

रुवान्डामा मारबर्ग भाइरसको प्रकोप, ६ जनाको मृत्यु र २० जना गम्भीर संक्रमित

सोमबार १४ असोज २०८१

थाङ्मीचागु डटकम सम्बादाता

काठमाडौँ । सन् २०२० देखि सारा विश्व कोभिड–१९ को महामारीसँग पाैठाजोरी खेलिरहेको छ। हालसम्म यो भाइरसले ७० करोडभन्दा बढी मानिसलाई आफ्नो सिकार बनाइसकेको छ। कोरोना भाइरसपछि विश्वभर मंकीपक्स अर्थात् एमपक्सले सबैभन्दा बढी मान्छेको ज्यान लियो। यो आजभोलि प्रमुख स्वास्थ्य जोखिम बनिरहेको छ। कोरोना र एमपक्सकै बीच फेरि नयाँ सङ्क्रामक रोगले स्वास्थ्य विज्ञहरूको चिन्ता बढाएको छ।

अफ्रिकी देश रुवान्डामा मारबर्ग भाइरसको प्रकोप देखिएको छ। अहिलेसम्म त्यहाँ २६ जनामा सङ्क्रमण पुष्टि भएको छ। यसका कारण ६ जनाको ज्यान गइसकेको छ। विश्व स्वास्थ्य संगठन (WHO)को प्रतिवेदनअनुसार रुवान्डाका ३० मध्ये सात जिल्लामा भाइरसको सङ्क्रमण देखिएको छ।

२६ मध्ये २० जना गम्भीर छन्। सबैलाई आइसोलेसनमा राखिएको छ। सङ्क्रमितको सम्पर्कमा आएका करिब १६० जनाको निगरानी भइरहेको छ। अफ्रिकी देशहरूमा यसको बढ्दो खतराबारे विश्व स्वास्थ्य विशेषज्ञहरूले अलर्ट जारी गरेका छन्। मारबर्ग भाइरसलाई कयौँ मामिलामा चुनौतीपूर्ण भनिएको छ।

यसको मृत्यु दर ८८ प्रतिशतसम्म छ जुन विज्ञहरूका लागि सबैभन्दा ठुलो चिन्ताको विषय बनेको छ। यो भाइरस इबोला परिवारको भएको विश्वास गरिएको छ। यसअघि पनि यसका सङ्क्रमित भेटिएका थिए। कोरोना भाइरस जस्तै यो चमेरोबाट मानिसमा सर्छ। सङ्क्रमित व्यक्तिको शरीरको तरल पदार्थको सम्पर्कमा आएका कारण एक व्यक्तिबाट अर्को व्यक्तिमा सर्ने जोखिम हुन्छ।

भाइरसलाई रोक्न र सङ्क्रमितमा देखिन सक्ने जटिलतालाई न्यूनीकरण गर्ने प्रयासमा सतर्क रहन डब्लुएचओले सबैलाई अपिल गरेको छ। क्लिनिकल हेरचाह र सङ्क्रमण रोकथाम र नियन्त्रणमा गम्भीर ध्यान दिनुपर्ने विज्ञहरूले बताइरहेका छन्। डब्ल्यूएचओका अनुसार हाल यो भाइरसको न त कुनै खास उपचार छ न त यसलाई रोक्न कुनै खोप नै बनेको छ।

औषधि र इम्युनोथेरापीहरू विकास गर्ने प्रयास भइरहेका छन्। रुवान्डाको स्वास्थ्य मन्त्रालयले सङ्क्रमण फैलिन नदिन उपायहरूसँगै कन्ट्याक्ट ट्रेसिङ र परीक्षणलाई बढाउँदै गइरहेको छ। सङ्क्रमणबाट बच्न मानिसहरूलाई सामाजिक दूरीको पालना गरिरहन सल्लाह दिइएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *