कुटपिटपछिको विवाद: कृषि तथा वन विज्ञान विश्वविद्यालय बन्धक, शैक्षिक गतिविधि ठप्प

0Shares

थाङ्मीचागु डटकम सम्बादाता २७ भदौ २०८१

कुटपिटपछिको विवाद: कृषि तथा वन विज्ञान विश्वविद्यालय बन्धक, शैक्षिक गतिविधि ठप्प

काठमाडौँ – चितवनको रामपुरस्थित कृषि तथा वन विज्ञान विश्वविद्यालय भदौ १५ गतेदेखि तालाबन्दीको चपेटामा परेको छ। नेपाली कांग्रेस निकट नेपाल विद्यार्थी संघ (नेविसंघ) र नेकपा एमाले निकट अनेरास्ववियुबीचको कुटपिटपछि विश्वविद्यालयको शैक्षिक गतिविधि ठप्प भएको हो।

भदौ १३ गते छात्रबासको विषयलाई लिएर नेविसंघ र अनेरास्ववियुका कार्यकर्ताबीच झडप भएको थियो। नेविसंघका अनुसार झडपमा उनीहरूका केही कार्यकर्ता घाइते भएका छन्। नेविसंघले अनेरास्ववियुका कार्यकर्तामाथि आफ्ना साथीहरूको कुटपिट गरेको आरोप लगाउँदै घटनामा संलग्नमाथि कारबाही र घाइतेहरूको उपचार खर्चको माग राख्दै भदौ १५ गतेदेखि विश्वविद्यालयमा तालाबन्दी गरेको हो।

झडपमा नेविसंघका केन्द्रीय क्याम्पस इकाई समितिका पूर्व अध्यक्ष सुभम सिंह ठकुरी, उपाध्यक्ष अभिषेक ओली र शुसील क्षेत्री, तथा अन्य विद्यार्थीहरू घाइते भएका थिए। नेविसंघले उनीहरूको उपचार खर्च विश्वविद्यालयले व्यहोर्नुपर्ने र दोषीलाई अनुशासनात्मक कारबाही गर्दै निष्काशन गर्नुपर्ने माग राखेको छ।

यता अनेरास्ववियुले भने घटनामा आफ्नो संलग्नता अस्वीकार गरेको छ। प्रहरी अनुसन्धानका क्रममा केही व्यक्तिहरूलाई पक्राउ गरिएको छ र उनीहरूविरुद्ध ज्यान मार्ने उद्योग तथा अंगभंगको अभियोगमा मुद्दा दर्ता भएको छ।

तालाबन्दीका कारण विश्वविद्यालयमा पठनपाठन पूर्ण रूपमा ठप्प भएको छ भने स्नातक तहको प्रवेश परीक्षा समेत स्थगित भएको छ। छात्रबासमा आधिपत्य जमाउने विषयमा वर्षौँदेखि यी दुई विद्यार्थी संगठनबीच झडप हुँदै आएको इतिहास रहेको छ, र यस पटक पनि यसै विषयले गर्दा घटना भएको हो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *