बाढीपहिरो प्रभावित क्षेत्रमा ८ हजार ७ सयभन्दा बढी नेपाली सेना परिचालन
2026-09-11बबिताले सडकमा बच्चा जन्माएपछि राजविराज अस्पतालका ६ कर्मचारी कामकाजबाट अलग
2026-09-11
मधेसमा सुविधा सम्पन्न रङ्गशाला बनाउने: युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरी
मधेसमा सुविधा सम्पन्न रङ्गशाला बनाउने: युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरी
थाङ्मीचागु डटकम सम्बादाता
सोमबार, १७ भदौ २०८१
सिरहा — युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले मधेस प्रदेशमा सुविधा सम्पन्न रङ्गशाला बनाउने प्रतिबद्धता जनाएका छन्। उनले आफ्नो कार्यकालमा मधेस प्रदेशमा हालसम्म एउटा पनि रङ्गशाला नभएकाले अब एक सुविधा सम्पन्न रङ्गशाला निर्माण गर्ने योजना रहेको बताए।
सिरहाको लहानमा नेपाली कांग्रेस क्षेत्रीय कार्य समिति क्षेत्र नं. १ सिरहाले आयोजना गरेको स्वागत तथा सम्मान कार्यक्रममा मन्त्री चौधरीले प्रदेशको राजधानी जनकपुरमा रङ्गशाला नभएको प्रसङ्ग उल्लेख गरे। उनले भने, “यहाँका अन्य जिल्लामा पनि छैन, अनि कसरी मधेसमा खेलकुदको विकास हुन्छ?”
मन्त्री चौधरीले आगामी दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिता कर्णाली प्रदेशमा यो वर्षभित्र आयोजना हुने जानकारी दिए। त्यसपछि ११औँ संस्करणको राष्ट्रिय खेलकुद प्रतियोगिता मधेस प्रदेशमै हुने र त्यसका लागि सुविधा सम्पन्न रङ्गशाला निर्माण गरिने उनको भनाइ छ।
उनले खेलकुदले राष्ट्रको पहिचान र प्रतिष्ठा बढाउने भएकाले राष्ट्रको सर्वाङ्गिण विकासका लागि खेलकुदको विकास अनिवार्य भएको धारणा व्यक्त गरे। उनले अभिभावकहरूलाई आफ्ना छोराछोरीलाई खेलकुदमा सहभागी गराउन आग्रह गरे।
यसैक्रममा मन्त्री चौधरीले वीरगञ्ज, जनकपुरधाम, र राजविराजमा खेलकुद पूर्वाधार निर्माणलाई तीव्रता दिने योजना रहेको बताए। उनले केही दिनअघि वीरगञ्जस्थित नारायणी रङ्गशालाको निरीक्षण गरेको र आइतबार मात्र जनकपुरधामको रामजानकी रङ्गशालाको निरीक्षण गरेको जानकारी पनि दिए।
कार्यक्रममा नेपाली कांग्रेस सिरहाका जनप्रतिनिधि, नेता तथा कार्यकर्ताले मन्त्री चौधरीलाई स्वागत र सम्मान गर्दै मधेसको खेलकुद क्षेत्रलाई प्राथमिकतामा राख्न आग्रह गरेका थिए।





