बागमती बाढीको चपेटामा सधैं पर्ने बल्खु तरकारी बजार

0Shares

बागमती बाढीको चपेटामा सधैं पर्ने बल्खु तरकारी बजार
बागमतीका सहायक नदीहरूमा पानीको बहाब बढ्ने बित्तिकै बागमतीको निशानामा बल्खु तरकारी बजार पर्ने गरेको छ । मंगलबार रातिको अविरल वर्षाले बल्खु खोलाको बहाब बढ्दा बल्खु तरकारी बजार डुब्यो, जसबाट तरकारी व्यवसायीले करोडौंको क्षति बेहोरे ।

थाङमिचागु डटकम संवाददाता

१६ साउन, काठमाडौं । काठमाडौं उपत्यकामा भारी वर्षा हुँदा प्रायः यहाँका नदीमा पानीको बहाब उच्च हुन्छ । जसको असर नदी किनाराका बस्तीसँगै बल्खु तरकारी बजारमा पर्न जान्छ ।

उपत्यकाभित्र बग्ने हनुमन्ते, मनोहरा, गोदावरी, मनमती, विष्णुमती, धोबीखोला, टुकुचा लगायत सहायक नदी बागमतीमा मिसिएर बल्खु पुग्दा ठूलो रूप लिन्छ ।

मंगलबार राति भारी वर्षा हुँदा यी नदीमा पानीको बहाब उच्च हुन गयो । यसको प्रत्यक्ष असर नदी किनाराका बस्ती र बल्खु तरकारी बजारमा पर्न गयो । बाढी बागमती करिडोर क्षेत्रका सडकमा समेत पस्दा आवागमन समेत प्रभावित हुन गयो ।

विज्ञहरूका अनुसार भारी वर्षापछि सहरमा बग्ने पानी सोस्ने खाली जमिन कम हुँदा वर्षाको पानी सिधै नदीहरूमा पुग्दा बहाब उच्च हुने गर्दछ ।

बागमतीका सहायक नदीहरूमा पानीको बहाब बढ्ने बित्तिकै बागमतीको निशानामा बल्खु तरकारी बजार पर्ने गरेको छ ।

मंगलबार रातिको अविरल वर्षाले बल्खु खोलाको बहाब बढ्दा बल्खु तरकारी बजार डुब्यो, जसबाट तरकारी व्यवसायीले करोडौंको क्षति बेहोरे ।

बल्खु तरकारी बजार डुब्दा व्यवसायीका तरकारी, जिन्सी लगायत सामग्रीमा क्षति पुगेको तरकारी बजार समितिले जनाएको छ । बाढीले तरकारी बोक्न प्रयोग हुने सवारीसाधन समेत पल्टाएको थियो ।

वर्षेनि डुब्छ बल्खु

‘भारी वर्षा हुने बित्तिकै बल्खु तरकारी बजारदेखि सुन्दरीघाटसम्म डुबान परिहाल्छ । यो सधैं बर्खामा हुने समस्या हो । पानीको बहाब बढ्दा अन्त डुबान मात्रै भए पनि यहाँ भने बाढीले क्षति नै पुर्‍याउँछ,’ काठमाडौं महानगर प्रहरी बल विपद् तथा उद्धार शाखाका प्रहरी निरीक्षक प्रकाश पण्डित भन्छन् ।


बल्खु तरकारी बजार डुबानमा
बल्खु तरकारी बजार र यस आसपास ७ फिटसम्म डुबान हुँदा नदी टहराहरू बगाउने गरेको उनी बताउँछन् ।

बल्खु तरकारी बजारभित्र हिलो सहित बाढी छिर्दा धेरै क्षति हुने गरेको पण्डितले बताए ।

‘बल्खु तरकारी बजार बागमती नदीभन्दा ४–५ फिट मात्रै उचाइमा छ । बागमती नदीमा बहाब ४ फिट बढ्ने बित्तिकै बाढी तरकारी बजारमा पस्छ, त्योभन्दा बढी भए पूरै डुबान भएर क्षति हुन्छ,’ पण्डितले भने ।

बल्खु तरकारी बजार व्यवस्थापन समितिका कार्यकारी निर्देशक रामकृष्ण कुँवरका अनुसार बल्खु तरकारी बजार डुब्न थालेको चार वर्ष भइसकेको छ ।

‘सन् २०२१ भन्दा पहिले बल्खु तरकारी बजार डुबेको थाहा थिएन, पछिल्लो चार वर्षदेखि लगातार तरकारी बजार डुबिरहेको छ । २०२४ मा दुई पटक तरकारी बजार डुबिसकेको छ । जसबाट व्यवसायीले ठूलो क्षति बेहोर्नुपरेको छ,’ कुँवरले थाङमिचागु डटकम संवाददाता संग भने, ‘तरकारी बजारमा बाढी पसेर क्षति हुने गरेपछि केही व्यवसायी पलायन हुने अवस्थामा छन् ’

१ असोज २०६९ मा तत्कालीन प्रधानमन्त्री बाबुराम भट्टराईले बल्खु तरकारी बजार उद्घाटन गरेका थिए । जहाँ ५ सय ५० स्टल सञ्चालनमा छन् ।

मंगलबार रातिको बाढीले तरकारी बजारभित्रका सबै स्टल डुब्दा झन्डै ३ करोड रुपैयाँ बराबरको क्षति भएको कुँवर बताउँछन् ।

‘तरकारी बजार मात्रै होइन, यहाँ खाद्यान्न, बिउबिजन, फलफूल स्टल पनि छ । अहिले औसतमा प्रतिस्टल ५० हजार रुपैयाँको क्षति भएको हाम्रो अनुमान छ,’ उनले भने ।

कुँवर राज्यकै कारण तरकारी बजार डुब्ने गरेको आरोप लगाउँछन् ।

‘पहिले बागमती नदीबाट बालुवा झिक्न दिने गरिन्थ्यो, अहिले रोकिएको छ । जसका कारण बालुवाको तह माथि आउँदा नदीको बहाब बढ्ने बित्तिकै बजारमा पस्ने नै भयो,’ कुँवरले भने ।

बागमती नदी अतिक्रमणको चपेटामा पर्दा साँघुरिन पुगेको र यसैले समस्या बढेको कुँवर बताउँछन् ।

बागमतीको फैलावट ८० मिटरभन्दा धेरै हुनुपर्ने हो । तर, बागमती करिडोरमा भौतिक संरचना बन्दा त्यो खुम्चिएर ४० मिटर मात्रै बाँकी हुँदा समस्या भएको हो । यसको प्रत्यक्ष असर तरकारी बजारमा पर्न गएको छ,’ कुँवरले भने ।

अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिको निष्कर्ष पनि कुँवरकै जस्तो छ । बागमती नदीको ‘वाटर वे’ आवश्यकताभन्दा कम रहेको समितिको ठम्याइ छ । जसको असर नदी किनाराका बस्ती, करिडोरका संरचना एवम् बल्खु तरकारी बजारमा पर्न गएको हो ।

बागमती सभ्यताले गरेको हाइड्रोलोजिकल इन्जिनियरिङ अध्ययन अनुसार विष्णुमती दोभान तथा त्यसभन्दा तल्लो तटीय क्षेत्रमा वाटर वे न्यूनतम ८० मिटर हुनुपर्ने मापदण्ड सरकारले तोकेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *