पत्रकारलाई आक्रमण गर्ने समर्थक छुटाउन कोण सभा गर्दै हर्क साम्पाङ

0Shares

पत्रकारलाई आक्रमण गर्ने समर्थक छुटाउन कोण सभा गर्दै हर्क साम्पाङ
मेयर स‍-साना विवादमा अल्झिँदा बजेट भने अलपत्र

थाङमिचागु डटकम संवाददाता

धरान उपमहानगरपालिका मेयर हर्क साम्पाङ झन्डै दुई सातादेखि पत्रकार सन्जिता धमलाविरूद्ध फेसबुकमा लेख्नेदेखि लिएर सडक प्रदर्शनसम्म गरिरहेका छन्।

बुधबार उपचारका लागि बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरान पुगेकी पत्रकार धमलामाथि मेयर साम्पाङका ‘कोर टिम’ का सदस्यहरूले आक्रमण नै गरे।

अस्पताल परिसरमा आक्रमण गर्नेहरूलाई प्रहरीले पक्राउ गरेपछि यति बेला आक्रमणकारीको पक्षमा उभिँदै मेयर साम्पाङ उनीहरूको रिहाइको माग गर्दै सडकमा कोण सभा गरिरहेका छन्।

कुनै बेला धरानका विभिन्न सार्वजनिक पदमा बसेका व्यक्तिहरूलाई तिखो प्रश्न गर्दै स्वतन्त्र उम्मेदवार बनेर मेयर जितेका साम्पाङ आफूतिर सोझिने प्रश्नप्रति भने सधैं असहिष्णु देखिँदै आएका छन्। अघिल्लो वर्ष मात्रै आफूलाई प्रश्न गरेकै आधारमा धरानका एक युवालाई प्रहरीमा थुनाएका थिए। यसपटक पत्रकार धमलाले एउटा सार्वजनिक सुनुवाइमा गरेको प्रश्नलाई लिएर पत्रकार धमलाविरूद्ध निरन्तर वैरभाव प्रकट गरिरहेका छन्, त्यो पनि सार्वजनिक रूपमै।

असार दोस्रो साता धरानमा आयोजित एउटा सार्वजनिक सुनुवाइ कार्यक्रममा पत्रकार धमलाले ‘धरानका जनप्रतिनिधिहरूले नागरिकता बनाउँदा पनि घुस लिएको गुनासो आउन थालेको छ’ भन्ने प्रश्न गरेकी थिइन्। उनले यस्तो भनेको भोलिपल्टैदेखि मेयर साम्पाङले फेसबुकमा धमलाविरूद्ध लेख्न थाले।

नगरपालिकामा आएर प्रमाण दिनु भन्ने शैलीमा लेखेका साम्पाङले फेसबुकबाटै नगरमा उपस्थित हुन धमलालाई निर्देशनात्मक आदेश दिए। असार २१ मा धमला मेयरको कार्यकक्षमा पुगिन्। त्यहाँ पनि उनले मेयरलाई ‘फेसबुकमा लेखेर नागरिकलाई बेइज्जत गर्ने तपाईंको तरिका के हो, जनताका रूपमा आएको मलाई स्पष्टीकरण दिनुस्’ भनिन्।

त्यो भेटमा मेयर साम्पाङले धमलामाथि अर्को आरोप पनि लगाए।

‘पहाडबाट धरान आउने महिलाहरूले यौनधन्दा गरेको र जनप्रतिनिधिले नागरिकता बेचेको भनेर तपाईंले नगरको बेइज्जत गर्नुभएको छ। मलाई प्रमाण दिनुस्,’ मेयरले त्यस दिन भनेको कुरा भिडिओमा छ।

जबाफमा पत्रकार धमलाले भनेकी छन्, ‘तपाईंलाई मैले प्रमाण किन दिने? तपाईं को हो?’ 

‘म स्थानीय सरकारको प्रमुख हुँ,’ भन्दै साम्पाङले धमलालाई घरी तिमी र घरी तपाईं भन्दै थर्काउन खोज्छन्। उनको धम्कीबाट नडराएकी धमलालाई अन्ततः प्रहरी बोलाएर लछारपछार पार्दै मेयरको कार्यकक्षबाट बाहिर निकालिन्छ।

प्रहरीले हातपात गरी लछारपछार गरेको घटनाको छानबिन गरी दोषीलाई कानुनी दायरामा ल्याउन प्रमुख जिल्ला अधिकारी (सिडिओ) रामचन्द्र तिवारीले सोही दिन छानबिन समिति गठन गरे। यसपछि मेयर साम्पाङ तत्कालीन गृहमन्त्री रवि लामिछाने र सिडिओ तिवारीविरूद्ध पनि जाइलाग्न थाले।

सिडिओ र गृहमन्त्रीले धमलालाई पक्राउ नगरेर अराजकता प्रोत्साहित गरेको, धरानको बेइज्जत गर्ने व्यक्तिलाई प्रशासनले त्यसै छाडिरहेको भन्दै साम्पाङ दिनदिनै सामाजिक सन्जालमा लेखिरहन्छन्। पत्रकारको पक्षमा विज्ञप्ति निकालेको पत्रकार महासंघलाई त मेयर साम्पाङले ‘नेपाल पत्रकार महास्वाङ’ भन्दै भिडिओ बनाएरै उडाएका छन्। 

मेयर साम्पाङले पटक पटक स्ट्याटस लेख्दै आफ्नो चरित्रहत्या गरेको आरोप पत्रकार धमलाले लगाउँदै आएकी छन्। आफूलाई अराजक तत्व भन्दै आएका मेयरले आफूमाथि आक्रमण नै गर्न लगाएको धमलाको आरोप छ।

बुधबारको घटनापछि पत्रकार धमलाले फेसबुकमा लेखेकी छन्, ‘म बिरामी अवस्थामा बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको एक्स-रे कोठामा पालोमा थिएँ। हर्क साम्पाङका समर्थकहरूले ‘धमलालाई कुट्न आको भन्दै’ म र मेरो साथीलाई पछाडिबाट आक्रमण गरी, लुगा तान्दै, कुटपिट गर्दै, लछारपछार गरेका थिए। अस्पताल जस्तो संवेदनशील स्थानमा यस्तो हिंसात्मक आचरणले केवल मेरो शारीरिक अवस्था मात्र होइन, मानसिक अवस्थालाई पनि ठूलो धक्का दिएको छ।’

उनले थप भनेकी छन्, ‘म बिरामी अवस्थामा उपचारका लागि पुगेकी थिएँ। यस्तो अवस्थामा हिंसात्मक आक्रमणको सामना गर्नु, त्यो पनि सार्वजनिक स्थानमा, कुनै पनि व्यक्तिका लागि सहन गर्न गाह्रो नै हुन्छ। अस्पताल भनेको उपचारका लागि, शान्तिका लागि र सुरक्षित ठाउँ हो। तर यहाँ उल्टै असुरक्षित महसुस गरायो।’

मेयर साम्पाङका हरेक गतिविधिमा संलग्न हुने सात जना नै मुख्य रूपमा धमलामाथि आक्रमणमा ओर्लिएको देखिएको प्रहरीको पनि भनाइ छ।

सुनसरी प्रहरी प्रवक्ता डिएसपी नविनकृष्ण भण्डारीका अनुसार बिपी प्रतिष्ठानमा धमलामाथि आक्रमण गर्नेहरूमध्ये ५ जनालाई बुधबार र दुई जनालाई बिहीबार पक्राउ गरी, अदालतबाट म्याद थपेर अनुसन्धान अघि बढाइएको छ।

मेयर साम्पाङले भने पत्रकारमाथि आक्रमण गर्नेहरूलाई अझै हौसला दिँदै धरानको इज्जतका लागि लडेको भन्दै सञ्जालबाटै स्याब्बासी दिएका छन्।

त्यति मात्रै होइन, अस्पतालभित्रै पसेर आक्रमण गर्नेहरूलाई ‘किन पक्रेको’ भन्दै धरानमा उनले चक्काजाम गर्न लगाएका छन्। कोण सभामा आफै उपस्थित भएर ‘गलत तत्वलाई नपक्रेको प्रहरीले मान्छे नचिनेको’ भन्दै उग्र भाषणसमेत गरेका छन्।

मेयर साम्पाङको यस्तो शैलीबाट धरान उपमहानगरका अरू जनप्रतिनिधिहरू पनि दिक्क भएका छन्। मेयरले पालिकाको कामको प्राथमिकता भुलेर एक व्यक्तिविरूद्ध लागेको आरोप उनीहरूको छ।

उपमहानगरका कर्मचारीहरू पनि पत्रकार धमला कार्यकक्ष पुगेको दिन (असार २१) देखि मेयर साम्पाङ सोही घटनामा केन्द्रित भएको बताउँछन्। 

असार दोस्रो सातासम्म बहुसंख्यक स्थानीय तहले नीति कार्यक्रम तथा बजेट ल्याएर साउन १ देखि कार्यान्वयन थालिसके। तर धरानले साउन पहिलो साता बित्न लाग्दासम्म नगर सभा नै आयोजना गर्न सकेको छैन।

बजेट, नीति तथा कार्यक्रमतिर मेयरले कुनै ध्यान नदिएको उपमहानगरका उच्च तहका एक कर्मचारीले बताए। उनका अनुसार अरू सबैजसो जनप्रतिनिधि एकातिर, मेयर साम्पाङ एक्लै अर्कोतिर हुने स्थितिले नगर सभा हुन नसकेको हो।

‘अरू सबै जनप्रतिनिधि एकातिर छन्। मेयर साब एक्लै अर्कातिर हुनुहुन्छ। त्यसैले बजेट आउने कुनै टुंगो छैन। अरूसँग संवाद गरौं मेयर साब भन्न सक्ने स्थिति पनि छैन,’ ती कर्मचारीले भने, ‘उहाँ भने पत्रकारसँगको विवादलाई मुख्य प्राथमिकता दिएर कार्यकक्षमा पनि त्यही कुरा, सार्वजनिक कार्यक्रममा पनि त्यही कुरा गर्दै हिँडिरहनुभएको छ।’

धरान १७ का वडाध्यक्षसमेत रहेका उपमहानगरका प्रवक्ता सूर्यबहादुर भट्टराईले पनि मेयर साम्पाङ पत्रकार धमलाविरूद्ध नै केन्द्रित भएको र अरू जनप्रतिनिधिसित संवाद गरेर सहमति खोज्न र बजेट ल्याउनतिर नलागेको बताए।

‘उपमहानगर यति बेला बजेट होलिडेमा छ। अहिलेसम्म कहिले बजेट आउँछ भन्ने कुनै टुंगो छैन,’ भट्टराईले व्यंग्य गर्दै भने, ‘मेयर अर्कै क्रान्तिमा लाग्नुभएको छ। सहमति र संवाद भन्ने कुरा उहाँको शब्दकोषमै छैन।’

बजेटका विषयमा कार्यपालिका र मेयरबीच असहमति भएपछि बजेट ल्याउने कामको प्रक्रिया नै रोकिएको उनले बताए। गत असार १० मा बजेट ल्याउने बेलामा कार्यपालिकाले तोकेको बजेट सिलिङ र निर्णय विपरीत मेयरले बजेट ल्याउन खोजेको उनले बताए। त्यसमा आफूले असहमति जनाएपछि मेयरले नगर सभा नै नगरेको भट्टराईको भनाइ छ।

‘अहिले भने मेयरले आफूखुसी करारका कर्मचारी हटाउने गरी नीति तथा कार्यक्रम ल्याउन लाग्नुभएकाले अरू जनप्रतिनिधिले विरोध गर्नुभएको हो,’ भट्टराईले भने, ‘यही विषयलाई पनि दैनिक संवाद गरेर, समाधानको उपाय खोज्न सकिन्छ। तर मेयर साब अर्कै क्रान्तिमा लाग्नुभएको छ। समस्या नै यही छ।’

आफ्नै हर्कतले पिरोलिँदै हर्क साम्पाङ

Leave a Reply

Your email address will not be published. Required fields are marked *