मामाको योजनामा भाञ्जाको घरबाट २ करोड लुटपाट

0Shares

मामाको योजनामा भाञ्जाको घरबाट २ करोड लुटपाट

थाङमिचागु डटकम संवाददाता

दधिकोटका डिल्ली राउतले मानिसहरुलाई विदेश पठाए बापतको रकम नगदै बुझेर घरमा राख्ने गरेको थाहा पाएपछि मामा कुलबहादुर खत्रीको योजनामा लुटपाट भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीको भनाइ छ ।

११ असार, काठमाडौं । भक्तपुरको दधिकोटमा २ करोड रुपैयाँ लुटपाटमा संलग्न भएको आरोपमा चार जना पक्राउ परेका छन् ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले सुजन रसाइली, भीम तामाङ, मुनाराज राई, कृष्णबहादुर बोहरालाई पक्राउ गरेको हो । दधिकोटका डिल्ली राउतको घरमा ४ असारमा लुटपाट भएको थियो ।

मुख्य योजनाकार भनिएका व्यक्ति कुलबहादुर खत्री भने फरार छन् । उनी डिल्ली राउतका मामा समेत हुन् ।

लुटपाटको योजनाकार मामा !

राउतको घर भक्तपुरको दधिकोटस्थित एकान्त ठाउँमा छ । डिल्ली युरोपेली मुलुक खासगरी क्रोएसियामा नेपाली कामदार पठाउने एजेन्टका रुपमा काम गर्छन् । उनका भाइले क्रोएसियामा बसेर भिसा मिलाउने काम गर्थे ।

भिसा वापत ५ लाख ६८ हजार रुपैयाँ बराबर रकम बुझाउनुपर्ने भन्दै उनीहरुले क्रोएसिया जानेहरुसँग मोटो रकम असुल्थे ।

उनीहरुका मामा कुलबहादुर पनि क्रोएसिया जान चाहनेहरुलाई भाञ्जा कहाँ पुर्‍याउँथे । उनीहरुसँग भाञ्जाले नगद बुझेको देखेका थिए ।

विदेश पठाए वापतको रकम नगदै बुझेर घरमा राख्ने गरेको थाहा पाएपछि मामा कुलबहादुरको योजनामा लुटपाट भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीको भनाइ छ ।

भाञ्जासँग नगद रहेको थाहा पाएपछि मामा कुलबहादुरले लुटपाट गराएको पाइएको अपराध अनुसन्धान कार्यालयका एसएसपी सानुराम भट्टराईले बताए । कुलबहादुरलाई भने प्रहरीले फेला पार्न सकेको छैन ।

विदेश पठाउने सिलसिलामै कुलबहादुरको सुजन रसाइलीसँग चिनजान भयो । त्यसपछि डिल्लीले करोडौं रकम घरमै राख्ने गरेको भन्दै कुलबहादुरले लुटपाट गर्ने योजना सुजनलाई सुनाउँछन् । सुजन यसअघि पनि नक्कली सुन देखाएर ठगी गर्ने र अभद्र व्यवहारमा मुद्दा चलेका व्यक्ति हुन् ।

कुलबहादुरको प्रस्ताव सुजनले भीमलाई सुनाउँछन् । भीममार्फत मुनाराज र कृष्ण पनि जोडिएपछि लुटपाट भएको देखिन्छ ।

सीबीआई भन्दै लुटपाट

लुटपाट गर्नु अघिल्लो दिन ३ असारमा उनीहरुले डिल्लीको घर आसपासमा गई अवलोकन गरेका थिए । डिल्लीको घर एकान्त ठाउँमा खेतको बीच भागमा छ । भोलिपल्ट ४ असारमा उनीहरुले कौशलटारको रेस्टुरेन्टमा भेटेर लुटपाटको योजना बनाए ।

लुटपाट गर्न जाँदा प्रयोग गर्ने दुई वटा मोटरसाइकलको नम्बर प्लेट चिन्न नसकिने बनाए । त्यसपछि डिल्लीको घरमा गए ।

सुजन डिल्लीको घर बाहिर बसेर निगरानी गर्छन् । बाँकी ३ जनाले घरभित्र बसर ‘हामी सीबीआईबाट आएको प्रहरी हौं । अवैध धन्दा चलाएको भन्ने सूचना छ । खानतलासी गर्छौं । यहाँ हस्ताक्षर गर्नुस्’ भन्दै डिल्लीलाई कागज गराए ।

मामा कुलबहादुरले दराजभित्र पैसा राखिएकोसम्म सूचना दिएका थिए । त्यसैले उनीहरुले दराज खानतलासी गरे । करिब २ करोड रुपैयाँ झोलामा हालेर बाहिरिएको देखिएको एक अनुसन्धाान अधिकृतले सुनाए ।

चार जना दुई वटा मोटरसाइकलमा भीमको माकलबारीस्थित कोठामा पुगे । भीमकै कोठाबाट करिब आधा रकम डिल्लीका मामा कुलबहादुरले लिएर गए । ‘रकम गन्ने अवस्था भएन, आधा जति रकम कुलबहादुरले बुझेको पक्राउ परेकाहरुले बताएका छन्’, एक अनुसन्धान अधिकृतले भने ।

बाँकी रहेको रकमबाट सुजनले ३० लाख लिए भने बाँकी ३ जनाले २० लाख रुपैयाँको दरले बाँडेको पक्राउ परेकाहरुले स्वीकारेका छन् ।

रकम बाँडफाँटपछि उनीहरुले विभिन्न रिसोर्ट तथा होटलमा गएर खर्च गरेको पाइएको छ । सुजन र भीम सुकुटे रिसोर्ट गएर बसेको खुलेको छ । त्यसपछि तातोपानीसम्म पुगेको र त्यहाँबाट फेरि दोलखा गएर बसेका थिए ।

कालिञ्चोकसम्म पुगेर घुमेर फर्किएका उनीहरु पक्राउ परे । उनीहरुकै सूचनाका आधारमा प्रहरीले कृष्णलाई महाराजगञ्जबाट पक्राउ गर्‍यो । मुनाराजलाई भने ओखलढुंगाबाट पक्राउ गरेर प्रहरीले काठमाडौं ल्याएको छ ।

पक्राउ परेकाहरुबाट ३६ लाख रुपैयाँ प्रहरीले बरामद गरेको छ ।

थप ३५ लाख लिएर मामा फरार

डिल्लीले दिएको विवरण अनुसार घरमा ३ करोडभन्दा बढी नगद थियो करिब २ करोड लुटिएको केही समयपछि मामा कुलबहादुर भाञ्जा डिल्लीको घर पुगे ।

‘१० लाखभन्दा बढी नगद राख्न पाइँदैन, यो कुरा प्रहरीमा रिपोर्ट गर्‍यो भने फसिन्छ’, भन्दै भाञ्जालाई प्रहरीकहाँ जानबाट रोके । अनि लुटपाटको घटनापछि बाँकी रहेको रकम त्यो पनि यहाँ राख्नुहुँदैन भनेर ३५ लाख लिएर गए ।

बाँकी १ करोड रुपैयाँ भने डिल्लीले एउटा ट्राभल्स एजेन्सीलाई दिए । अनि मामाको सल्लाहअनुसार प्रहरीलाई खबर समेत गरेनन् ।

तर घटनाको तीन दिनपछि प्रहरीले अरुबाटै सूचना पायो । जिल्ला प्रहरी परिसर, भक्तपुर हुँदै अपराध अनुसन्धान कार्यालयले अनुसन्धान थाल्यो ।

प्रहरीले डिल्लीलाई सोधपुछ गर्दा करिब २ करोड लुटपाट भएको मात्र स्वीकार गरेनन्, मामाले ३५ लाख रुपैयाँ लगेको पनि बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *