थामी धर्म, संस्कार, संस्कृति तथा कर्मकाण्ड संरक्षणमा महत्वपूर्ण योगदान : दुईदिने ‘थामी मड्धुङ्ग सिलोखे पालोखे’ प्रशिक्षण सम्पन्न !!!
2026-06-14विगु गाउँपालिकाद्वारा थामी र तामाङ मातृभाषाको पाठ्यक्रम तथा पाठ्यपुस्तक तयारी सम्पन्न ।।।
2026-06-14
रबि लामिछाने गृहमन्त्री-पत्नी उपाध्यक्ष रहेको सहकारीमा महानगरको अनुगमन ।।।
रबि लामिछाने गृहमन्त्री-पत्नी उपाध्यक्ष रहेको सहकारीमा महानगरको अनुगमन ।।।
चैत्र २२, २०८० थाङ्मीचागु डटकम संवाददाता
काठमाडौँ —सहकारीको रकम अपचलनमा देशैभरि प्रश्न उठिरहेका बेला काठमाडौं महानगरले पनि अनुगमन तथा अनुसन्धान थालेको छ । बुधबार महानगरको टोलीले ‘साई स्वागत बचत तथा ऋण सहकारी’ बाट दस्ताबेज संकलन गर्दै पदाधिकारीको बयान पनि लिएको छ । यो सहकारीमा उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेकी श्रीमती निकिता पौडेल उपाध्यक्ष रहेका बेला उनले बिनाधितो ५० लाखको कारोबार गरेको तथ्य भेटिएको महानगरको टोलीको दाबी छ ।
काठमाडौं महानगर क्षेत्रका सहकारीमा बेथिति बढेको र सर्वसाधारणको बचत संकटमा परेको भन्दै उजुरी परेपछि महानगरले सीएसहितको टोली बनाएर अनुगमन सुरु गरेको छ । यसक्रममा धेरै उजुरी आएको मध्ये ‘साई स्वागत बचत तथा ऋण सहकारी संस्था’ मा पनि अनुगमन गरिएको महानगरका प्रवक्ता नवीन मानन्धरले बताए । ‘उजुरीका आधारमा अनुगमन गरिएको हो, अन्य सहकारीमा पनि अनुगमन हुन्छ, प्रतिवेदन तयार भएपछि कसलाई कस्तो कारबाही गर्ने भन्ने तय हुन्छ,’ उनले भने । महानगरको सहकारी विभागबाट प्रमुखसहित चार जना, नगर प्रहरीका तीन जना र तीन जना सीएसहितको टोली अनुगमनमा गएको थियो ।
भरतमणि जंगम अध्यक्ष रहेका बेला ०७५ देखि ०७९ सम्म निकिता सहकारीमा उपाध्यक्ष थिइन् । भ्रष्टाचारविरोधी अभियन्ता भनेर चिनिने भरतमणि कुनै बेला न्युज २४ टेलिभिजनमा कार्यक्रम पनि चलाउँथे । वर्तमान गृहमन्त्री लामिछानेसँग त्यही टेलिभिजनमा मित्रता बढेपछि सहकारीको ऋण दिलाउन आफूले सहयोग गरेको बयान उनले महानगरलाई दिएको अधिकारीहरूले बताएका छन् ।
निकिताका नाममा भएको उक्त कारोबार फर्छ्योट भएको जानकारी पनि भरतमणिले दिएका छन् । तर, उपाध्यक्ष स्वयम्ले धितो नराखी ५० लाख लिएको र त्यस्तै प्रवृत्तिमा ऋण प्रवाह हुँदा सहकारी संकटमा परेको भन्दै बचतकर्ताले महानगरमा उजुरी गरेका छन् । निकिता ०७५ सालमा संस्थाका उपाध्यक्ष थिइन् । भरतमणि र निकिता अहिले सहकारीको पदाधिकारी छैनन् । तर, कारोबार बिग्रिएकाले एक सर्वसाधारण महिला निमकुमारी छन्तेललाई अध्यक्ष बनाइएको छ, जबकि संस्थाले सात करोड रुपैयाँ बचत तिर्न बाँकी छ ।
सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले उक्त सहकारीको दर्ता, सञ्चालक समिति, कारोबारलगायत विवरण उपलब्ध गराउन भन्दै गत मंसिर २१ मा काठमाडौं महानगरलाई पत्राचार गरेको थियो । ‘त्यस महानगरपालिकाअन्तर्गत साई स्वागत बचत तथा ऋण सहकारी संस्था दर्ता भए नभएको, दर्ता भएको भए सोको पदाधिकारीहरूको विवरण खुलाई उक्त सहकारीविरुद्ध त्यहाँ कुनै उजुरी परे–नपरेको सम्बन्धमा खुलाई उजुरी परेको भए सोको एक प्रति अनुसन्धान प्रयोजनका लागि यस विभागमा पठाइदिनु भई सहयोग गरिदिनुहुन अनुरोध छ,’ विभागले महानगरपालिकालाई लेखेको पत्रमा भनिएको छ ।तर यो संस्थाका बारेमा त्यसअघि र पछि पनि महानगरमा उजुरी परेको थियो ।
काठमाडौं महानगरपालिकाभित्र १ हजार ९ सय ३५ वटा सहकारी छन् । त्यसमध्ये हरेक वडामा कम्तीमा एक सहकारी गरी तत्काल करिब ४० सहकारीको अनुगमन गर्ने योजना महानगरले बनाएको छ । ‘धेरै गुनासो आउन थालेपछि त्यस्ता सहकारीलाई विशेष अनुगमन गर्ने निष्कर्षमा महानगर पुग्यो,’ एक पदाधिकारीले भने, ‘चार्टर्ड एकाउन्टेन्टस् (सीए) सहितको टोली नियुक्ति गरेर अनुगमन प्रक्रिया सुरु भएको हो । अब हरेक वडामा नियमित रूपमा अनुगमन गर्ने हो । त्यसमध्ये बुधबार साई स्वागत बचत तथा ऋण सहकारी संस्थामा अनुगमन भयो ।’
सञ्चालकहरूले सर्वसाधारणबाट संकलन गरेको रकम कोठे बैठक बसेर परिचालन गरेको, कानुनअनुसार पनि नचलेकोलगायत गुनासो आएपछि साई स्वागतबाटै अनुगमन सुरु गरेको महानगरले बताएको छ । ‘सहकारीहरू महानगरपालिकामा हस्तान्तरण भएको ०७५ साउनदेखि नै हो । पछिल्लो साढे २ वर्षदेखि यो संस्थाका बारेमा पनि नियमित रूपमा उजुरी आइराखेको छ । पैसा नदिएको, साधारणसभाले गर्नुपर्ने काम आफूखुसी गरेको, महाराजगन्जमा रहेको कार्यालय अचानक अनामनगर सारेकोलगायत धेरै विषयमा उजुरी परेको छ,’ अधिकारीले भने ।




