नगरपालिकालाई मुलुककै पहिलो महानगरका रूपमा घोषणा गरिएको २८ वर्ष पूरा भई २९ औं वर्षमा प्रवेश गरेको यो हर्षपूर्ण क्षण ।।।

0Shares

प्रधानमन्त्री प्रचण्डको भनाइ
थाङ्मीचागु डटकम ।।
वि.सं. २०५२ सालमा तत्कालीन काठमाडौं नगरपालिकालाई मुलुककै पहिलो महानगरका रूपमा घोषणा गरिएको २८ वर्ष पूरा भई २९ औं वर्षमा प्रवेश गरेको यो हर्षपूर्ण क्षण सम्पूर्ण महानगरवासी दाजुभाइ तथा दिदीबहिनीहरूसँग बाँड्न आज म यहाँ उपस्थित भएको छु । आजको यो पावन अवसरमा म सम्पूर्ण महानगरवासी, महानगरपालिकाका निर्वाचित जनप्रतिनिधिहरूसहित सबैमा हार्दिक बधाइ ज्ञापन गर्दछु ।

यस अवसरमा २९ औं महानगर दिवस समारोहमा उपस्थित भई मलाई आफ्ना विचारहरू राख्ने अवसर दिनुभएकोमा महानगर प्रमुख लगायत आयोजक सबैमा हार्दिक धन्यवाद व्यक्त गर्दै महानगरको निरन्तर प्रगतिको हार्दिक शुभकामना व्यक्त गर्दछु ।

२०५२ सालको आजको दिनलाई म ‘महानगर घोषणा दिवस’का रूपमा मात्र स्मरण गर्न चाहन्नँ । वास्तवमा यो दिनले देशमा साँचो अर्थमा स्थानीय शासनको प्रारम्भ गरेको मानकका रूपमा आफ्नो पहिचान स्थापित गरेको छ भन्ने मैले ठानेको छु । काठमाडौंले महानगरको गौरव प्राप्त गरेको २९ औं वर्षगाँठ मनाइरहँदा यो मुलुकले यो तीन दशकमा आमूल परिवर्तनको अनुभूति र अभ्यास गरिसकेको छ । यसै क्रममा आज हामी सङ्घीय लोकतान्त्रिक गणतन्त्रको अभ्यासमा छौं ।

सङ्घीयताको अभ्यासपश्चात् देशमा स्थानीय तहका २ वटा निर्वाचन सम्पन्न भएका छन् । यी दुबै निर्वाचनले सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई सुदृढ गर्दै स्थानीय तहको सवलीकरणमा महत्वपूर्ण योगदान पुर्‍याएका छन् ।

२०७९ सालमा सम्पन्न निर्वाचनबाट निर्वाचित स्थानीय जनप्रतिनिधिहरूले ७५३ स्थानीय तहको नेतृत्व गरिरहनुभएको छ । स्थानीय सरकारमार्फत् आ–आफ्ना नगर तथा गाउँपालिकामा सेवा प्रवाह, स्थानीय विकास, सामाजिक सशक्तिकरण, साँस्कृतिक जागरण, स्थानीय शिक्षा, स्वास्थ्य, कृषि तथा पशुपालनका क्षेत्रमा महत्त्वपूर्ण प्रगति गरिरहनुभएको छ ।

प्रधानमन्त्रीको हैसियतले काठमाडौं महानगरपालिकाको यो मञ्चबाट म भन्न चाहन्छु– मेरो नेतृत्वको यो सरकारले स्थानीय तहको जग अझ मजबुत बनाउन नीतिगत सुधार गर्दै वित्तिय हस्तान्तरणको विषयलाई अझ प्रभावकारी बनाई स्थानीय तहलाई संविधानको मर्म र भावनाअनुरूप स्रोतसाधनको व्यवस्था र स्थानीय सरकारको मान्यताअनुसार अधिकारसम्पन्न तुल्याउन थप प्रभावकारी काम गर्नेछ ।

नेपालको संविधानले सहकारिता र सहअस्तित्वको आधारमा तीन तहको सरकारको प्रष्ट व्यवस्था गरेको छ । संविधानले परिलक्षित गरेको सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई सुदृढ तुल्याउन सङ्घीय कानुनहरूको निर्माण गरेको पहिलो प्राथमिकतामा छ । सङ्घीय कानुनको निर्माण र व्यवस्थित कार्यान्वयनबाट मात्रै सङ्घीय प्रणालीलाई थप सुदृढ र जनताको हितमा सदुपयोग गर्न सकिन्छ भन्ने मेरो विश्वास छ । तसर्थ, संवैधानिक अभ्यासमा थप परिपक्वता ल्याउन काठमाडौं महानगरपालिका लगायतका सबै स्थानीय सरकारलाई बलियो बनाउन नेपाल सरकार दृढ रहेको जानकारीसमेत गराउन चाहन्छु ।

उपस्थित महानुभावहरू,

काठमाडौं देशको राजधानी मात्र नभएर विश्वकै प्राचीन शहरहरूमध्येको एक सांस्कृतिक शहर पनि हो । यहाँ विद्यमान विशिष्ट विशेषता बोकेका कला, संस्कृति, जीवनशैली, खानपान आदिले काठमाडौंलाई खुला संग्रहालयका रूपमा विश्वमाँझ चिनाएको छ । हाम्रा यस्ता आदिम वैभवहरूको उचित संरक्षणले एकातर्फ काठमाडौंको विशिष्ट वैश्विक पहिचानको जगेर्ना गर्दछ, अर्कोतर्फ पर्यटन प्रवद्र्धनका माध्यमबाट नागरिक जीवनमा सम्पन्नता ल्याउन महत्वपूर्ण योगदान पुर्‍याउँछ । तसर्थ, काठमाडौंको विकास, सभ्यता र संस्कृतिको संरक्षण र प्रवर्धन एवं यहाँको सौन्दर्य देशकै राष्ट्रिय कार्यभार हो र हुनुपर्दछ ।

पछिल्लोसमय काठमाडौं महानगरले गरेका प्रगतिशील कामहरू मैले गम्भीरतापूर्वक नियालिरहेको छु । शहरको सौन्दर्य, शिक्षाको व्यवस्थापन एवं विकास, सार्वजनिक शौचालयहरूको निर्माण र व्यवस्थापन, सांस्कृतिक सम्पदाहरू संरक्षण, लागू औषध, सूर्ति–चुरोट लगायतका वस्तुमा लगाएको नियमन, छात्रवृत्ति, रोजगारी सिर्जना लगायतका क्षेत्रमा महानगरले जे–जति पहल लिएको छ, देशले सङ्घीय सरकारलाई समेत सकारात्मक उत्प्रेरणा पैदा गरिरहेको छ । यसका निम्ति म महानगर प्रमुख, उपप्रमुख लगायत सिङ्गो महानगर परिवारलाई हार्दिक बधाइ ज्ञापन गर्दै आगामी दिनमा समेत अविचलित रूपमा अगाडि बढ्न अपील गर्दछु ।

राजधानी शहरलाई सफा, हरियालीयुक्त, साँस्कृतिक वैभवको जगेर्नाका माध्यमबाट स्पन्दनयुक्त र आधुनिक विशेषताहरूले भरिपूर्ण ऐतिहासिक शहरका रूपमा विकास गर्न तपाईहरूको प्रयास प्रशंसनीय छ । मेरो विश्वास छ– काठमाडौं महानगरले भौतिक र मानवीय विकासका पक्षलाई सन्तुलित ढङ्गले अगाडि बढेर देशका सबै स्थानीय तहलाई अनुकरणीय नमुना प्रस्तुत गर्नेछ । यसका निम्ति नेपाल सरकारको तर्फबाट गर्नुपर्ने साथ, सहयोग र निर्णयका निम्ति म सधै तत्पर रहेको पनि अनुरोध गर्दछु ।

अन्त्यमा, सामूहिक सहकार्यको संस्कृतिको जगमा उभिएर संघीय शासन प्रणालीको फराकिलो आधारभूमिमा विकसित काठमाडौं शहर निर्माणको साझा लक्ष्य हासिल गर्न आजको दिनले हामी सबैलाई प्रेरणा दिन सक्ने विश्वासका साथ २९ औं महानगर दिवसको भव्यतम् सफलताको शुभकामना व्यक्त गर्दै विदा हुन्छु । धन्यवाद ।

(२९ औं काठमाडौं महानगर दिवस समारोहमा सम्माननीय प्रधानमन्त्री श्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ज्यूको सम्बोधन ।। २९ मङ्सिर २०८०, काठमाडौं)

Leave a Reply

Your email address will not be published. Required fields are marked *