गण्डकी प्रदेशमा मगर, थारू र गुरुङ भाषालाई कामकाजको भाषा बनाउन माग

0Shares

गण्डकी प्रदेशमा मगर, थारू र गुरुङ भाषालाई कामकाजको भाषा बनाउन माग

पोखरा: भदौ ५ गते । (मुलबासी )आदिवासी जनजाति संघर्ष समिति, गण्डकीले गण्डकी प्रदेशमा बाहुल्यता रहेका मगर, थारु र गुरुङ भाषालाई सरकारी कामकाजको भाषा बनाउन माग गरेको छ । मंगलबार समितिले पत्रकार सम्मेलन गरी भाषा आयोगको सिफारिस अनुसार यी तीन भाषालाई सरकारी कामकाजको भाषा बनाउन माग गरेको हो ।

भाषा आयोगका अध्यक्ष गोपाल ठाकुरको संयोजकत्वमा गठित समितिले गण्डकीमा गुरुङ र मगर तथा प्रदेशको दक्षिणी क्षेत्रमा थारु भाषालाई सरकारी कामकाजको भाषा बनाउन सिफारिस गरेको थियो ।

‘उहाँको सिफारिस लागू गर्न आवश्यक ऐन बनाई मगर, थारु र गुरुङ लाई प्रदेशको सरकारी कामकाजको भाषा बनाउन जोड्दार माग गर्दछौं’, समितिका संयोजक धर्मबहादुर गुरुङले भने ।

संविधानको धारा ७ को उपधारा २ मा नेपाली भाषाका अतिरिक्त प्रदेशले आफ्नो प्रदेशभित्र बहुसंख्यक जनताले बोल्ने एक वा सोभन्दा बढी अन्य राष्ट्रभाषालाई प्रदेश कानुनबमोजिम प्रदेशको सरकारी कामकाजी भाषा निर्धारण गर्न सक्ने उल्लेख छ ।

साथै, गण्डकीमा आफ्नो मातृभाषामा पठनपाठन गर्न पाउने व्यवस्था मिलाउन पनि समितिले आग्रह गरेको छ । समितिले भदौ १३ गते पोखरामा ‘आदिवासी जनजाति आन्दोलन र अधिकार’ विषयमा अन्तर्क्रिया कार्यक्रम पनि गर्ने बताएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *