सरकारलाई दबाब दिन २० जिल्लाका मिटरब्याजपीडित काठमाडौं जाँदै

0Shares

सरकारलाई दबाब दिन २० जिल्लाका मिटरब्याजपीडित काठमाडौं जाँदै

आन्दोलनमा काठमाडौं हिँडेका पीडितलाई स्थानीय तहको सहयोग
महोत्तरी — मिटरब्याजपीडित संघर्ष समिति र सरकारबीच वार्ताटोली गठनपछि गरिएका निर्णय फितलो भएको भन्दै महोत्तरीसहित मधेसका २० जिल्लाका मिटरब्याजपीडितहरूले आन्दोलन नरोकिने चेतावनी दिएका छन् ।

आइतबार महोत्तरीको गौशला बजार जुलुससहित परिक्रमा गर्दै नगरपालिका घेराउ गरेका पीडितले स्थानीय सरकारले पनि पीडितलाई न्याय दिनुपर्ने बताएका छन् ।
नाराबाजी र जुलुससहित नगरपालिका पुगेका पीडितले केन्द्रीय सरकारलाई दबाब दिन अब देशभरबाट पीडित काठमाडौं जाने बताएका छन् । आइतबार राति २० जिल्लाका एक हजार पीडित काठमाडौंमा न्याय माग्न जाने कार्यक्रम रहेको रौतहटका अभियन्ता अक्षत लामिछानेले जानकारी दिए । हाल बनेको पीडित संघर्ष समिति र सरकारको वार्ता टोलीले गर्ने हरेक निर्णय पूर्ण रुपमा पालना हुनुपर्ने पीडितको माग रहेको लामिछानेले बताए ।

अहिले सरकारसँग वार्ता गर्ने टोलीले गरेका वार्ता र भएका निर्णयले सबैलाई न्याय नदिने भएकाले फितलो निर्णय नहोस् भनी सबै पीडित काठमाडौं जाने लामिछानेले बताए ।

मिटरब्याजबाट पीडित महोत्तरी भंगाहाका मोहन महतो आफ्नो साथमा भएको सबै जायजेथा महाजनको हातमा पुगेकाले त्यसलाई सरकारले फिर्ता गरिदिने आशामा आन्दोलनमा होमिएको बताउँछन् । ‘घरमा बस्न घर छैन, गरीखान सम्पत्ति छैन,’ महतोले प्रश्न गरे, ‘आन्दोलनमा नहिँडेर गर्ने के ?’

महोत्तरीसहित मधेस प्रदेशका ८ जिल्ला र तराईका अन्य १२ जिल्लाबाट बसमा काठमाडौं गएर धर्ना दिने र माग पूरा नहुन्जेल आन्दोलन गरिराख्ने पीडितले बताएका छन् ।

यस क्रममा मिटरब्याज पीडितलाई कर्जा चुक्ता गर्न लघुबित्तबाट लिएको ऋण तिर्न नसकेपछि आमा घर छोडेर हिँडेको र आफू टुहुरो भएको भन्दै १९ वर्षीया कविता कुमारी साह आन्दोलनमा हिँडेकी छन् । गौशाला ९ भरतपुरकी कविता पिडकले नै आमालाई अदालतमा ज्यान मुद्दा हालेपछि घर छाडेर हिँडेकी आमा फर्केर नआउँदा आफू अभिभावकविहीन भएको दुखेसो गरिन् । अहिले लघुबित्त र मिटरब्याजीले आफूलाई डर देखाउने र आमालाई ननिकाले ज्यान लिनेसम्मको धम्की दिने गरेकाले आफू घरमा बस्न नसक्ने उनले बताइन् ।

गौशाला नगरपालिकामा धर्नामा बसेका पीडितलाई नगरप्रमुख दिपेन्द्र महतोले नगरले पूर्ण सहयोग गर्ने प्रतिबद्धता दिएका छन् ।

महोत्तरीबाट काठमाडौं जाने पीडितका लागि गाडी र खानेबस्नेको उचित प्रबन्ध गौशाला नगरपालिकाले गरिदिने उनले वचन दिएको पीडितका अगुवा मोहन महतोले बताए । काठमाडौं गएका पीडितसँगै आफ्नो आन्दोलन जोडिने र थप मुद्दाको सुनुवाइ गरी कार्यान्वयनपछि मात्रै घर फर्किने महतोले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *